+
+

भारी बोकेरै परिवारको खर्च जोहो

रासस रासस
२०७८ फागुन ६ गते १३:०१
प्रतीकात्मक तस्वीर

६ फागुन, दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका-५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैं गाउँपालिका केन्द्रसम्म पुग्छिन् । गाउँपालिका केन्द्रसम्म सडक नपुगेकै कारण उनले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पुर्‍याउने गरेकी छन् ।

गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि चाहिने सरिया बोकेर धुर्मा दिनहुँ यहाँ पुग्छिन् । त्यसबाहेक उनले स्थानीयदेखि व्यापारिक सामान बोकेर गाउँपालिकाका खण्डेश्वरी, घुसालगायतका क्षेत्रमा पनि पुग्ने गरेकी छिन् ।

श्रीमान् धीरेन्द्रसिंह धामी पनि उनीसँगै भारी बोक्ने काम गर्छन् । ‘श्रीमान्-श्रीमती दुवै मिलेर भारी बोकेर परिवारको खर्च जोहो गर्ने गरेका छौं, रोजगारीको अर्को विकल्प नभएपछि अप्ठ्यारो भारी बोक्नुपरेको छ,’ धुर्मा भन्छिन् । स्थानीय सरकार गठन भएको पाँच वर्षसम्म गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले नजोडिएको यो गाउँपालिका हो । विटुले-पारिबगर हुँदै खण्डेश्वरी जोड्ने गरी निर्माण भइरहेको यो सडक अहिले गाउँपालिकाको वडा नम्बर ५ मकरीगाड पुगेको छ ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नपुग्दा अहिले यस क्षेत्रमा महिला भरिया धेरै भेटिने गर्छन् । पुरुष अधिकांश बाहिर गएर पनि काम गर्छन् । गाउँपालिकामा हुने विकास निर्माणदेखि अन्य सामान ढुवानीमा महिला बढी सक्रिय छन् । अप्ठ्यारो भारीको मकरीगाडबाट प्रतिकिलो ३० रुपैयाँसम्म भाडा लिने गर्छन् । माथिल्लो क्षेत्रका बासिन्दाले भारी बोक्दैनन् । जोखिमपूर्ण काममा अधिकांश वडा नम्बर ५ र बाहिरका भरिया प्रयोग हुने गरेका छन् ।

‘भारी बोकेन भने घर खर्चदेखि छोराछोरीको पढाइलगायतको खर्च केबाट व्यहोर्नु ?,’ धामीले भनिन्, ‘दैनिक  दुई/तीन हजार भारीबाट कमाइ हुन्छ ।’ सिमेन्ट, खाद्यान्नलगायतका सामान अपिहिमालमा खच्चडमार्फत ढुवानी हुने गरेको छ । स्थानीय रेनुका धामीले दैनिक प्रतिकिलो ३० देखि ५० किलोसम्मको भारी तीन घण्टा उकालो चढेर पुर्‍याउने गरेको बताइन् ।

‘कहिलेकाहीं दूधे बालकलाई छाडेरसमेत भारी बोक्नुपर्ने बाध्यता छ, तीन/चार घण्टामा फर्किहाल्छौं, उनले भनिन्, ‘भारी नबोके परिवार चलाउन सकिंदैन, खेतबारीकै उत्पादनले पुग्दैन, खाद्यान्नको जोहो गर्न भएपनि भारी बोक्नैपर्छ ।’

भारी नबोके परिवार पाल्न समस्या हुने गम्फा ठगुन्ना बताउँछिन् । खेतमा लगाएको अन्नबालीले वर्षभरि खान नपुग्ने र गाउँमा अन्य काम नभएको उनको भनाइ छ । अपिहिमाल जान मकरीकोट र घुसाको ओकालो बाटो साह्रै कठिन छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?