+
+

जब अनमोलले पुण्य गौतमको टिकटक बनाउने प्रस्ताव अस्वीकार गरे…

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १२:३२

१ फागुन, काठमाडौं । शुक्रबार चलचित्र ‘ए मेरो हजुर ४’को गीत रिलिज कार्यक्रममा सञ्चारकर्मी, अतिथिको बाक्लो उपस्थिति काठमाडौंको वान सिनेमाजमा थियो । सो कार्यक्रममा अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा लगायत चलचित्रको सिंगो टिम पनि उपस्थित थियो ।

सार्वजनिक कार्यक्रम, मिडिया र सामाजिक सञ्जालमा निक्कै कम देखिने भएकाले पनि अभिनेता अनमोल केसी सबैको चासोमा रहन्छन् । कार्यक्रम सकिएपछि अनमोलसँग तस्वीर खिचाउने क्रम सुरु भयो । सोही भीडमा थिए, टिकटकर पुण्य गौतम ।

कार्यक्रममा सुरुदेखि नै बसेका उनी कार्यक्रम सकिएलगत्तै अनमोलसँग फोटो खिचाउन तम्सिए । अनमोलले पनि पुण्यसँग सहजै तस्वीर खिचाए । तस्वीर खिचेलगत्तै अनमोल र पुण्यको अन्तर्वार्ता लिन युट्युबरहरु अघि सरे । पुण्यले अनमोलको प्रशंसा गरे । अनमोलले पनि पुण्यका भिडियोहरु आफूले हेरेको बताए ।

सोही क्रममा पुण्यले अनमोललाई सानो टिकटक बनाउन आग्रह गरे । पुण्यले मोबाइल अगाडि सार्दै भने, ‘अब तपाईं र मेरो एउटा सानो टिकटक बनाउनुप¥यो ।’ पुण्यको आग्रहमा हात जोडेर नमस्कार गर्दै अनमोलले ‘टिकटक चाहिं सरी’ भने । यति भनेर अनमोल कार्यक्रम हलबाट बाहिरिए ।

अनमोलको आफ्नो टिकटक एकाउन्ट छैन । उनी टिकटक बनाउने जोसुकैको प्रस्ताव अस्वीकार गर्छन् । उनी कुनै कार्यक्रम पुग्दा, चलचित्रको छायांकनमा हुँदा, विज्ञापनमा मोडलिङ गर्दा अरुले खिचेका भिडियोहरु टिकटकमा छ्याप्तछ्याप्ती भेटिन्छन् । तर अनमोल आफैंले भने टिकटक बनाएका छैनन् ।

पुण्य गौतमले आफूलाई चलचित्रको बारेमा न्यून जानकारी रहेको समेत बताउन पछि परेनन् ।

युट्युबर राखेर कलाकारको फोन रेकर्ड गर्छन् पुण्य

हुन त, पुण्य गौतम आफूलाई सामाजिक अभियन्ता भन्न पछि पर्दैनन् । तर उनी युट्युबका अन्तर्वार्ता र टिकटकमा नै बढी रमाएको पाइन्छ । उनका केही हर्कतले भने कलाकर्मी हैरान छन् ।

गायिका रचना रिमालको स्वरमा ‘न बिर्सें तिमीलाई’ गजल गीतको नयाँ भर्सन सार्वजनिक भएपछि निकै विवाद भयो । यो विषय चर्चामा रहँदा पुण्यले रचनालाई फोन गरे । न त उनले रचनालाई आफ्नो अगाडि युट्युबरको क्यामेरा नै छ भन्ने जानकारी दिए, न त आफूले मिडियाका लागि फोन गरेको भनेर जानकारी गराए । रचनाले उनको दुई पटकसम्म फोन काटिन् र कुरा गर्न अस्वीकार गरिन् ।

कुनै पनि व्यक्तिलाई फोन गरेर उसको अनुमतिविना फोन रेकर्ड गर्न पाइँदैन । तर पुण्यले कलाकारलाई फोन गर्दै उनीहरुको विषयमा भइरहेको विवादमा बोल्न आग्रह गर्ने गर्छन् । उनको यो शैलीले धेरै कलाकारहरु आजित छन् ।

अभिनेता पल शाहको नाम गायिका समीक्षा अधिकारीसँग जोडिंदा पनि उनले पललाई रचनालाई जसरी नै फोन गरेका थिए । पल मात्र होइनन्, संगीतकार वसन्त सापकोटा, गायक तथा रचनाकार सुन्दरमणि अधिकारी लगायतलाई युट्युबर अगाडि राखेर फोन गरेका थिए । उनको यो शैली गैरकानुनी भएपनि यस विषयमा कुनै पनि कलाकारले बोल्ने हिम्मत गरेक देखिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?