
३ फागुन, काठमाडौं । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई विशेष अदालतले चारा घोटालासम्बन्धी पाँचौ मुद्दामा पनि दोषी ठहर गरेको छ ।
राष्ट्रिय जनता दलका प्रमुख समेत रहेका यादवलाई झारखण्डस्थित सीबीआईको विशेष अदालतले दोषी ठहर गरेको हो । उनलाई दोरन्दा कोषबाट अवैध रुपमा एक अर्ब ३९ करोड ३५ लाख निकालेको सम्बन्धी मुद्दामा दोषी ठहर गरिएको हो ।
फेब्रुअरी २१ गते अदालतले यादवविरुद्ध सजाय सुनाउने र सजाय घोषणा हुने दिनमा उनी अदालतमा उपस्थित हुने भारतीय समाचार माध्यमले जनाएका छन् ।
यादवलाई चारा घोटालासम्बन्धी चार वटा अन्य मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो ।
तीन दशकअघि भएको ९ अर्ब ५० बराबरको उक्त घोटालामा सीबीआईले ६४ वटा मुद्दा दर्ता गरेको थियो । यसमध्ये यादवको नाममा ६ वटा मुद्दा रहेका थिए ।
चार वटा मुद्दामा दोषी ठहर भएपछि यादवलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो । साढे दिन वर्ष जेलमा बसिसकेका उनलाई जमानतपछि रिहा गरिएको छ । यदि पाँचौ मुद्दामा ३ वर्षभन्दा बढी जेल सजाय सुनाइएमा उनलाई पुन: जेल चलान गरिने छ ।
प्रतिक्रिया 4