
१२ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् ।
राष्ट्रपति पुटिनले डोनेट्स र लुहान्सकमा विशेष सैन्य कारबाही सुरु भएको घोषणालगत्तै युक्रेनी भूमि कब्जा गर्ने रुसको कुनै योजना र चाहना नभएको बताएका हुन् ।
‘युक्रेनको भूमि कब्जा गर्ने हाम्रो कुनै योजना छैन’, पुटिनलाई उदृत गर्दै आरटी डटकमले लेखेको छ, ‘हामीले बल प्रयोग गरी कसैमाथि कुनै कुरा लाद्ने छैनौं ।’
आठ वर्षदेखि किएभको सत्ताबाट भइरहेको नरसंहारको शिकार भइरहेका मानिसको सुरक्षा गर्ने आफूहरूको लक्ष्य भएको पुटिनको भनाइ छ । युक्रेनलाई नाजी विचारधाराबाट मुक्त गर्ने र असैनिकीकरण गर्ने आफूहरूको चाहना भएको पनि उनले प्रस्ट पारे ।
युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न आग्रह
आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । साथै उनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्ने कुरा आफैं चुन्न सक्ने बताएका छन् ।
न्याय र सत्य रुससँग रहेको दाबी गर्दै पुटिनले पूर्वी युक्रेनमा तैनाथ सैनिकहरूलाई भनेका छन्- हतियारहरु फ्याँक र आफ्नो घर फर्क ।
उनले चेतावनीको शैलीमा भनेका छन् यदि कसैले रुसलाई कारबाही गर्छ भने मस्कोले प्रतिक्रिया दिन ढिलाइ गर्नेछैन । उनले यो कारबाही आत्मरक्षाका लागि हुने पनि बताए ।
प्रतिक्रिया 4