+
+

विश्वकपका लागि यूएईविरुद्धको निर्णायक खेलमा नेपालको सम्भावना कति ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन १० गते ८:१४
फिलिपिन्सविरुद्ध शतक प्रहार गरेपछि कुशल भुर्तेल दीपेन्द्र ऐरीको साथमा । तस्वीर : आईसीसी

१० फागुन काठमाडौं । एक खेल जिते विश्वकपमा । अनि हारे ? हारे विश्वकपबाट धेरै टाढा । फेरि नेपाल कहिले विश्वकपमा पुग्छ भन्न सकिन्न ।

प्रसंग हो ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्वालिफायरको । जहाँ नेपालले आज यूनाइटेड अरब इमिरेट्स (यूएई)सँग महत्वपूर्ण खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज यूएईसँग आज अपराह्न पौने चार बजे त्यस्तो खेल खेल्दैछ जुन खेल जितेमा नेपाल अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान बनाउने छ । यदि पराजित भएमा नेपालले विश्वकप पुग्नका लागि अझै केही वर्ष पर्खनु पर्नेछ ।

नेपालले ग्लोबल क्वालिफायर-‘ए’को समूह ‘बी’मा अहिलेसम्म तीन खेल खेल्दा शतप्रतिशत जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । सेमिफाइनल पुग्न यी तीन खेल जति महत्वपूर्ण थिए त्योभन्दा महत्वपूर्ण खेल नेपालका लागि यूएईविरुद्ध हुनेछ ।

नेपाल समूह ‘बी’ मा सबै तीन खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो । उता यूएई सुरुको दुई खेल जितेर अन्तिम खेलमा बहराइनसँग पराजित भएको थियो । तैपनि समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल पुग्यो ।

आजै अर्को सेमिफाइनल खेल पनि हुनेछ जहाँ समूह ‘ए’ को विजेता आयरल्याण्डले समूह ‘बी’ को उपविजेता घरेलु टोली ओमानसँग खेल्नेछ ।

यी दुवै सेमिफाइनलका विजेता टी-२० विश्वकपमा पुग्नेछन् । रमाइलो के छ भने आयरल्याण्ड र ओमानले २०२१ मा यूएई र ओमानमा भएको टी-२० विश्वकप खेलेका थिए । यसबाट एक टोली मात्र विश्वकपमा पुग्नेछ ।

आयरल्याण्ड विजयी भए लगातार सातौं पटक विश्वकप पुग्नेछ भने ओमान विजयी भए लगातार तेस्रो पटक विश्वकप खेल्नेछ ।

अर्कोतर्फ नेपाल र यूएईले पछिल्लो विश्वकप खेलेका थिएनन् । यसबाट जित्ने टिमले भने आठ वर्षपछि टी-२० विश्वकपमा स्थान बनाउने छ ।

नेपाल र यूएईले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक विश्वकप खेलेका थिए । त्यसपछिका दुई संस्करणमा भने यी दुवै टोली छनोट हुन सकेनन् ।

यूएई पछिल्लो पटक टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेले पनि छनोट हुन सकेको थिएन । नेपाल भने एसियन रिजनबाट अघि बढ्न सकेन । यसपटक दुवै टिम आईसीसी टी-२० वरीयतामा माथिल्लो स्थानमा रहेकाले सिधै ग्लोबल क्वालिफायरमा पुगेका हुन् ।

अहिले भइरहेको ग्लोबल क्वालिफायरअघि तयारी स्वरुप खेलिएको चार देशीय सिरिजमा नेपाल र यूएई पछिल्लो पटक खेलेका थिए । जसमा यूएईसँग नेपाल २५ रनले पराजित भएको थियो ।

अहिले सेमिफाइनल खेल्न लागेका चारै टोलीले त्यो सिरिज खेलेका थियो । जसमा नेपालले ओमानलाई पराजित गर्दा आयरल्याण्ड र यूएईसँग पराजित भएको थियो । यूएईले भने नेपाल र आयरल्याण्डलाई हराउँदा ओमानसँग पराजित भएको थियो ।

तर त्यस सिरिजपछि क्वालिफायरमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित छ । नेपालले समूह चरणमा ओमानलाई ३९ रनले, फिलिपिन्सलाई १३६ रनले र क्यानडालाई ८ विकेटले पराजित गरिसकेको छ । ओमानले नेपालसँग हार्दा क्यानडा र फिलिपिन्सलाई हरायो ।

अर्को समूहमा यूएईले आयरल्याण्ड र जर्मनीलाई हरायो भने बहराइनसँग पराजित भयो । आयरल्याण्डले यूएईसँग हारेपछि बहराइन र जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अब यिनै चार टिममध्ये सेमिफाइनल जित्ने दुई टोलीले फाइनल पुग्दै अष्ट्रेलियाको टिकट काट्नेछन् ।

नेपाल भर्सेस यूएई हेड टु हेड

नेपाल र यूएई टी-२० अन्तर्राष्ट्रियमा चार पटक खेलेका छन् । जसमा दुवै टिमले २-२ खेल जितेका छन् । सन् २०१९ मा यूएईमै भएको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले यूएईलाई २-१ ले हराएर सिरिज जितेको थियो ।

उक्त सिरिजको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपालले त्यसपछि दोस्रो खेलमा यूएईलाई ४ विकेटले र तेस्रो खेलमा १४ रनले पराजित गरेको थियो ।

त्यसपछि अहिले भइरहेको क्वालिफायर अघि चारदेशीय सिरिजमा यूएईले नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा यूएईले पहिलो ब्याटिङ गर्दै चिराग सुरीको ८४ रन मद्दतमा ३ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा नेपालले १६७ रन मात्र बनाउन सक्यो ।

खेलाडीको प्रदर्शन

त्यस खेलमा ८४ रन हानेका सुरी सहित युवा खेलाडी भृत्य अरविन्द र पूर्व कप्तान रोहन मुस्ताफा अहिले यूएईका लागि राम्रो खेलिरहेका छन् । यी खेलाडीको ब्याटिङमा यूएईको प्रदर्शन भर पर्नेछ । भृत्य सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् उनले दुई अर्धशतक प्रहार गरिसकेका छन् ।

यता नेपालको लागि कप्तान सन्दीप लामिछानेले एकरुपको बलिङ गरिरहेका छन् । सन्दीपले ३ खेलमा ८ विकेट लिंदै सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा छन् । उनलाई स्पीनमा दीपेन्द्र सिंह ऐरीले साथ दिएका छन् । फास्ट बलिङमा कमल सिंह ऐरी, अविनाश बोहरा र जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै सोमपाल कामी र करण केसीको अभाव खड्किन दिएका छैनन् ।

ब्याटिङमा भने ओपनर कुशल भुर्तेलले एक शतक प्रहार गरिसकेका छन् । पहिलो खेलमा ओमानविरुद्ध पाँच रनमा आउट भएका भुर्तेलले दोस्रो खेलमा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाए । यस्तै तेस्रो खेलमा क्यानडाविरुद्ध पनि अविजित रहँदै ३४ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । पहिलो खेलमा ओमानविरुद्ध ११ रनमा आउट भएका दीपेन्द्रले दोस्रो खेलमा फिलिपिन्सविरुद्ध ८३ रन बनाए । तेस्रो खेलमा क्यानडाविरुद्ध अविजित २७ रन जोडे । उनले बलिङमा ओमानविरुद्ध २ विकेट लिँदै उत्कृष्ट फिल्डिङ समेत गरेका थिए भने फिलिपिन्सविरुद्ध १ विकेट लिएका थिए ।

यसपटक विकेट किपिङको जिम्मा पाएका कुशलका ओपनिङ जोडी आसिफ शेखले भने ब्याटिङमा राम्रो गर्न सकेका छैनन् । उनले ३ खेलमा जम्मा २१ रन बनाएका छन् ।

विकेटकिपरको रुपमा भने उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । कुल ६ डिसमिसलमध्ये उनले विकेट पछाडि चार क्याच लिएका छन् भने दुई स्टम्पिङ गरेका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?