+
+

अमेरिकी वक्तव्य छलछाम र धोका मात्रः नेता श्रेष्ठ

नेता श्रेष्ठको प्रश्न छ, ‘अमेरिकी दूतावासको झुठो वक्तव्यलाई उच्च महत्वकासाथ प्रकाशित गर्ने मित्रहरुले यी तथ्यहरूसहित वास्तविक सत्यलाई प्रकाशित गर्नुहोला ?’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १२:०१

८ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्रका) नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे नेपालको निर्णय सार्वभौम भन्दै जारी गरेको वक्तव्यलाई छलछाम र धोखा भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमा एक टिप्पणी सार्वजनिक गर्दै श्रेष्ठले नेपालस्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट सम्झौताका बारेमा एउटा सार्वभौम मुलुकका रूपमा नेपालले नै निर्णय गर्ने भन्ने सन्देशसहितको विज्ञप्तिलाई छलछाम र धोखाको संज्ञा दिएका हुन् ।

नेता श्रेष्ठले अमेरिकाको प्रतिक्रिया छलछाम र धोकापूर्ण भएको पुष्टि गर्न चार तर्क अगाडि सारेका छन् । ‘एक, अमेरिकी राजदूतले एमसीसी कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेका थिए,’ उनले अगाडि लेखेका छन्, ‘दुई,अमेरिकी राजदूतले भेटेर र सहायक मन्त्रीले फोनबाट नेपाली नेताहरुलाई यो सम्झौता स्वीकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रुपमा लिन्छौं भनेका थिए ।’

उनले अमेरिकी उपमन्त्रीले भारतीय पत्रिकामार्फत् अन्तर्वार्ता सार्वजनिक गरेर नेपालले एमसीसी सम्झौता अस्वीकार गरेमा नेपाल र अमेरिकाबीचको सम्बन्धमा पुनर्विचार गरिनेछ भनी दिएको अभिव्यक्ति पनि स्मरण गराएका छन् ।

नेता श्रेष्ठले भनेका छन्, ‘नेपालका एक प्रमुख दलका नेतासँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसीसी अमेरिकाका प्रमुख कार्यकारी अधिकृत र फतिमा सुमारसहितको चारजनाको टोलीले एमसीसी कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीर रुपमा लिनेछ भनेका थिए ।’

नेता श्रेष्ठले अमेरिकाले एमसीसी कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिँदै आएको स्पष्ट हुने जिकिर गरेका छन् । नेता श्रेष्ठको प्रश्न छ, ‘अमेरिकी दूतावासको झुठो वक्तव्यलाई उच्च महत्वकासाथ प्रकाशित गर्ने मित्रहरुले यी तथ्यहरूसहित वास्तविक सत्यलाई प्रकाशित गर्नुहोला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?