+
+
नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक :

भारतले माग्यो थप ठूला जलविद्युत आयोजना, नेपालको बिजुली सजिलै किन्ने वचन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते २१:३५

१० फागुन, काठमाडौं । भारत सरकारले नेपालमा ठूला जलविद्युत् आयोजनामा थप लगानीका लागि प्रस्ताव गरेको छ । नेपालमा उत्पादित बिजुली भारतीय बजारमा बेच्ने प्रक्रियालाई सरलीकरण गर्न पनि भारत सहमत भएको छ ।

काठमाडौंमा बुधबारबाट सुरु भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठकको पहिलो दिन भएको सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकमा भारतले नेपालसँगको साझेदारीमा ठूला आयोजना अघि बढाउन प्रस्ताव गरेको हो ।

भारतले आयोजनाहरुको किटान नगरेपनि दुईपक्षीय छलफलमार्फत सम्भाव्य आयोजनाहरुमा दुईदेशको संयुक्त लगानी वा आफ्नो एकल लगानीमा नेपालमा थप ठूला आयोजनाहरु बनाउन चाहेको बताएको हो ।

होटल हायातमा चलिरहेको बैठकमा भारतले अरुण तेस्रोको निर्माणपछि तल्लो अरुणको निर्माण अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै थप आयोजनामा लगानीका लागि प्रस्ताव गरेको हो ।

‘भारतको प्रस्ताव आफैंमा नराम्रो छैन, ठूला आयोजनामा हामी विदेशी लगानी खोजिरहेका छौं भने सम्भाव्य आयोजनामा उसले लगानी गर्दा फरक पर्दैन,’ बैठकमा सहभागी एक अधिकारीले भने,’नेपाललाई अधिकतम् लाभ हुने गरी संयुक्त लगानीमा आयोजना निर्माणका लागि छलफल अघि बढाउनेबारे सहमति हुन सक्छ ।’

अहिलेसम्म नेपाल भारतको संयुक्त लगानीमा आयोजना बनेको छैन । अरुण तेस्रो र तल्लो अरुणबाहेक भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णाली आयोजना लिए पनि लगानी जुटाउन सकेको छैन ।

बुधबारको बैठकमा नेपालका उत्पादित विद्युतलाई सहजै भारतीय बजारमा प्रवेश दिनेबारे पनि छलफल भएको छ । नेपालले अहिले भारतमा ३९ मेगावाटका आयोजनाको बिजुली मात्रै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा निर्यात गर्ने अनुमति पाएको छ ।

नेपाल विद्युत प्राधिकरणले थप ८१४ मेगावाट बराबरका आयोजनाको बिजुलीलाई पनि बजारमा प्रवेश दिन प्रस्ताव गरेको छ । तर, भारत सरकार अझै तयार नभएकाले यस विषयमा बैठमा नेपालले कुरा उठाएको छ । भारतीय ऊर्जा अधिकारीहरुले प्रक्रिया सरल गरेर यो विषय टुंगो लगाउने जवाफ दिएको स्रोतको दावी छ ।

बैठकमा नयाँ बनाउनुपर्ने अन्तरदेशीय प्रसरणलाइन आयोजनाबारेमा छलफल भएको छ । बैठकमा ‘न्यू बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण गर्न भएको सहमति कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको छ ।

सहसचिवस्तरीय बैठकले टुंगो लगाएका विषयहरु भोलि हुने सचिवस्तरीय बैठकमा पेश हुनेछन् । भोलिको बैठकमा नेपालको तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीले र भारतको तर्फबाट भारतीय ऊर्जासचिव आलोक कुमारले नेतृत्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?