+
+

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा गम्भीर लापरबाही, कमजोरीबारे बल्ल अध्ययन

जानकार भन्छन्- विमानस्थल जुनसुकै बेला दुरुपयोग हुनसक्ने देखियो

गौरव पोखरेल गौरव पोखरेल
२०७८ फागुन १२ गते १३:१३

१२ फागुन, काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भिर सुरक्षा लापरबाही भएको पाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसहित विभिन्न निकायको सुरक्षा निगरानी रहने विमानस्थलको तारबार नाघेर एक व्यक्ति ‘अनबोर्ड’ जहाजमै पुगेपछि सुरक्षा कमजोरी सतहमा आएको हो । यस घटनापछि पूर्वाधारमा भएको सुरक्षा कमजारीबारे बल्ल अध्ययन थालिएको छ ।

गत सोमबार राति १०ः४५ बजे त्रिभुवन अन्तरर्राष्ट्रिन विमानस्थलबाट नेपाल वायु सेवा निगमको वाइडबडी जहाज कतारको दोहा उड्ने तयारीमा थियो । बोर्डिङ पास लिएका अधिकांश यात्रु जहाजमा चढिसकेका थिए । तर, हातमा टिकट बोकेका एक व्यक्ति उभिइरहेका थिए, सिट भने खाली थिएन ।

उनी बस्नुपर्ने सिटमा रौतहट घर भएका १८ वर्षीय किशोर हस्पम आलम बसिरहेका थिए । विमान चालक दलका सदस्यले दुवै जनासँग टिकट र पोसपोर्ट मागे ।

सिटमा बसेका आलमसँग दुवै थिएन । लगत्तै प्रहरीलाई खबर भएअनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले अनलाइनखबरलाई बताए । हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको भनाइमा तत्काललाई सोमबारको घटनाले कुनै अप्रिय रुप त लिएको छैन, तर यसैगरी आतंकवादी विमानसम्म पुगेको भए, त्यसले गम्भिर परिस्थिति सिर्जना गर्नसक्थ्यो ।

‘विमानस्थल सुरक्षाको हिसाबले यो गम्भिर सुरक्षा चुनौति हो’ उनले अनलाइनखबरसँग भने, ‘अहिले कुनै सुरक्षा थ्रेट नहोला, तर भोलि कुनै चुनौती देखापरे विमानस्थल सहजै दुरुपयोग हुनसक्छ भन्ने यो घटनाले देखाउँछ ।’

दोस्रो पटक पनि सहजै प्रवेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको एक सुरक्षा निकायका अधिकृतका अनुसार आलम विमानस्थलभित्र छिरेको यो पहिलो पटक होइन । यसअघि पनि आलम विना टिकट र पासपोर्ट विमानस्थलभित्र छिरेपछि हल्लीखल्ली मच्चिएको थियो ।

सुरक्षा मामिलाका जानकारहरुका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल देशको प्रतिष्ठासँग जोडिएको विषय पनि हो । ‘अर्काको मुलुकमा अपराध गरेका मान्छे यहाँ आश्रय लिएर आउजाउ गर्न सक्छन्, विमानस्थलबाट गम्भिर किसिमका अपराधीहरु अरु देशसम्म पुग्न सक्छन्’ नेपाली सेनाका अवकाश प्राप्त एक उपरथी भन्छन्, ‘त्यसैले विमानस्थल मुलुकको संवेदनशील क्षेत्र मध्येमा पर्छ र यहाँ सुरक्षा कमजोरीले देशको सुरक्षा स्तर र शैलीलाई पनि प्रतिबिम्बित गर्छ ।’

राष्ट्रिय अनुसन्धान विभाग पूर्वप्रमुख देवीराम शर्मा विमानस्थलमा हुने यस्तै सुरक्षा कमजोरीका कारण गम्भिर समस्याहरु देखा पर्ने गरेको बताउँछन् । ‘उड्न लागेको विमानको सिटमा यात्रु, चालक दल, सुरक्षा र कर्मचारीबाहेकका व्यक्ति पुग्नु भनेको सामान्य घटना होइन’ शर्माले भने, ‘फेरि विमानस्थलमा यति धेरै सुरक्षा जाँच हुन्छ कि त्यो कसरी पार भयो भन्ने पनि अनौठो विषय हो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर चाहिँ नियमित टर्मिनलबाट ती व्यक्ति जहाजमा गएको नदेखिएको बताउँछन् । ‘जहाजको वरपरको सीसी क्यामरा हेर्दा पनि उनी तारबारै नाघेर आएको देखिन्छ’ उनले अनलाइनखबरसँग भने, ‘आयल निगमको छेऊ सिनामंगलबाट उनी प्रवेश गरेको देखिन्छ, यद्यपि अझै जाँचबुझ जारी छ ।’

विमानस्थलको बाहिरी सुरक्षाको जिम्मा नेपाली सेनालाई छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भीमप्रसाद ढकालले सोमबारको घटनामा नेपाल प्रहरीको कमजोरी नरहेको दाबी गरे । ‘बाहिरी सुरक्षा सेनालाई छ, हाम्रो टोली खटिँदैन’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ढकालले भने, ‘विस्तृतमा विमानस्थल कार्यालयसँगै बुझ्दा हुन्छ ।’

नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल चाहिँ आफूहरुको ड्यूटीमा कुनै कमजोरी नरहेको बताउँछन् । ‘हाम्रो ड्यूटी भएको स्थानबाट गएको जस्तो लाग्दैन, सेनाको पट्रोलिङदेखि हरेक कुरा इन्ट्याक्ट छ’ सिलवालले अनलाइनखबरसँग भने, ‘सोमबारको घटना कसरी भयो भन्नेबारे विमानस्थलको सुरक्षा समितिले नै निष्कर्ष निकाल्ला ।’

बल्ल कमजोरीबारे अध्ययन

विमानस्थलको बाहिरी घेरा १० किलोमिटर क्षेत्रमा फैलिएको छ । तीन वर्षअघि एक सुरक्षा निकायले विमानस्थलको सुरक्षा चुनौति अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा तीमध्ये अधिकांश ठाउँमा सुरक्षाको हिसाबले कमजोर रहेको औंल्याइएको थियो ।

‘कतिपय ठाउँमा राती बत्ती बल्दैन, सबै क्षेत्र सीसी क्यामराको दायरामा पनि छैन’ प्रतिवेदनमा भनिएको थियो, ‘कतिपय तारबार कम्तिमा पनि २५ वर्ष पुराना छन् र जीर्ण भइसकेका छन् ।’ त्यसलाई तत्काल मर्मत गर्नुपर्नै औंल्याइएको थियो ।

तर हालसम्म मर्मत नहुँदा सोमबार तारबार नाघेर युवक विमानसम्म पुगेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर भन्छन्, ‘मर्मत गर्ने प्रयास विगतमा नभएको होइन, तर एकैपटक ५ लाखभन्दा बढी मर्मत सम्भारमा खर्च गर्न नसक्ने अवस्था भएपछि काम ढिला भएको थियो ।’

सोमबारको घटनापछि विमानस्थल प्रशासन बल्ल तातेको छ । विमानस्थल स्रोतका अनुसार बुधबार विमानस्थलमा खटिएका सबै सरकारी निकायका प्रमुखको बैठक बसेको थियो ।

बैठकमा विमानस्थलको सुरक्षा कमजोरीबारे समीक्षा भएको स्रोत बताउँछ । लगत्तै टोलीले स्थलगत अध्ययन गरेर विमानस्थलको बाहिरी घेरामा कहाँ कहाँ नयाँ पोस्ट थप्नुपर्छ भनेर पनि समीक्षा गरेको थियो ।

नेपाली सेनाको टोली निश्चित पोष्टमा मात्र बस्ने हुँदा सेना नभएको ठाउँबाट आलम प्रवेश गरेको आशंका अधिकारीहरुले गरेका छन् । ‘तर ती व्यक्ति बाहिरी घेरा नाघेर विमानस्थल प्रवेश गरेर एयरक्राफ्टसम्म पुग्दासम्म पनि नेपाल प्रहरी वा अरु निकायले कसरी थाहा पाएनन् ?’ विमानस्थनमा खटिएका एक सैनिक अधिकारी प्रश्न गर्छन्, ‘विमानमा प्रवेश गर्नेवेला उनको किन टिकट खोजिएन ? रनवेबाट लुखुरलुखुर हिँडेर आउञ्जेल उनी किन समातिएनन् ?’ विमानस्थलमा खटिने गुप्तचरदेखि हरेक निकाय पनि चुकेको उनी बताउँछन् ।

विमानस्थल कार्यालयका प्रमुख ठाकुर विमानस्थल सुरक्षामा रहेको कमजोरीबारे अध्ययन गर्न विमानस्थल सञ्चालन विभाग प्रमुख टेकनाथ सिटौलाको संयोजकत्वमा सिभिल इञ्जिनियिर, हवाई सुरक्षा महाशाखा प्रमुखलगायत सदस्य रहेको कमिटी बनाइएको बताउँछन् । ‘कमिटीले विमानस्थलको अवस्थाबारे अध्ययन गरेर सुझाव प्रतिवेदन बुझाउनेछ’ उनी भन्छन् ।

प्रवक्ता सिटौला पूर्वाधारका कारण कहाँ कमजोरी भयो भन्नेबारे छानविनका लागि समिति गठन भएको बताउँछन् । नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात अन्य मुलुकका विमानस्थलमा पनि यदाकदा सामान्य कमजोरीको कारण यस्ता घटना हुने बताउँदै भन्छन्, ‘तत्काल अध्ययन, अनुसन्धान र छानविन गरेर सुरक्षामा भएको त्रुटि सुधार्नेतिर लाग्नुपर्छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?