+
+

अष्ट्रेलियाको जासुसी विमानमा चिनियाँ जनमुक्ति सेनाको लेजर प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १२:३९

८ फागुन, काठमाडौं । अष्ट्रेलियाले चिनियाँ जनमुक्ति सेनामाथि आफ्नो एक सैन्य विमानमा लेजर प्रकाश प्रहार गरेको आरोप लगाएको छ ।

अष्ट्रेलियाको रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ जनमुक्ति सेनाले पी-८ए पोसेइडन नामक आफ्नो जासुसी विमानमा यसै हप्ता लेजर प्रकाश प्रहार गरेको जानकारी दिएको हो । उत्तरी अष्ट्रेलियामा बिहीबार उक्त घटना भएको थियो ।

जासुसी विमानमा लेजर प्रकाश प्रहार हुँदा चिनियाँ जनमुक्ति सेनाको पानी जहाज पपुवा न्यू गिनी र अष्ट्रेलियाबीच अवस्थित आराफुरा क्षेत्रमा अघि बढिरहेको थियो । अष्‍ट्रेलियाले सोही क्रममा भएको लेजर प्रहारलाई आफ्ना सैनिकको जीवन जोखिममा पार्न सक्ने गम्भीर घटना भन्दै निन्दा गरेको छ ।

अष्ट्रेलियाका रक्षा मन्त्रीले लेजर प्रकाश प्रहार भएको उक्त घटनालाई ‘आक्रामक व्यवहार’ भनेका छन् । त्यस्तै, प्रधानमन्त्री स्कट मोरिसनले विज्ञप्तिमार्फत् चिनियाँ जनमुक्ति सेनाको व्यवहार ‘तर्साउने खालको कार्य’ भएको बताएका छन् ।

पछिल्लो समय अष्ट्रेलिया र चीनबीच तनाव बढिरहेको छ । मोरिसनले चीनबाट टाढिँदै अमेरिकासँग थप सहकार्य गर्न खोजेपछि तनाव बढेको हो । गत सेप्टेम्बरमा अष्ट्रेलिया, अमेरिका र बेलायतबीच अकुस नामक रणनीतिक सुरक्षा सम्झौता भएपछि चीन थप रुष्ट बनेको थियो । चीनले उक्त सम्झौतालाई एसिया प्रशान्त क्षेत्रको स्थिरता खल्बलाउने प्रयास भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?