५ फागुन, काठमाडौं । मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई बुधबार १-० ले हराएपछि लगातार दोस्रो पटक ए डिभिजन लिगको उपाधि जितेको छ ।
मछिन्द्रले यसपटक दुई खेलअघि नै च्याम्पियन बन्ने अवसर पायो । बी डिभिजन च्याम्पियन बनेर पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोविरुद्ध मछिन्द्रका लागि अजरवैजानी खेलाडी नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।
नुर्लानले ५३औं मिनेटमा गरेको गोल नै मछिन्द्रकालाई खेल जिताउन पर्याप्त बन्यो ।
पहिलो पटक नेपालमा ए डिभिजन लिग खेलिरहेका नुर्लान लिग च्याम्पियन बन्न पाउँदा खुशी व्यक्त गरे । ‘म एकदमै खुशी छु । हामी च्याम्पियन बन्दै ट्रफी जित्न सफल भयौं । मैले नेपालमा पहिलो पटक ए डिभिजन लिग खेलेको हो । च्याम्पियन बन्दा सुपर ह्याप्पी छु’ नुर्लानले अनलाइन कुराकानीमा भने, ‘हामीले टिमको रुपमा राम्रो र रमाइलो समय बितायौं । मेरो विचारमा हामीले मछिन्द्र एफसी परिवारको रुपमा राम्रो गर्यौं भन्ने लाग्छ ।’
नुर्लानले गोल गरेपछि अघिल्लो खेलमा घाइते भएका मनिष डाँगीले लगाउने २१ नम्बरको जर्सी ‘सो’ गरेको थियो । खेल जितेर च्याम्पियन बनेपछि उनै मनिष मैदानमा पुगेर मछिन्द्र टिमसँग सामुखिक फोटो खिचाउन उपस्थित थिए । मछिन्द्रले उपाधि नै मिषलाई समर्पण गर्यो ।
मनिष ठीक भएर बउनु खुशीको कुरा रहेको नुर्लानले बताए । नुर्लानले घाइते भएर अस्पताल भर्ना भएका टिममेट मनिष ठीक भएर मैदानमा खेल हेर्न फर्कंदा खुशी लागेको बताए । ‘मनिष स्वस्थ छ, म उसलाई देखेर धेरै खुसी छु’ नुर्लानले भने, ‘उनी मेरो आँखा अगाडि नै चोटग्रस्त बने । म भावुक मान्छे छु आँखाबाट आँसु आइहाल्छ ।
नुर्लानले अब लिगमा बाँकी रहेको दुई खेल पनि जित्ने र त्यसपछि गोल्डकपहरू राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । ‘लिगमा हाम्रो दुई खेल बाँकी छ । हामी त्यो खेल पनि जित्न चाहन्छौं । त्यसपछि गोल्डकपहरू सुरु हुन्छ । हामी यही टिमबाटत्यो टुर्नामेन्टहरु जित्न चाहन्छौं,’ नुर्लानले अबको योजना सुनाए ।
खासमा नुर्लानले च्यासलविरुद्धको अघिल्लो खेल खेलेका थिएनन् । उनले लिग ब्रेक हुनुअघि ब्रिगेड ब्वाइज क्लबविरुद्ध पहिलो हाफ मैदानमा बिताएका थिए । ब्रेक सकिएपछि च्यासलसँग उनी बेन्चमा । एक खेलपछि मैदानमा फर्केका नुर्लानले त्यसमा निर्णायक गोल गरेका हुन् ।

उनले च्यासलविरुद्धको खेलमा खेल्ने जोखिम नलिएको पनि बताए । ‘मैले २ हप्तासम्म खेल्न हुन्थेन, डाक्टरको रिपोर्टको लागि २ हप्ता पर्खिन सकिनँ। यदि च्यासल खेलमा समस्या भएको भए म खेलमा प्रवेश गर्ने थिएँ, मैले जोखिम लिइनँ किनभने हामीले त्यो खेल जित्यौं’ नुर्लानले भने, ‘यो खेल च्याम्पियनसिपको खेल थियो र हामीले टोलीका रूपमा राम्रो तयारी गरेका थियौं, हामीले जित्यौं र मैले गोल गरें । मेरो टोलीका साथीहरूलाई उनीहरूको प्रदर्शनको लागि धन्यवाद।’
नुर्लानले नेपालमा पहिलो पटक ए डिभिजन लिग खेल्दामै उपाधि जित्ने सौभाग्य पाए । तर नेपाली लिगमा सुधार गर्नुपर्ने पक्षहरूसमेत रहेको उनले बताए ।
‘लिगमा व्यावसायिकता अलि कमजोर छ, हाम्रो टोलीका साथी मनिषलाई ठूलो चोट लागेको थियो, मैदानमा डाक्टर छैनन्, यो लाजको कुरा हो’ नुर्लाने भने, ‘मैदानको खेल्ने ठाउँ निकै खराब छ, प्राविधिक रूपमा खेलाडीलाई गाह्रो भइरहेको छ, मलाई लाग्छ यी समस्याहरू समयमै समाधान हुनेछन् ।’
नुर्लानले नेपालमा फुटबल खेलेको भने यो पहिलो पटक होइन । यसअघि नै उनले गत वैशाख-जेठमा भएको नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीबाट खेलेको थियो । त्यसबाट पनि उनलाई नेपाललमा फेरि खेल्न आउन सहयोग गर्यो ।
फेरि नेपालमा एनएसएल खेल्ने तयारीमा रहेको नुर्लानले ए डिभिजन लिग भन्दा एनएसएल राम्रो लागेको बताए । ‘एनएसएलमा राम्रो गुणस्तरका खेलाडी छन्, मलाई लाग्छ एनएसएल राम्रो छ,’ उनले भने ।
यसैगरी नुर्लानले नेपाल र नेपाली जनता आफूलाई मन परेको र यहाँको धेरै सम्झनाहरू रहेको बताए । ‘म नेपाल र यहाँका जनतालाई धेरै माया गर्छु, म दोस्रो पटक यहाँ आउनुको कारण नेपालप्रतिको मेरो माया हो’ नुर्लानले भने, ‘मलाई थाहा छैन म फेरि नेपाल आउँछु कि आउँदिन । मसँग हालैका राम्रा सम्झनाहरू छन्, म एनएसएल च्याम्पियन बनेर पूरा गर्न चाहन्छु ।’
नुर्लानले लामो समयदेखि देशबाहिरको लिग खेलिरहेका छन् ।यस अवधिमा नेपाल आएर खेल्नु पाउँदा उनी धेरै खुशी छन् । ‘८ वर्षदेखि विदेशमा फुटबल खेल्दै आएको छु, यस अवधिमा मसँग धेरै सम्झनाहरू छन्, मेरो लागि सबैभन्दा राम्रो कुरा नेपालीहरू चिन्नु थियो, म यहाँ आएर नेपालीलाई चिन्न पाउँदा खुसी छु,’ २८ वर्षीय नुर्लानले भने ।
नुर्लानले सन् २०१४-१४ मा अजरबैजान प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए । उनले सन् २०११-१२ मा अजरवैजान कपको उपाधि जितेका थिए । उनले अजरवैजानको उमेर समूहको राष्ट्रिय टिमका लागि खेलिसकेका छन् ।
 
                    










 २०७८ फागुन  ५ गते ११:५७
                        २०७८ फागुन  ५ गते ११:५७                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4