
१ फागुन, काठमाडौं । नेपाल उद्योग परिसंघले वाणिज्य बैंकहरुले व्याजदर वृद्धि गर्न गरेको भद्र सहमतिले अर्थतन्त्र थप जोखिममा पर्ने बताएको छ । परिसंघले आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकहरुलाई व्याजदर वृद्धिको निर्णय फिर्ता लिन आग्रह समेत गरेको छ ।
अर्थतन्त्रमा समस्या देखिइरहेको बेला बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको व्याजदर वृद्धिको निर्णय आउनु अनपेक्षित रहेको परिसंघले जनाएको छ ।
‘अर्थतन्त्रका विद्यमान समस्या समाधानका उपाय अवलम्बनका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाहरुले सक्दो प्रयास गरिहेको समयमा बैंक तथा वित्तीय संस्थाबाट व्याजदर वृद्धिको निर्णय आउनुले अर्थतन्त्र थप जोखिममा पर्ने संकेत गरेको छ’ परिसंघले विज्ञप्तिमा भनेको छ ।
व्याजदर वृद्धिबाट बजारमा तरलता थप भई हालको समस्या समाधान हुने अवस्था नदेखिने र यसले निक्षेपको स्थानान्तरण मात्र हुने परिसंघको बुझाइ छ । बैंकहरुको नीतिले कोभिड-१९ लगायतका कारण समस्यामा परेका उद्योग, कृषि, पर्यटन व्यवसायमा थप समस्या सिर्जना गर्ने विज्ञप्तिमा भनिएको छ ।
व्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्दा उपभोक्ताहरूलाई समेत नकारात्मक असर पर्ने देखिएको छ, वर्तमान अवस्थामा शिथिल प्रायः भएका उद्योग व्यवसाय थप कमजोर बन्ने देखिन्छ,’ परिसंघले भनेको छ ।
सरकारी स्वामित्वका ठूला बचत कर्ताहरूको संस्थागत निक्षेपलाई पुरानै व्याजमा कायम राखेर विद्यमान संकटको समयमा केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले पूरा गर्नुपर्ने नियमनकारी अनुपातहरूलाई केही समयका लागि खुकुलो बनाउन पनि परिसंघले माग गरेको छ । यस्तै प्रत्येक तीन महिनामा मात्र व्याजदर परिवर्तन गर्न पाउने गरी व्यवस्था गर्न पनि परिसंघको माग छ ।
हेर्नुहोस् विज्ञप्तिः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4