+
+
उद्यम :

कृषिमा फड्को मार्न सधैं अड्को

उत्पादन भएपछि बजारको समस्या थपिन्छ । मूल्य निर्धारण विचौलियामैत्री छ भने कृषि उपज नै नबिक्ने समस्या पनि छ । किसानले कौडीको मूल्यमा आफ्नो उपज दिंदा पनि समयमै भुक्तानी नपाउने अर्को पीडादायी अभ्यास हाम्रो समाजमा अझै छ ।

सेमन्त उपाध्याय सेमन्त उपाध्याय
२०७८ फागुन १४ गते ११:५३

हामीलाई लामो समयदेखि रटाइएको कुरा हो- नेपाल कृषिप्रधान देश हो । कृषि गणना २०६८ का अनुसार नेपालको कुल भूभागको १७ प्रतिशत जमिन बालीनाली लगाउन योग्य छ । २०६८ सालको तथ्याङ्क हेर्दा ७४ प्रतिशत जनता कृषिमा निर्भर रहेको देखिन्छ ।

नेपालको कृषि क्षेत्रको विकासलाई अनुसन्धानमार्फत बढी प्रभावकारी बनाउन खोलिएको संस्था नार्कले बाली र पशुहरूको अनुसन्धानमा विशेष योगदान पुर्‍याउँदै आएको छ । नेपालमा तराई, पहाड र हिमाली भेगमा उत्पादन हुने मुख्य खाद्यबाली धान, मकै, गहुँ, जौ, कोदो हो । नेपालमा पाँच किसिमको माटो पाइन्छ । ती हुन्- रातो फुस्रो माटो, पाँगो माटो, बलौटे माटो, हिमाली माटो र तलैया माटो ।

नेपाल परापूर्व कालदेखि कृषिमा निर्भर रहँदै आए पनि वि.सं. २०१८ बाट कृषि गणना सुरु गरियो । हालसालै देशमा सातौं जनगणना सम्पन्न भएको छ । छैटौं कृषि जनगणनाका अनुसार झापा, मोरङ, सुनसरी, सर्लाही, सिरहा गरी पाँच जिल्लामा अत्यधिक धान, मकै, गहुँ, तोरी र अन्य कृषिजन्य फसल उत्पादन हुन्छ ।

त्यसैले यिनै पाँच जिल्लालाई कृषियोग्य जमिनका रूपमा उल्लेख गरेको पाइन्छ । तर विडम्बना यहाँ कृषियोग्य जमिन मासेर यसलाई टुक्राटुक्रामा विभक्त गरेर घडेरी बनाइएको छ । यस्तो अभ्यासले कृषिभन्दा बढी जग्गाको कारोबार फस्टाएको छ ।

नेपाल कृषिप्रधान देश त हो तर नेपालको उत्पादनले तीन महिना पनि धान्न नसक्ने अवस्था छ । बाँकी ९ महिना भारत, चीन वा अन्य मुलुकबाट चर्को मूल्यमा कृषि उपज भित्र्याउन बाध्य हुनुपरेको छ । यस्तो विकराल स्थितिबाट कहिलेसम्म गुज्रिनुपर्ने हो ? जवाफ हामी कसैलाई पत्तो छैन ।

४० प्रतिशत कृषकलाई आफूले उत्पादन गरेको खाद्यान्नले वर्षभरि खान पुग्छ भने बाँकी कृषकले अन्य रोजगारी गरेर वा अन्य तेस्रो मुलुक गएर गुजारा चलाउनु परेको छ । यो अहिलेको कुरा हो । तर, आजभन्दा ६ दशक अगाडिको अवस्था यति निराशाजनक थिएन । त्यतिबेला नेपालले कृषि उपज अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्थ्यो । यसबाट नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्थ्यो ।

तर अहिलेको अवस्था फरक छ । आज हामी प्रत्येकको भान्सामा पाक्ने अधिकांश खानेकुरा भारत वा तेस्रो मुलुकबाट आयातित छन् । यो नेपालीका लागि विडम्बनापूर्ण अवस्था हो । केही समय अनियन्त्रित जनसंख्या वृद्धिले जमिनको खण्डीकरण तीव्र बन्यो । सरकारी बेवास्ता र नीतिगत अस्पष्टताले कृषि निर्वाहमुखी मात्रै बन्यो ।

यसले प्लटिङ गरेर बचेको जमिन पनि बाँझै छाडेर युवा पुस्ता रोजगारीका लागि विदेशिन थाले । कृषिको व्यवसायीकरण हुन नसक्दा युवा पुस्तामा यसप्रति कुनै आकर्षण बाँकी रहेन । कृषि मर्यादित पेशाको रूपमा विकसित हुन सकेन ।

आज पनि नेपाल सरकारले प्रत्येक वर्ष बजेट भाषण गर्दा कुल बजेटको २.५ देखि १० प्रतिशतसम्म बजेट विनियोजन गरेको हुन्छ । त्यो बजेटको पैसा कता खर्च भइरहेको छ ? हामी सबैले जान्न जरुरी छ । नेपालमा कृषि क्षेत्रमा काम गर्ने भनेर थुप्रै सरकारी कार्यालय खोलिएका छन् ।

आज कतिपय युवा साथीहरू विदेशको अनुभव खासगरी कोरियामा सुँगुर फार्म, कुखुरा फार्म र इजरायलको कृषि फार्मको अनुभव नेपालमा प्रयोग गर्न चाहन्छन् । तर लगानी, कृषि उपकरण र आवश्यक दक्ष जनशक्तिको अभावमा उनीहरूको अधिकांश सपना अधूरै छ । बजारको समस्या अरु पेचिलो छ । यावत् प्रतिकूलताका बावजुद कृषि पेशामा खट्ने साथीहरूलाई सलाम गर्नुपर्छ ।

कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र, नार्क, प्रत्येक नगर वा गाउँपालिकामा कृषि शाखाहरू त छँदैछन्, साथमा राष्ट्रपति कृषि कार्यक्रम, अन्य थुप्रै सरकारी-गैरसरकारी संघ-संस्था क्रियाशील छन् । यति धेरै संयन्त्र हुँदाहुँदै पनि आज किन कृषि क्षेत्रमा सरकारको लगानी बालुवामा पानी खन्याएजस्तो हुँदैछ । यो विचारणीय पक्ष हो जसको वैज्ञानिक र वस्तुनिष्ठ जवाफ नखोजी हामी अगाडि बढ्न सक्दैनौं ।

तराईका ६० प्रतिशत खेतीयोग्य जमिन स्थानीय सरकार र भूमाफियाको सेटिङमा काँक्राको चिरा पारे जसरी चिरा बनाएर सबै कङ्क्रिटको थुप्रो (घर) र पूर्वाधारले भरिइसके । त्यहाँका जमिनदार कृषकहरू त्यही जमिन बेचेर भारतबाट आयातित विषादियुक्त कृषिजन्य वस्तुहरू महङ्गोमा बजारबाट खरिद गर्दै गुजारा चलाइरहेको तितो यथार्थ छ ।

कृषि क्षेत्रमा माफियाको एउटा ठूलो गिरोह छ । उनीहरूले व्यवहारतः कृषकको कुनै पनि गतिविधि, क्रियाकलाप गर्दैनन् । कागजमा ठूलो कृषि फर्म खोलेको हुन्छन् र फिल्डमा केही हुन्न । उनीहरूका डकुमेन्टहरू बलिया हुन्छन् । प्रत्येक पटक अनुदान खुल्दा प्रस्तावना पेश गर्छन् ।

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रलाई पाएको रकमको ४० प्रतिशतसम्म कमिसन दिने भद्र सहमति गर्छन् । पैसा सित्तैंमा आउने भएपछि उनीहरूले पनि सोही व्यक्तिलाई अनुदान पारिदिन्छन् ।

यहाँ मारमा पर्छन् वास्तविक कृषकहरू । अनुदानको रकम नक्कली किसानले कुम्ल्याएपछि वास्तविक किसान निराश र पलायन हुन्छन् । राज्य र बैंकले मिलेर जग्गा प्लटिङमा लगानी बढाइरहेका छन् ।

यस्तो किन भइरहेको छ ? कृषकले कहिले अनुदानका लागि पत्रिकामा विज्ञापन छापियो हेर्ने फुर्सद नै पाउँदैनन् । अर्को कुरा मन्त्रालय धाउने समय हुँदैन । भए पनि कागजपत्र सबै पुर्‍याउन गाह्रो, प्रस्तावना कसरी लेख्ने ?

कसरी कृषि अनुदान पाइन्छ ? कृषक अनभिज्ञ रहन्छ । पढ्न र लेख्न समस्या हुन्छ, कसरी प्रस्तावना पेश गर्ने ? किसानका समस्या धेरै छन् । सरकारले यता ध्यान दिन चाहँदैन । किनकि वास्तविक किसानले पैसा पाए भने कमिसनको खेल बन्द हुन्छ ।

नेपालको कृषि प्रणाली परम्परागत हुनु, व्यावसायिक नहुनु, वास्तविक किसानसम्म राज्यसंयन्त्रको सीधा सम्पर्क नहुनु, आधुनिक र सुविधायुक्त कृषि औजार नहुनु, भौगोलिक विकटता हुनु, नेपालको कुल भूभागको १८ प्रतिशत मात्र खेतीयोग्य जमिन हुनु, उत्पादित वस्तुको भण्डारण तथा चिस्यानको व्यवस्था नहुनु, मन्त्री, कर्मचारी र नेताहरू भ्रष्ट हुनु, स्थानीय सरकारसँग कृषि विशेषज्ञ नहुनु जस्ता कारणले पनि किसान पछाडि परेका छन् ।

सही भूगोल र ठाउँमा पकेट जोन नबनाउनु, करेसाबारीबाट व्यावसायिक खेती गर्न प्रोसाहित नगर्नु, कृषि क्षेत्रमा कृषक र उपभोक्ता बीचमा विचौलियाको बिगबिगी हुनु आदि थुप्रै कृषि क्षेत्रमा विद्यमान समस्या र चुनौती हुन् ।

कुनै कृषकले एउटा कुनै तरकारी वा खाद्यान्न विचौलियालाई २० मा बेच्छ । तर विचौलियाले उपभोक्तालाई १०० मा बेच्छ । यसरी कृषक पनि मारमा पर्छ अनि उपभोक्ताले पनि चर्को मूल्य तिर्नुपर्छ ।

यस्तो अभ्यासले विना श्रम, विना लगानी, विना मिहिनेत, विना चुनौती विचौलिया मालामाल हुने अवस्था सिर्जना गरेको छ । यस्तो अभ्यासको अन्त्य गर्दै कसरी कृषक र उपभोक्तामैत्री बजारीकरण नीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा पनि तीनै तहका सरकारले काम गर्नुपर्ने देखिन्छ । बिचौलियालाई निरुत्साहित गर्दै कृषकलाई प्रोत्साहित गर्ने योजना बनाउन र यसको प्रभावकारी कार्यान्वयनमा सरकार चुक्नुहुँदैन ।

उत्पादन भएपछि बजारको समस्या थपिन्छ । मूल्य निर्धारण विचौलियामैत्री छ भने कृषि उपज नै नबिक्ने समस्या पनि छ । किसानले कौडीको मूल्यमा आफ्नो उपज दिंदा पनि समयमै भुक्तानी नपाउने अर्को पीडादायी अभ्यास हाम्रो समाजमा अझै छ ।

जसरी पनि किसान दोहोरो मारमा पर्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ । बिचौलियालाई कृषिजन्य उत्पादन नदिंदा खेतबारीमा कुहिने, नष्ट हुने र लगानी डुब्ने खतरा छ भने भौगोलिक विकटताले कृषिउपज बजारसम्म पुर्याउन कठिन छ । यस्तो अवस्थामा कृषि उपज बिचौलियाको कब्जामा पुग्छ ।

कृषिको व्यवसायीकरणका लागि ठूलो मात्रामा खेतीपाती गर्न आवश्यक छ । यसले कृषि क्षेत्रमा नयाँ उत्साह र जागरण ल्याउन सक्छ । किनकि अबका युवाले नयाँ प्रविधि, माटो, भूगोलको बनावट, रोगव्याधि, विषादि, अर्गानिक उत्पादनसम्बन्धी ज्ञानका साथै गुणस्तरीय र गुणात्मक उत्पादनका विषयमा पनि निपुणता हासिल गर्न जरुरी छ । सरकारले विभिन्न अनुदान, औजार, सहायता र सरल ब्याजमा ऋण समेत दिने कुरा शिक्षित युवाले थाहा पाउनुपर्छ ।

प्रस्तावना पेश गर्दै आफ्ना कुरा स्पष्ट रुपमा राख्दै नयाँ प्रविधिको प्रयोग गरी कम लगानीमा गुणात्मक उत्पादन गरेर अधिकतम मुनाफा हासिल गर्न सक्नुपर्छ । पछिल्लो समय खुलेका केही कृषि फर्महरुले नयाँ सन्देश दिइरहेका छन् । नयाँ उत्साह र आशाको सञ्चार गरिरहेका छन् ।

यो क्रममा बढी उत्पादनको लोभमा जथाभावी मल र विषादिको प्रयोग गर्दा माटोको गुणस्तरमा तीव्र रूपमा ह्रास आइरहेको छ । यसले कृषि क्षेत्रलाई रणनीतिक रुपमै असफल बनाउने जोखिम बढिरहेको छ । यस्तो अभ्यासले दुई-चार वर्ष त उत्पादन बढ्ला तर कालान्तरमा जमिनमा कुनै पनि उत्पादन नहुने अवस्था सिर्जना हुनसक्छ ।

यस्तो अभ्यासलाई रोक्न तीनै तहको सरकारले अर्गानिक उपज उत्पादनमा कृषकलाई प्रोत्साहन गर्नुपर्छ । साथै, केही नीतिगत सुधार पनि गर्नुपर्छ ।

कृषकले समयमा गुणस्तरीय बीज (बिउ) नपाउने, पाए पनि एकदम कम उत्पादन क्षमताको हुनु, उमार क्षमता पनि कम भएको कुनै प्रमाणीकरण नभएको बीज पर्नु जस्ता कारणले किसान प्रताडित छन् । फूल नै नलाग्ने, केही फुले पनि फल नबस्ने समस्या किसानले भोगिरहेका छन् ।

कृषकले समयमा मल पनि पाउन सकेका छैनन् । सिंचाइको समस्या उस्तै छ । यहीबीच पनि विभिन्न प्रकारका प्राकृतिक प्रकोपसँग जुध्नुपर्ने अवस्था छ । बालीनाली बीमाको उचित अभ्यास छैन ।

उत्पादन भएपछि बजारको समस्या थपिन्छ । मूल्य निर्धारण बिचौलियामैत्री छ भने कृषि उपज नै नबिक्ने समस्या पनि छ । किसानले कौडीको मूल्यमा आफ्नो उपज दिंदा पनि समयमै भुक्तानी नपाउने अर्को पीडादायी अभ्यास हाम्रो समाजमा अझै छ । उखु किसानको समस्या त्यसको ज्वलन्त उदाहरण हुनसक्छ ।

हामी कृषकप्रति गौरव, आदर, सम्मानभाव प्रकट गर्न किन हिचकिचाउने परम्परा छ । कृषिलाई तल्लो दर्जाको पेशाको रूपमा चित्रण गरिन्छ । सोचौं त, किसानले उत्पादन नगरिदिएको भए चराचर जगत कस्तो हुन्थ्यो होला ? के हाम्रो अस्तित्व रहन्थ्यो त ? हामीले खाने प्रत्येक गाँसमा किसानको मिहिनेत परेको हुन्छ ।

उसले हामीले सानो नानी स्याहारे जसरी समय समयमा खाना, पानी, नुहाइधुवाइ, सरसफाइ, ओल्ट्याई कोल्ट्याई गरेर हेरविचार नगरेको हुन्थ्यो त तपाईंका हातको खाना तपाईंसँग हुने थिएन । हामी सबै मिलेर कृषि पेशालाई मर्यादित र गौरव गर्ने पेशा बनाउन जरुरी छ । कसैले म कृषकभन्दा नाक खुम्च्याउनुपर्ने अवस्था नहोस् ।

आज कतिपय युवा साथीहरू विदेशको अनुभव खासगरी कोरियामा सुँगुर फार्म, कुखुरा फार्म र इजरायलको कृषि फार्मको अनुभव नेपालमा प्रयोग गर्न चाहन्छन् । तर लगानी, कृषि उपकरण र आवश्यक दक्ष जनशक्तिको अभावमा उनीहरूको अधिकांश सपना अधूरै छ । बजारको समस्या अरु पेचिलो छ । यावत् प्रतिकूलताका बावजुद कृषि पेशामा खट्ने साथीहरूलाई सलाम गर्नुपर्छ ।

(लेखक नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरीमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?