+
+

अष्ट्रेलियाको सैन्य विमानमा लेजर प्रहार गरेका छैनौं : चीन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १६:१४

९ फागुन, काठमाडौं । चीनले अष्ट्रेलियाको एक सैन्य जासुसी विमानलाई लेजर प्रकाशले निशाना बनाएको कुरा अस्वीकार गरेको छ ।

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले युद्धपोतबाट जासुसी विमानमा लेजर प्रकाश देखाएको अष्ट्रेलियाको आरोप सही नभएको भन्दै अस्वीकार गरेका हुन् । नियमित पत्रकार सम्मेलनमा बोल्दै वेनबिङले अष्ट्रेलियालाई चीनविरुद्ध दुर्भावनापूर्ण र भ्रामक समाचार नफैलाउन समेत भनेका छन् ।

‘चिनियाँ युद्धपोत खुला जल क्षेत्रमा सामान्य रुपले हिडिरहेको र अन्तर्राष्ट्रिय कानुन एवं अभ्यास अनुसार भएको उक्त कार्य वैध थियो’, वेनबिनलाई उध्दृत गर्दै सीजीटीएनले लेखेको छ । उनले अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय कानुनबमोजिम चिनियाँ युद्धपोतको वैधानिक अधिकारको सम्मान गर्नसमेत भनेका छन् ।

अष्ट्रेलियाको रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ जनमुक्ति सेनाको युद्धपोतबाट पी-८ए पोसेइडन नामक आफ्नो जासुसी विमानमा गत बिहीबार लेजर प्रकाश भएको बताएको थियो ।

अष्ट्रेलियाका रक्षा मन्त्रीले समेत लेजर प्रकाश प्रहार भएको भनिएको उक्त घटनालाई ‘आक्रामक व्यवहार’ भन्दै निन्दा गरेका थिए । त्यस्तै, प्रधानमन्त्री स्कट मोरिसनले विज्ञप्तिमार्फत् चिनियाँ जनमुक्ति सेनाको व्यवहार ‘तर्साउने खालको कार्य’ भएको बताएका थिए ।

पछिल्लो समय अष्ट्रेलिया र चीनबीच तनाव बढिरहेको छ । मोरिसनले चीनबाट टाढिँदै अमेरिकासँग थप सहकार्य गर्न खोजेपछि तनाव बढेको हो । गत सेप्टेम्बरमा अष्ट्रेलिया, अमेरिका र बेलायतबीच अकुस नामक रणनीतिक सुरक्षा सम्झौता भएपछि चीन थप रुष्ट बनेको थियो । चीनले उक्त सम्झौतालाई एसिया प्रशान्त क्षेत्रको स्थिरता खल्बलाउने प्रयास भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?