+
+

विवेकशून्य दासता रोक्न चेतनायुक्त शिक्षा

दीपकराज जोशी दीपकराज जोशी
२०७८ फागुन ४ गते १३:१०

‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा पाइँदैन नेपालमै हो छुट …’ भन्ने पशुपति शर्माको गीतले सायद लुट्न पाएका बाहेक सबैको मन पक्कै छोएको हुनुपर्छ ।

समाज रूपान्तरणका लागि साहित्य, कला, संगीत लगायत सबैजसो क्षेत्रको आ–आफ्नै प्रकृतिको योगदान छ, त्यसमध्ये शिक्षा क्षेत्रको योगदान सबैभन्दा महत्वपूर्ण छ । किनकि जबसम्म शिक्षाका माध्यमबाट मानिसको चेतनाको विकास गर्न सकिंदैन, त्यो रूपान्तरण दिगो र पूर्ण हुँदैन, आंशिक मात्र हुन्छ ।

समयक्रमसँगै नेपालको राजनैतिक, सामाजिक क्षेत्रमा पर्याप्त परिवर्तन आएको छ र आगामी दिनमा पनि क्रमिक रूपमा यो परिवर्तनले अवश्य निरन्तरता पाउनेछ । तर सामाजिक, राजनैतिक थिति बसाल्ने तथा सही मार्गमा डोर्‍याउने माध्यम भनेको मानिसको विवेकशीलता हो । त्यो प्राप्तिका लागि शिक्षामार्फत चेतनाको स्तर बढाउनुको विकल्प छैन ।

छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा आएको शिक्षाको चेतनाको स्तर र त्यसले ल्याएको राजनीतिक तथा सामाजिक प्रभाव प्रष्ट रूपमा दुई वटा कोणबाट देखिन्छ । सामाजिक रूपमा उत्तेजित भाषण गरेर कुनै पनि राजनैतिक पार्टी तथा नेताले त्यहाँ चुनाव जितिराखेका छैनन् भने विश्वको एक घना बस्ती भएको सहरको कोरोना तथा ओमिक्रोन नियन्त्रणको प्रभावकारितालाई देख्न सकिन्छ ।

तसर्थ हामी सबैको दायित्व शिक्षामा गुणस्तरीय परिवर्तन ल्याउनका लागि योगदान दिनु नितान्त आवश्यक छ, किनकि हामी नेपालमा थिति र सुशासन चाहन्छौं न कि अस्तव्यस्तता र अराजकता ।

हालका ठूला भनाउँदा राजनैतिक पार्टीले कहिल्यै पनि शिक्षामा बजेटको मात्रा बढाउने तथा वास्तविक रूपमा परिवर्तन ल्याउन चाहेकै छैनन् । राणा शासनकालमा सत्ता नै ढल्छ भनेर शासकहरू शिक्षा दिनै चाहँदैनथे तर अहिलेको अवस्थामा रोजगारीमूलक, गुणस्तरीय चेतनायुक्त शिक्षाको व्यवस्था भएमा केही वर्षभित्र नै जनतालाई भ्रममा राख्ने अवस्था रहँदैन र हालका राजनीतिज्ञहरूको वास्तविकता छर्लङ्ग हुन्छ ।

तत्पश्चात कालापानी, लिम्पियाधुरा, एमसीसी लगायत राष्ट्रियताका महत्वपूर्ण विषयलाई जनतालाई भोटको लागि मात्र प्रयोग गर्न सक्ने थिएनन् र जनतालाई जहिले पनि भेडा बनाउन सकिन्छ भन्ने दुस्साहस गर्ने थिएनन् ।

हामी सबैलाई थाहा भएकै विषयवस्तु हो-सामाजिक सुरक्षा भत्ता कसले बढी बढाउन सक्छ, होडबाजी गर्छन् न कि शिक्षा र स्वास्थ्यको बजेटमा । सामाजिक सुरक्षा भत्ता जसरी वितरण भइरहेको छ के यो ठीक छ त ? वास्तविक रूपमा पाउनुपर्ने बाहेक सबैलाई किन आवश्यक पर्‍यो ? किनकि राजनीति गर्नु छ, मैले दिएको छु, मलाई पनि दिनुपर्‍यो भन्ने ठाउँ बनाउनु छ ।

जबसम्म राज्य सञ्चालनमा रहेका शासकहरूले जनतालाई भिख दिए जस्तो विभिन्न शीर्षकमा यो वा त्यो ढंगले भिखारी जस्तै पैसा बाँड्ने काम गरिरहन्छन् आम रूपमा हामीहरूको जीवनस्तरमा तात्विक भिन्नता आउँदैन । तसर्थ हामी सबै आ-आफ्नो स्तरबाट शिक्षामा परिवर्तनका लागि जे–जसरी हुन्छ पहलकदमी लिनुपर्छ ।

कम्तीमा मान्छे भइसकेपछि आफ्नो क्षणिक स्वार्थका लागि हामी आफ्नो विवेकलाई बन्धकी राखेर विवेकशून्य हुने काम बन्द गरौं । विवेकशून्य भएका दिन हामी कसैको दास भइसकेका हुन्छौं भने हामी र अन्य जनावरमा तात्विक भिन्नता रहने छैन ।

कम्तीमा मान्छे भइसकेपछि आफ्नो क्षणिक स्वार्थका लागि हामी आफ्नो विवेकलाई बन्धकी राखेर विवेकशून्य हुने काम बन्द गरौं । विवेकशून्य भएका दिन हामी कसैको दास भइसकेका हुन्छौं भने हामी र अन्य जनावरमा तात्विक भिन्नता रहने छैन ।

कसरी ल्याउन सकिन्छ त शिक्षामा परिवर्तन ? हामी सबैको चाहना र इच्छा त पक्कै पनि छ । त्यसका लागि अवश्य हामी सबैले बोल्नुपर्ने, लेख्नुपर्ने र एउटा बुलन्द आवाज निकाल्नुपर्ने अवस्था आइसकेको छ । तसर्थ २०४६ सालको परिवर्तन, २०६२÷६३ सालको परिवर्तन ल्याउन जसरी आम नागरिक जागे त्यसैगरी हामी सबै जाग्नुपर्ने अवस्था आइसकेको छ ।

केही सीमित वर्गले निजी प्रयासबाट गुणस्तरीय शिक्षा पाइराखेका होलान् तर उनीहरूको समाज र राष्ट्रप्रतिको दायित्व बोध गरी समाज सुधार अभियानमा जोडिनुपर्छ । केही शिक्षाका अभियन्ताहरू यस अभियानमा लागिरहनुभएको छ, उहाँहरूलाई हौसला सहित सहयोग गर्नुपर्दछ ।

परिवर्तनका लागि चाल्नुपर्ने कदम

१. शिक्षामा बजेटको आकार बढाऔं

हाल विद्यालयहरूलाई तलब बाहेकको बजेट एकदमै न्यून छ, जसबाट कुनै विद्यालयले विद्यार्थीका लागि गर्नुपर्ने कार्यहरू गर्न सक्दैनन् । भारतको नयाँदिल्लीमा केजरीवालको सरकारले शिक्षामा पर्याप्त बजेटबाट ह्याप्पीनेस पाठ्यक्रमको विकास गरी अघि बढेको थियो, जसबाट पर्याप्त सफलता प्राप्त गरेको छ ।

२. शिक्षकको दरबन्दी

सबैभन्दा बढी भ्रष्टाचार शिक्षा क्षेत्रको शिक्षकको सरुवामा छ । जुन साँच्चिकै शिक्षाका लागि पीडाको विषय हो । तसर्थ पहिलो प्राथमिकतामा स्थानीय शिक्षकलाई पदस्थापन गर्ने जसले गर्दा शिक्षक कम्तीमा आफ्नो समुदायलाई परिवर्तन गर्न चाहन्छ र आफ्नो समाजप्रति जवाफदेही पनि रहने गर्छ ।

कहींकतै यसले बेथिति पनि ल्याएको छ, तसर्थ समाजका प्रत्येक सदस्यले यसमा चनाखो रहनुपर्दछ । शिक्षकको मान–सम्मान, प्रतिष्ठा उसको पेशाप्रतिको जवाफदेहितासँग जोड्नुपर्दछ ।

३. पढाइका मोडल अथवा एप्रोच

नेपालमा विभिन्न किसिमका पढाइ÷सिकाइका मोडलहरूमा बहस, छलफल, तालिम र अन्तरक्रिया गर्ने गरिन्छ । फिनल्याण्डको शिक्षण विधिदेखि ब्लिनडेड, फिलिप्ड, डिफरेन्सियल, पार्टिसिपिटरी लगायत थुप्रै विधिको बारेमा बहस, तालिम गरिन्छ तर हाम्रो वास्तविकता, भूगोल र परिस्थितिलाई सुहाउँदो विधि सम्बन्धित विषय शिक्षकले बनाउने तथा विद्यार्थीको रोजाइको विधि अपनाउनुपर्दछ ।

समाजमा केही सम्भ्रान्त वर्गले आफूले अपनाएको तौरतरिकाबाट समाजलाई निर्देशित गर्ने गर्दछन् र अधिकांश मानिस त्यसैलाई वास्तविकता मान्दै उनीहरूकै मार्गमा हिंड्ने प्रयास गर्दछन्, जुन प्रत्युपादक हुने गर्दछ ।

४. शिक्षकले मात्र राजनीति बुझाउनुपर्छ

कुनै पनि शिक्षक जब कुनै राजनैतिक पार्टीमा आबद्ध रहन्छ उसले आफ्नो विवेक प्रयोग नगरी सम्बन्धित पार्टीको गुणगान गाउने तथा अर्को पार्टीलाई गाली गर्ने गर्दछ । तसर्थ, शिक्षक कुनै पनि पार्टीमा आबद्ध नभएर सम्पूर्ण राजनैतिक पार्टीका गतिविधिलाई निष्पक्ष ढंगले नियालेर सही सूचना सम्प्रेषण गर्ने वाहक बन्नुपर्दछ ।

५. मूल्याङ्कन प्रणालीमा परिवर्तन आवश्यक

तीन घण्टाको परीक्षाको जबसम्म विद्यार्थी र शिक्षकले बोझ लिएर बस्दछन् त्यहाँ सिकाइ हुँदैन मात्र पढाइ हुन्छ र यसले जीवनमा तात्विक परिवर्तन ल्याउन सक्दैन । तसर्थ विद्यार्थी शिक्षकप्रति जवाफदेही तथा शिक्षक आफ्नो समाजप्रति जवाफदेही हुने मूल्याङ्कन प्रणालीको विकास गरी विद्यार्थीलाई समयसापेक्षित ज्ञानको आवश्यकता बोध गराउने प्रणालीको विकास गराउनुपर्दछ ।

६. चौतर्फी दबावको आवश्यकता

नेपालमा सञ्चारमाध्यमहरूले आफूलाई जबरजस्त रूपमा आफ्नो उपस्थिति देखाइरहेका छन् र एजेण्डा सेटिङमा ठूलो भूमिका खेलिरहेका छन् । तसर्थ मिडियाहरूले शिक्षाको एजेण्डालाई राष्ट्रिय एजेण्डा बनाएर सबैलाई शिक्षाको रूपान्तरणमा नेतृत्वदायी भूमिका खेली समाजमा सबै अवयवहरूलाई चलायमान बनाउनुपर्दछ ।

एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई नेपाललाई किन विकसित राष्ट्रको रूपमा हेर्न मन छ ? भन्ने प्रश्न सोधियो । उनले भने, ‘विदेशी नागरिक भए पनि जन्मेको नेपालमा हो, नेपाल र नेपालीलाई हेप्दा म पनि हेपिन्छु, मलाई पीडा हुन्छ तसर्थ विकास भएको हेर्न मन छ ।’

तसर्थ हामी सबै नेपालीलाई नेपाली भन्नुमा गर्व हुने वातावरण सिर्जनाका लागि शिक्षाको रूपान्तरणमा हामी सबै एकैसाथ जागौं । हामी नजागे को जाग्ने, अहिले नजागे कहिले जाग्ने ?

(लेखक शिक्षा अभियन्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?