
५ फागुन, काठमाडौं । लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ गोल्डेनगेट कलेज बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
तीन टिम रहेको समूह ‘डी’ को लिग खेलमा गोल्डेनगेटले क्याम्पियन सोलोलाई ७७–६३ ले पराजित गर्दै समूह विजेता बन्यो । लिगको आफ्नो पहिलो खेलमा गोल्डेनगेटले एसीसीएसलाई हराएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा पहिलो क्वार्टरमा १६–१४ को अग्रता लिएको गोल्डेनगेट दोस्रोमा १३–१४ ले पछि पर्यो । बाँकी क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको गोल्डेनगेटले १६–१२ र ३२–२३ अंक जोड्यो ।
विजेता गोल्डेनगेटका कर्मा गुरुङले २७ अंक जोडे । क्याम्पियनका मनिष राजोपाध्यायले १७ स्कोर गरे । यस्तै, बिहीबारकै खेलमा रोयल बास्केटबल एकेडेमीको दुवै टिमले जित हात पार्यो ।
पुरुषमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ९८–६७ ले हरायो । सबै क्वार्टरमा अग्रता बनाएको रोयलले १५–१४, २७–२१, २८–२० र २८–१२ अंक जोड्यो । रोयलका विकास गुरुङले २२ र जेभियरका अनिश मगरले १५ अंक बटुले ।
महिलाको प्रतिस्पर्धात्मक भिडन्तमा रोयलले नेपाल प्रहरी क्लबलाई ५१–५० को साँघुरो अन्तरले हरायो । रोयलकी छिरिङ शेर्पाले २४ अंक जोड्दा प्रहरीकी रोशनी श्रेष्ठले १५ स्कोर गरिन् ।
तेस्रो क्वार्टर सकिँदासम्म प्रहरी ३५–३३ ले अगाडि थियो । अन्तिम तथा चौथो क्वार्टरमा रोयलले १८–१५ स्कोर गर्दै समग्रमा खेल १ अंकले जित्यो । त्यसअघि रोयल सुरुका दुई क्वार्टरमा ६–११ र ९–१० ले पछि थियो । तेस्रो क्वार्टरमा रोयलले १८–१४ स्कोर गर्दै अंक अन्तरलाई छोट्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4