+
+

पहिलेको जस्तो रहेन मनाङ मर्स्याङ्दी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते २०:४६

५ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब नेपाली घरेलु फुटबलमा चर्चित क्लबमध्ये एक हो । झण्डै चार दशकको इतिहास बोकेको मनाङ ए डिभिजन लिगको सर्वाधिक ८ पटकको च्याम्पियन टोली हो ।

मनाङले हरेक सिजन लिग खेल्दा उपाधिको लागि दाबेदार टोलीको रुपमा हेरिन्छ । तर यो सिजन भने मनाङले उपाधि जित्न त सकेन नै खेलले समर्थकको मन जित्न पनि सकेको छैन ।

यस वर्ष शहीद स्मारक ए डिभिजन लिग सुरु हुँदा मनाङलाई उपाधिको दाबेदारकै रुपमा हेरिएको थियो । तर दुई खेल अगावै मच्छिन्द्र फुटबल क्लबले उपाधि पक्का गरिसक्यो । मच्छिन्द्रले बुधबार सातदोबाटोलाई हराएर लिग उपाधि रक्षा गर्‍यो । त्यसको भोलिपल्ट मनाङले रेलिगेसनबाट जोगिने संघर्षमा रहेको एपीएफ क्लबसँग हार व्यहोर्‍यो ।

उपाधि होडबाट बाहिरिएपछि बिहीबार मनाङको पहिलो खेल थियो । मनाङसामु एपीएफलाई हराएर कम्तीमा दोस्रो स्थानमा पकड बलियो बनाउने अवसर थियो । तर मनाङले त्यो नतिजा ल्याउन सकेन । दशरथ रंगशालामा एपीएफविरुद्ध सुरुवाती अग्रता पनि लियो । तर एपीएफले सानदार पुनरागमन गर्दै मनाङलाई ३-१ ले हराइदियो ।

मनाङको यस सिजन पहिलो हार भने होइन । छैटौं चरणको महत्वपूर्ण मानिएको खेलमा मछिन्द्रसंग १-० ले पराजित भएको थियो । त्यही खेल मछिन्द्रलाई उपाधि जित्ने आधार बन्यो भने मनाङको उपाधि होड करिब समाप्त भयो ।

नवौं चरणमा मनाङ नवप्रवेशी सातदोबाटो युथ क्लबसंग पनि पराजित भयो । यस पटक मनाङको हार अप्रत्यासित जस्तो बनिरहेको छ । पहिला मनाङसँगको प्रतिस्पर्धामा विपक्षी क्लबहरुले एक पटक सोच्नुपर्ने अवस्था थियो । अहिलेको प्रदर्शन हेर्ने हो भने मनाङ पहिलेको जस्तो रहेन । यही कुरा मनाङका प्रशिक्षक फुजा टोपे आफैं पनि स्वीकार गर्छन् ।

नाइजेरियन मूलका प्रशिक्षक फुजा मनाङमा आवद्ध भएको यो तेस्रो सिजन हो । २०७५ मा मनाङलाई ए डिभिजन लिग जिताउने प्रशिक्षक हुन् फुजा । जारी सिजनमा ११ औं चरणको खेलमा एपीएफजस्तो रेलिगेसन संघर्षमा रहेको टोलीसँग हारेपछि उनी आफैंले पोस्ट म्याच कन्फ्रेन्समा मनाङ पहिलेको जस्तो नरहेको स्वीकारे ।

‘आज खराब खेल खेल्यौं । खेलाडीमा पहिलेको जस्तो अनुशासन रहेन । कुनै बेला एकदमै अनुशासित टोली थियो मनाङ जुन अहिले रहेन’ मलिन अनुहारमा उनले भने ।

नवआगन्तुक सातदोबाटो र रेलिगेसन संघर्षमा रहेको एपीएफसँग हार्नु मनाङको लागि लज्जास्पद हो । टोलीमा पहिलाको जस्तो अनुशासन र सन्तुलन नहुनु नै हारको कारण रहेको प्रशिक्षक फुजा बताउँछन् । ‘टोलीमा के भइरहेको छ अहिले बोल्नु ठीक हुन्छ जस्तो मलाई लाग्दैन’ फुजा भन्छन्,‘ खेलाडीको तर्फबाट भन्नुपर्दा यो पहिलाको मनाङ होइन । पहिलाका खेलाडी अनुशासित थिए । अहिलेका खेलाडीले अनुशासनमा ध्यान दिँदैनन् ।’

उनले अघि भने, ‘टोलीले राम्रो खेलेर हारेको भए दुःख लाग्थ्यो तर टोलीले निर्देशन अनुसार खेलेको थिएन । खेलाडीले जस्तो मन लाग्यो त्यस्तै खेले । त्यसकारण नजित्नुमा धेरै पीडा छैन ।’

यसपटक मनाङको खेल उपाधि जित्ने स्तरको नरहेको उनले खुलाए । ‘यस्तो खेलले उपाधि नजित्नु कुनै अनौठो भएन, यसमा कुनै दुःख छैन’ फुजाले भने ।

मनाङका पूर्वकप्तान रहिसकेका र हाल एपीएफ क्लबका प्रशिक्षक कुमार थापाले पनि मनाङ पहिलेको जस्तो नरहेको बताए । ‘मनाङ पहिले जस्तो छैन । थाहा छैन टोलीभित्र के समस्या छ ? तर प्रदर्शनका हिसाबमा पहिलेको टोली भने रहेन’ उनले भने, ‘पहिला मनाङ राम्रो टिम हो । मनाङ, मनाङ जस्तो रहेन ।’

नव आगन्तुक टोली सातदोबाटोका प्रशिक्षक मेघराज केसीले पनि मनाङको खेल पहिलेको जस्तो नरहेको बताएका थिए । नवौं चरणमा मनाङलाई २-१ ले पराजित गरेपछि उनले भनेका थिए,‘पहिलाको मनाङ भएको भए हामीलाई गाह्रो हुन्थ्यो ।’

११ खेलपछि मनाङ ६ जित दुई बराबरी र तीन हारको नतिजाबाट २० अंकसहित दोस्रो स्थानमै छ । जुन लिग लिडर मछिन्द्र भन्दा ९ अंकले पछि हो ।

मनाङलाई दोस्रो स्थानमै रहेर लिग टुंग्याउने अवसर भने अझै छ । मनाङले १२औं चरणमा एनआरटी र अन्तिम खेलमा त्रिभुवन आर्मीसँग खेल्नेछ । दोस्रो स्थानमा रहन मनाङले यी दुई खेल जिते पुग्छ, नभए अरु टिमको नतिजामा भर पर्नुपर्छ ।

मनाङको नतिजा

मनाङ १–३ एपीएफ

मनाङ १–१ थ्री स्टार

मनाङ १–२ सातदोबाटो

मनाङ ५–० च्यासल

मनाङ १–० ब्रिगेड ब्वाइज

मनाङ ०–१ मछिन्द्र

मनाङ ३–१ पुलिस

मनाङ २–० फ्रेन्ड्स

मनाङ २–२ संकटा

मनाङ १–० हिमालयन शेर्पा

मनाङ १–० जाउलाखेल

सर्वाधिक गोलकर्ता

आफिज ओलावाले : ६ गोल

अञ्जन विष्ट : ४ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?