
२ फागुन, काठमाडौं । युरोपली प्रकाशक परिषद (इपिसी)ले शुक्रबार गुगलको डिजिटल विज्ञापन व्यवसायको विरुद्धमा अविश्वास प्रकट गर्दै युरोपेली आयोगमा उजुरी दर्ता गराएको छ ।
गुगलले सन् २०२० मा अनलाइन विज्ञापनबाट करीब १ खर्ब ४७ अर्ब डलर आम्दानी गरेको थियो जुन अन्य कुनैप्नि कम्पनीको तुलनामा बढि हो । यसमा सर्च इन्जिन, युट्युब तथा जिमेल विज्ञापनबाट भएको आम्दानीको हिस्सा अधिक छ ।
गुगलको मातृ कम्पनी अल्फाबेटको कूल आम्दानीमध्ये १६प्रतिशत नेटवर्क व्यवसायबाट प्राप्त गरेको छ जसमा अन्य मिडिया कम्पनी तथा आफ्नो वेबसाइट र एपमा विज्ञापन बिक्रि गर्नका लागि गुगलले एडसेन्सको प्रयोग गर्दछ ।
गुगल विरुद्ध युरोपेली आयोगमा उजुरी दर्ता गराउने युरोपेली प्रकाशक परिषदमा एक्सल स्प्रिंगर, न्यूज युके, कोन्डे नास्ट, बोनियर न्यूज तथा प्रेसा इबेरिका लगायतका सञ्चार संस्थाहरु सामेल छन् । गुगलको प्रविधिका कारण प्रेस तथा प्रकाशकहरु पूर्णरुपमा गुगलको कब्जामा परेको उनीहरुको आरोप छ ।
प्रकाशन परिषदका अध्यक्ष क्रिश्चियन वान थिलोले गुगललाई वास्तविक रुपमा परिवर्तन गर्ने खालको फैसला युरोपेली आयोगले गर्ने समय आएको बताएका छन् । विज्ञापन प्रविधिको मूल्य श्रृंखलामा तलदेखि माथिसम्म गुगलको कब्जा रहेको उनको भनाई छ ।
युरोपेली संघको एन्टीट्रस्ट प्रमुख मार्गरेथ वेस्टेगरले हालैका वर्षहरुमा प्रतिस्पर्धा विरोधी क्रियाकलाप सम्बन्धी मुद्दाहरुमा फैसला गर्दै गुगलमाथि ९ अर्ब २० करोड डलर जरिवाना लगाएका थिए ।
पटक पटकको उजुरीपछि उनले गतवर्ष गुगलको डिजिटल विज्ञापन व्यवसायका बारेमा जाँच सुरु गरेका थिए । गुगलका प्रवक्ताले भने हरेक वर्ष गुगलले आफ्नो विज्ञापन नेटवर्कमा प्रकाशक साझेदारहरुलाई सिधै अर्बौँ डलर भुक्तानी गर्ने गरेको दाबी गरेका छन् ।
बेलायतले स्विकार्यो गुगलको संशोधित प्रस्ताव
बेलायतको प्रतिस्पर्धा नियामक निकायले इन्टरनेट प्रयोगकर्तालाई ट्रयाक गर्नका लागि विज्ञापनदाताहरुको तर्फबाट प्रयोग गरिने थर्ड पार्टी कुकिजमा प्रतिबन्ध लगाउने आफ्नो योजनाको सम्बन्धमा गुगलको एक संशोधित प्रस्ताव स्विकार गरेको छ ।
प्रयोगकर्ताको गोपनियताको रक्षाका लागि थर्ड पार्टी कुकिज रोक्ने विषयमा काम गरिरहेको गुगलले जनाएको छ । उता २ सय ५० अर्ब डलरको विश्व डिजिटल विज्ञापन क्षेत्रका अन्य खेलाडिहरु भने थर्ड पार्टी कुकिजमा प्रतिबन्ध लगाउँदा आफुहरुमाथि असर पर्ने बताएका छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4