+
+

मेलम्ची मुहानका ठूला ढुङ्गा हटाउन सिनो हाइड्रोले माग्यो नेपाली सेनाको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ११:२४

३ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजना पुर्ने ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्य्रान हटाउने काममा नेपाली सेनासँग पनि सहयोग मागेको छ । ठेकदार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो परिचालन भएर काम सुरु गरेलगत्तै साइटमा ठूला-ठूला ढुङ्गाहरु भेटिएपछि आयोजनाले सेनासँग सहयोग मागेको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रकुरमा पन्तका अनुसार ठेकदारसँग उपलब्ध यन्त्र उपकरणले ठूला ढुङ्गा फुटाएर हटाउन सक्ने अवस्था नदेखिएको बताए । ‘निकै ठूला ढुङ्गा भएकाले त्यसलाई फुटाउन विष्फोटक पदार्थ नै चाहिन्छ,’ उनले भने,’त्यसैले सेनासँग हामीले आवश्यक पर्ने विष्फोटक पदार्थ मागेका हौं ।’

वर्षायाममा बाढी र पहिरोका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर नयाँ वर्षसम्ममा काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सेनाको सहयोग अपरिहार्य देखिएको पन्तले बताए । आयोजनाबारे यअसघि असोजमा भएको समन्वय बैठकमा सेनाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।

संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने छ । त्यो खोल्नासाथ सुरुङको मा यसअघि भरिएको पानी बाहिर फाल्न सकिन्छ ।

सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने आयोजनाले बताएको छ । हेडवर्क र डाइभर्सन टनेल तर्फ पनि यसरी नै काम गर्नुपर्नेछ  । प्रवक्ता पन्तका अनुसार डाइभर्सन टनलेको मुख भेटिइसकेको छ ।

अम्बाथान अडिटको लम्बाइ २९८ मिटर छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी-बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ ।

अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान छ । उनका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ ।

मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ । यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ ।

सुरुङको मुख खोल्नासाथ सफाइको काम गर्न सकिने आयोजनाको विश्वास छ । मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ । अहिले अडिट सुरुङ नै सुरुमा नै पूरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ ।

बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । त्यहाँ झन्डै तीन/चार लाख घनमिटर लेदो रहेको अनुमान छ ।

हेडवर्क्समा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ ।

अहिले पहिलकै जसरी अस्थायी बाँध बनाएर सुरुङमा पानी हाल्ने योजना काम भइरहेको छ । अब मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ ।

मेलम्चीमा थुप्रिएको ढुंगामाटो हटाउन सिनोले करिब ३२ करोड रुपैयाँ ठेक्काको भेरिएसनबापत पाएको छ । आयोजनाले मन्त्रिपरिषदबाट ठेक्काको भेरिएसन गर्ने स्वीकृति पाएको थियो ।

पुस मसान्तमा बसेको मन्त्रिपरिषद बैठकले विशेष परिस्थितिको कारण देखाएर मेलम्चीको ठेक्काको अवधि र मूल्य थप्न दिने स्वीकृति दिएको थियो ।

चालु आर्थिक वर्षको बजेट व्यक्तव्यमा सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउनले घोषणा गरेको थियो ।

१ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि पहिल्यैको ठेकदार सिनोलाई काम दिने बाटो खोल्न समितिले सरकारसँग प्रस्ताव गरेको थियो । सिनोसँग बाँधस्थल निर्माणका लागि भएको खरिद सम्झौताको अवधिको थप ५० प्रतिशत अवधि पनि म्याद थप भइसकेको थियो । कानुनी सीमाका कारण समितिले म्याद थप गर्न नसक्ने भएपछि मन्त्रिपरिषदको स्वीकृतिमा सिनोलाई म्याद थप गरेर साइटमा पठाउन लागिएको हो । सरकारले २०७६ असोजमा सिनोसँग १५ महिनामा काम सक्ने गरी बाँधस्थल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले नदीले पुरेको मुहानस्थल सफा गर्ने कामका लागि पुरानै ठेक्का भेरिएसन गरेर काम लगाएको हो । सिनोले हाको भेरिएसनबाट काम गरेपछि पुरिएका आयोजनाको संरचनाहरु बाहिर निकालिने र अवस्था हेरेर बाँकी काम निक्र्याेल गरिने छ । संरचना ठीकठाक रहेछन् भने थप काम खासै गर्नु पर्दैन, तर त्यहाँ समस्या रहेछ भने ठेक्कामा थप भेरिएसन गर्नुपर्ने हुनसक्छ ।

वैशाखसम्म पुनर्स्थापनाको आधारभूत काम सकिए पनि आगामी वर्षायाममा फेरि बाढीको जोखिम हुने भएकाले पानी रोकेर सुरुङ बन्द राख्नुपर्ने आकलन छ । यो वर्ष काम नसकिएमा निर्माणको काम फेरि अर्को वर्षको दशैंपछिको समयका लागि लागि धकेलिने जोखिम छ । सरकारले आफ्नै स्रोत प्रयोग गरेर आयोजना पुनर्स्थापित गर्नुपपर्ने अवस्था छ ।

करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले १५ चैत २०७७ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिसकेको थियो । तर, सुरुङको सुपरीवेक्षण गर्न बन्द गरिएकै दिनमा मेलम्ची नदीमा १ असार, २०७८को बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाएको थियो । १५ साउन २०७८को राति फेरि मेलम्चीमा लेदोसहतिको ठूलो बाढी आएपछि झन् चुनौती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?