
१२ फागुन, काठमाडौं । लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०/५८ ले सहजै पराजित गर्यो । आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अंक योगदान गरे । टाइम्सका सदीश प्रधानले १७ स्कोर गरे ।
सहज जित हात पार्ने क्रममा आर्मीले चारै क्वाटरमा अग्रता बनायो । आर्मीले क्रमशः २२/१०, २४/२०, १७/१६ र २७/१२ ले जितेको हो ।
त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । महिलाको रोमाञ्चक फाइनलमा अनुषा मल्लको १९ अंक सहयोगमा पुलिसले रोयल बास्केटबल एकेडेमीलाई ५२/४९ ले हरायो ।
पुलिसले उपाधिसँगै राउन्ड रोविन लिगमा रोयलसँग व्यहोरेको हारको बदला पनि लियो । राउन्ड रोविन लिगमा रोयल विजेता तथा प्रहरी उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए । रोयलकी रोशनी श्रेष्ठले १४ अंक जोडिन् ।
पहिलो क्वार्टरमा दुवैले ८/८ को बराबरी खेले । प्रहरी दोश्रोमा २०/१५ र तेश्रोमा १४/११ ले अघि रहँदै जितको आधार खडा गरेको थियो । चौथो तथा अन्तिम क्वाटरमा रोयलले १५/१० को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन ।
पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार पाए । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा पुलिसकी अनुषा मल्ल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे ।
पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रुपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिए । दुवैलाई समान ७ हजार नगदबाट पुरस्कृत गरियो ।
नेपाल बास्केबटल संघका पूर्वअध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको पुरुषमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । महिलाको राउन्ड रोविन लिगमा ५ टिम सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4