+
+
मन्थन :

सौर्य आँधी र १२ वर्षे कुम्भ मेलाको सम्बन्ध

मोहन तिम्सिना मोहन तिम्सिना
२०७८ फागुन २ गते ११:१८

केही दिनअघि सौर्य आँधीका कारण अन्तरिक्षका थुप्रै स्याटेलाइट ध्वस्त भए । सञ्चारमाध्यमले उल्लेख गरे अनुसार सौर्य आँधीले पृथ्वीको वायुमण्डललाई पनि प्रभावित गर्‍यो । नेपालको पनौतीमा आयोजना हुने १२ वर्षे कुम्भमेला यसपालि १ माघ २०७८ देखि सुरु भयो । संयोगले सौर्य आँधीको घटना यही १२ वर्षे कुम्भमेलाको समयमा घट्यो ।

लेखको थालनीबाटै पाठकहरूमा जिज्ञासा पैदा भएको हुन सक्छ- सौर्य आँधी र १२ वर्षे कुम्भ मेला बीचमा के सम्बन्ध छ ? कुम्भमेला त एउटा परम्परा हो, सौर्य आँधी भनेको वैज्ञानिक तथ्य हो । यस्तो मिल्दै नमिल्ने कुराको किन तुलना गरेको होला ?

जिज्ञासा स्वाभाविक हो । किनकि, कुम्भमेला भन्ने बित्तिकै आज अन्धविश्वासी मानिसहरूको भीड भन्ने बुझिन्छ । आजका पण्डित-पुरोहितहरूले पनि यसलाई फगत कर्मकाण्डकै रूपमा व्याख्या गरिरहेका हुन्छन् । त्यसैले, सौर्य आँधी र कुम्भमेला बीचको सम्बन्धको प्रसंग सामान्यतया अर्थहीन जस्तो नै देखिन्छ । तर यथार्थ योभन्दा बिल्कुलै फरक छ ।

कुम्भमेला अन्धविश्वास होइन, वैज्ञानिक परम्परा हो । सौर्य आँधी र १२ वर्षे कुम्भ मेलाबीच अभिन्न सम्बन्ध छ । यहाँ योगी र वैज्ञानिकहरूको समान तत्वबोधले काम गरेको छ । यो लेखमा यसै विषयमा चर्चा गरिएको छ ।

वैज्ञानिक तथ्य

रसियाका एक बहुप्रतिभाशाली वैज्ञानिक अलेक्जेण्डर चिजोवस्की (१८९७-१९६४) ले बीसौं शताब्दीको तेस्रो दशकमा एक अनौठो विषय उजागर गरे । उनको भनाइ अनुसार हरेक १२ वर्षमा सौर्यमण्डलमा सौर्य आँधी चल्छ । उनले यति मात्र नभनी अगाडि थपे- सौर्य आँधीका कारण पृथ्वीमा विद्युतीय उपकरणमा खराबी, विमान दुर्घटना, महामारी तथा कीटाणु संक्रमण मात्र बढ्दैन, मानिसको मानसिक जीवन पनि प्रभावित हुन्छ ।

ब्रहृमाण्डमा यस प्रकारको ‘नकारात्मक’ ऊर्जाको वृद्धिसँगै समाजमा द्वन्द्व, विद्रोह, क्रान्ति, देशहरू बीचका युद्ध आदि प्रकट हुन्छन् । सौर्य सतहमा हरेक १२ वर्षमा चल्ने यस खालको आँधीको चक्रकै कारण पृथ्वीमा पनि सोही चक्र अनुसारका सामाजिक घटनाक्रमहरू देखा पर्दछन् ।

चिजोवस्कीले रूस र अन्य ७१ देशमा ५०० इसापूर्व देखि १९२२ सम्म घटेका दंगा, क्रान्ति तथा विद्रोहका घटनाहरूलाई हरेक १२ वर्षमा पैदा हुने सौर्य आँधीसँग तुलना गरेर हेरेका थिए । यस क्रममा यस्तो तथ्य देखियो कि अधिकतम घटनाहरू सौर्य आँधीको १२ वर्षे चक्रसँग सम्बन्धित छन् । उनले रसियाको सन् १९०५ र १९१७ का क्रान्तिकारी घटनालाई पनि यही सिद्धान्त अनुसार व्याख्या गरेका थिए ।

यो स्टालिन नेतृत्वको साम्यवादी शासनको समय थियो । जुन समयमा वैज्ञानिकहरूका अनुसन्धानका तथ्यहरूलाई पनि ‘माक्र्सवाद पक्षधर र विरोधी’ भनेर भेद गरिन्थ्यो । उनका सम्बन्धमा पनि यस्तै भयो । उनको यो खोज साम्यवादी शासकहरूका लागि असहृय विषय बन्यो । साम्यवादी नेताहरूले उनको सिद्धान्तले माक्र्सवादको विरोध गरेको अर्थ लगाए ।

सन् १९४२ मा रसियाका तत्कालीन राज्य प्रमुख जोसेफ स्टालिनलाई चिजोवस्कीको सिद्धान्त अवगत भयो । स्टालिनले चिजोवस्कीको यो सिद्धान्तले माक्र्सवादको खण्डन गरेको मात्र होइन, भर्खरै सम्पन्न क्रान्तिको समेत अवमूल्यन गरेको अर्थ लगाए । तब उनलाई आफ्नो सिद्धान्त फिर्ता लिन अनुरोध गरियो । तर उनले यो इन्कार गरे । यस बापत उनलाई गिरफ्तार गरियो र उरल पहाडमा कठोर श्रम शिविरमा पठाइयो ।

आठ वर्षको कठोर श्रम शिविरको कैदी जीवनबाट १९५० मा मात्र उनलाई रिहाइ गरियो । त्यसपछि उनलाई कजाकिस्तानको कारागाण्डा भन्ने ठाउँमा पठाइयो । त्यहाँ उनले कोइलाखानीमा विज्ञानको काम गरे । तर सौर्य आँधी सम्बन्धी सिद्धान्तलाई भने पुनः अगाडि बढाउन सकेनन् ।

स्टालिनको अवसानपछि रसियामा चिजोवस्कीको सिद्धान्तमाथि व्यापक अनुसन्धान भयो । अनुसन्धानहरूले चिजोवस्कीलाई नै सही देखाए । सन् १९३७ मा अमेरिकाको एरिजोना विश्वविद्यालयका प्रोफेसर ए. ई डग्लसको नेतृत्वमा रूखको चक्र -रिंग) अनुसन्धान गर्ने संस्था स्थापना गरियो । जसको खोजले पनि चिजोवस्कीको खोजलाई नै पुष्टि गर्यो ।

एउटा साधारण तथ्य यो हो कि, रूख भित्रका चक्र वा घेराहरूले उक्त रूखको उमेर बताउँछन् । वृक्ष भित्रका घेराहरूले उक्त वृक्षले भोगेको मौसमको पनि जानकारी दिन्छन् । यदि कुनै वर्ष मौसम धेरै गर्मी भएको थियो भने घेरा केही फराकिला बनेका हुन्छन् । धेरै जाडो भएको थियो भने घेरा साँघुरा भएका हुन्छन् ।

प्रोफेसर डगलसले यो खोजमा पत्ता लगाए कि हरेक १२ वर्षमा रूखको घेरा जति ठूलो हुन्छ, त्यति अरू वर्षमा हुँदैन । यसको कारण अरू केही नभएर १२ वर्षे सौर्य आँधी नै हो । सारा पृथ्वीमा हरेक १२ वर्षमा रूखहरूले आफ्नो बोक्रा बाक्लो बनाउँछन् । किनकि त्यो वर्ष वायुमण्डलमा रेडियो एक्टिभिटी अधिक हुन्छ र त्यस रेडियो एक्टिभिटीबाट रक्षाका लागि रूखले यसो गर्दछन् । यही बाक्लो बोक्रा नै पछि गएर रूखको भित्रपट्टकिो फराकिलो घेराका रूपमा देखा पर्दछ । यसरी रूखको घेरा सम्बन्धी खोजले पनि चिजोवस्कीको खोजलाई पुष्टि गरिदियो ।

आजका वैज्ञानिकसँग सूर्यको सतहमा भएका साना-साना घटना पनि थाहा पाउन सकिने खालका अति आधुनिक विधि र औजारहरू छन् । परिणामतः उनीहरूले यसपालि अन्तरिक्षका स्याटेलाइटहरू किन बिगि्रएर झरे भन्ने तथ्य थाहा पाइहाले । त्यसैले चिजोवस्की सही कि गलत भनेर अब छलफल वा बहस गरिरहनु नै पर्दैन ।

सूर्यको सतहमा पलपलमा अनेकन् प्रकृतिका घटना चलिरहन्छन् । सौर्य आँधीका वाषिर्क वा अर्धवाषिर्क वा योभन्दा साना-ठूला चक्र पनि हुन्छन् । तर हरेक १२ वर्षमा गुणात्मक महत्वको र पूरै ब्रहृमाण्डलाई प्रभावित गर्ने आँधी आउँछ । जसबाट पृथ्वीका जीवन र प्रविधि दुवै प्रभावित हुन्छन् । यो आजको वैज्ञानिक तथ्य हो ।

कुम्भमेलाको परम्परा

यस्ता कुरा भौतिकवादी ज्ञान सिद्धान्तलाई नै सबथोक मान्नेहरूका लागि आपत्तिको विषय बन्न सक्छ । किनकि भौतिकवादीहरूको शास्त्रमा बुद्धिसम्मत ज्ञानभन्दा माथिको चर्चा छैन । तर मानवीय खोज अब त्यतिमै सीमित रहेन । यो त्योभन्दा धेरै अगाडि बढिसकेको छ

१२ वर्षे कुम्भमेलाको लागि भारतको चारवटा तीर्थ (नदीको तीर) प्रसिद्ध छन्- प्रयागराज, हरिद्वार, उज्जैन र नासिक । प्रयागमा हरेक ६ वर्षमा अर्ध कुम्भमेला पनि लाग्छ । नेपालको पनौतीमा पनि हरेक १२ वर्षमा -माघ १ गतेदेखि एक महिना) कुम्भ मेला लाग्ने गर्छ । यो बाहेक यी सबै तीर्थस्थलमा हरेक वर्ष यही समयमा वाषिर्क मेला पनि लाग्ने गर्छ ।

यी मेलाको खास महत्व नै नदी-स्नान हो । यो समयमा नदी-स्नान गर्दा ‘पाप पखालिने’ विश्वास गरिन्छ । वैदिक पात्रो अनुसार सूर्य मकर रेखातर्फ बढ्न सुरु गरेपछि यो मेला प्रारम्भ हुन्छ । कुम्भमेलाका विषयमा पुराणमा अनेकौं कथा छन् ।

वैदिक साहित्यमा उल्लेखित एउटा कथा यस्तो छ- महषिर् दुर्वासाको श्रापको कारण एक समय स्वर्गका राजा इन्द्र र अन्य देवताहरू धेरै कमजोर भए । तब दैत्यहरूले आक्रमण गरी स्वर्ग कब्जा गरे । पराजित भएका देवताहरूले भगवान विष्णुकोमा गएर यो वृत्तान्त सुनाए । भगवान विष्णुले उनीहरूलाई दैत्यहरूसँग मिलेर क्षीर सागरमा समुद्र मन्थन गरी अमृत निकाल्नु र त्यसको सेवन गर्नु भनी सल्लाह दिए ।

भगवान विष्णुको सल्लाह अनुसार देवता र दैत्यबीच समुद्र मन्थनको लागि सम्झौता भयो । समुद्र मन्थनको क्रममा जब अमृत कुम्भ (घडा) निस्कियो, इन्द्रका छोरा जयन्तले त्यो बोकेर आकाशतिर उडे । यो देखेर दैत्य गुरु शुक्राचार्यले दैत्यहरूलाई जयन्तको पिछा गर्न आदेश दिए । दैत्यहरूले जयन्तलाई पक्रिए र अमृत घडा पनि खोसे । तब अमृत घडामा अधिकार जमाउनका लागि देवता र दैत्यबीच १२ दिन अविराम लडाइँ भयो ।

यो लडाइँको दौरानमा पृथ्वीका जम्मा चार ठाउँमा अमृत घडा चुहियो । कलह शान्त पार्न भगवान विष्णुले मोहिनी रूप धारण गरी सबैलाई अमृत बाँडिदिए । तब देव-दैत्य कलह शान्त भयो । अमृत चुहिएका ती चार स्थल नै कालान्तरमा कुम्भमेला लाग्ने ठाउँ भए । स्मरणीय छ- सूर्य सिद्धान्तका अनुसार ‘१२ देवदिन’ भनेको ‘१२ वर्ष मनुष्य दिन’ नै हो ।

पनौतीको कुम्भ मेलासँग प्रचलित एक कथा अनुसार एकपल्ट स्वर्गका राजा इन्द्र ‘निको नहुने’ रोगले ग्रस्त भए । रोग निको पार्न उनले भगवान शिवको नाममा १२ वर्ष तपस्या गरे । यो तपस्याबाट भगवान शिव खुशी भए । शिवले त्रिवेणीघाट -पद्मावती, रोशी र रुद्रावती नदीको संगम) मा केही अमृत मिसाए र बिरामी इन्द्रलाई त्यसमा डुबुल्की मार्न लगाए । तब इन्द्र रोगबाट मुक्त भए । तबदेखि त्रिवेणीघाटमा हरेक १२ वर्षमा मेला लाग्ने र नदी-स्नान गर्ने परम्परा सुरु भयो ।

भारतमा यसअघि सन् २०१३ मा कुम्भमेला र २०१९ मा अर्धकुम्भमेला लागेको थियो । भारतका यी चार तीर्थमा आगामी कुम्भमेलाको वर्ष सन् २०२५ हो । यद्यपि पुराण साहित्यले वाषिर्क मकर-स्नानलाई पनि महत्व दिएको हुनाले त्यहाँ वाषिर्क मेला पनि लाग्दछन् । नेपालको पनौतीको १२ वर्षे कुम्भमेलाको समय भने यही वर्ष हो ।

समानान्तर सम्बन्ध

कुम्भमेलाका लागि तोकिएको समयमै सौर्य आँधी चल्नु संयोग होइन । यसले प्राचीनकालका योगीहरूको बोध-ज्ञान र गणितको प्रभावकारिता नै देखाउँछ । योगीहरूले ठीक यही समयमा कुम्भमेला र नदीस्नानमा जोड दिनुको रहस्य यति नै हो कि यो सौर्य आँधी आउने समय हो ।

प्राचीनकालका योगीहरूले योग -तपश्चर्या) का माध्यमबाट यो अनुभूत गरे कि हरेक १२ वर्षमा सूर्यमा ठूलो उथलपुथल हुन्छ । सौर्य आँधीले ब्रहृमाण्डमा मात्र होइन, यसले पृथ्वीका हरेक जीव, वनस्पति र मनुष्यको शारीरिक-मानसिक गुणवत्तालाई खल्बल्याइदिन्छ । उनीहरूले यो पनि अनुभूत गरे कि यो समयमा नियमित नदी-स्नान गर्दा यस्ता ब्रहृमाण्डीय ‘विकृति’ बाट शुद्धि मिल्छ ।

तब यही उद्देश्यद्वारा निश्चित मिति तोकेर कुम्भमेला र नदी-स्नानको परम्परा सुरु भयो । उद्देश्य अनुसारको परम्परा बसाल्न माथि उल्लेखित कथा रचना गरिए । ती कथामार्फत योगीहरूले तत्कालीन लोकलाई नदी-स्नान र स्वशुद्धिका लागि आकषिर्त गर्ने प्रयास गरे । यद्यपि आज ती कथाहरूको सही अर्थ बताइदिने पण्डित-पुरोहितको अभाव छ ।

योगीहरूले सौर्य आँधीको मात्र ख्याल गरेका छैनन्, बदलिरहने ग्रहहरूको गति र दिशाले पृथ्वीमा पल-पलमा कस्तो गुणवत्ता पैदा गर्दछ भन्ने कुराको पनि एक-एक हिसाब दिएका छन् । सारा ज्योतिष शास्त्र त्यसको प्रमाण हो । यद्यपि आज प्राचीन ज्योतिष शास्त्रको आधिकारिक व्याख्या गर्ने ज्योतिषको अभाव छ ।

यो परम्परा वैदिक पन्थमा मात्र थियो भन्ने होइन । यो तपश्चर्यामा आधारित सबै पन्थहरूको साझा परम्परा हो । जैन, बौद्ध, ताओ, बोन, मुन्धुम जस्ता पन्थमा पनि समयलाई १२ वर्षे चक्रमा हेर्ने चलन आजसम्म छँदैछ ।

यो अनन्त ब्रहृमाण्डमा पलपलमा अनेकन् उथलपुथल भइरहेका छन् । तिनीहरूले हाम्रो मनो-शारीरिक बनोटलाई कुनै न कुनै तरिकाले प्रभावित पारिरहेका छन् । तर हाम्रा इन्दि्रयहरूले ती सबै प्रभावलाई प्रत्यक्ष अनुभूत गर्न सक्दैनन् । त्यो कि त विज्ञानका अति-आधुनिक उपकरणहरूले अनुभूत गर्दछन् कि त बुद्धपुरुषहरूको बोध क्षमताले अनुभूत गर्दछन् ।

यस्ता कुरा भौतिकवादी ज्ञान सिद्धान्तलाई नै सबथोक मान्नेहरूका लागि आपत्तिको विषय बन्न सक्छ । किनकि भौतिकवादीहरूको शास्त्रमा बुद्धिसम्मत ज्ञानभन्दा माथिको चर्चा छैन । तर मानवीय खोज अब त्यतिमै सीमित रहेन । यो त्योभन्दा धेरै अगाडि बढिसकेको छ ।

समाजशास्त्रमाथि प्रश्न

ब्रहृमाण्डीय ग्रहहरूमा हुने उथलपुथलले पृथ्वीका व्यक्ति-समाजलाई पनि प्रभावित पार्दछन् भन्ने तथ्य प्राचीन योगीहरूले त उहिल्यै स्पष्ट भनेका थिए । विज्ञान जगतमा चिजोवस्कीले यो कुरा सबैभन्दा पहिले भनिदिए । सुरुवातमा चिजोवस्कीको कुरा निकै आलोच्य भए पनि आज अवस्था धेरै बदलिइसकेको छ ।

आधुनिक समाजशास्त्रले युग विभाजन सम्बन्धी विषयमा योगीहरूको उचाइमा पुगेर संश्लेषण गरिसकेको त छैन । तर चिजोवस्कीका मान्यता भने स्वीकार्य हुन थालेका छन् । चिजोवस्कीकै प्रस्थापनामा पनि आजसम्ममा अनेकन् अनुसन्धान भइसकेका छन् ।

सन् १९९२ मा मानव तथा पशु शरीर शास्त्र विषयका वैज्ञानिक आर्केडी पुत्लोभले चिजोवस्कीका आँकडाहरूको प्रायोगिक परीक्षण गरेर एक शोधपत्र प्रकाशन गरे । यो खोजमा पुत्लोभले पाए कि सामाजिक क्रान्ति सहितका घटनाहरूको आवृत्ति र ध्रुवीयता सौर्य आँधीको समय चक्रमा अत्यधिक छ र त्योभन्दा अगाडिका वर्षहरूमा न्यून छ ।

१९९६ मा गोटिंगन विश्वविद्यालयका मनोविज्ञानका प्रोफेसर स्वीटवर्ट अर्टेलले सन् १७०० देखि १९८५ सम्मका क्रान्तिकारी घटनाहरूको गणितीय विश्लेषण गरे । यो खोजमा उनले सौर्य गतिविधि र सामाजिक क्रान्तिबीच सारभूत सम्बन्ध भएको तथ्य देखाए ।

आजसम्ममा यस्ता अनुसन्धान असंख्य भइसकेका छन् । यी अनुसन्धानले संकेत गरिरहेका छन् कि हामीबीच प्रचलित समाजशास्त्रीय सिद्धान्त र बुझाइ पर्याप्त छैनन् । धर्म, इतिहास र भविष्य सम्बन्धी प्रचलित समाजशास्त्रीय धारणाहरूमा पुनर्विचार जरूरी छ । सामाजिक अनुसन्धानको पद्धति बदल्न जरूरी छ ।

सौर्य आँधीबाट अन्तरिक्षका स्याटेलाइट मात्र ध्वस्त हुँदैनन् हाम्रो मानसिक जीवन पनि प्रभावित हुन्छन् । हामीले अन्तरिक्षका स्याटेलाइट र आफ्नो मनो-शरीर दुवैको सुरक्षा गर्न सक्नुपर्दछ । सबै परम्परा अवैज्ञानिक हुँदैनन् । सबै आधुनिकता वैज्ञानिक हुँदैनन् । आजको युगमा चाहे नदीमा नुहाउनुहोस् वा बाथरुममा, मनो-शरीर शुद्धि मुख्य कुरा हो ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?