+
+

एमसीसी चाहियो भनेर मैले अमेरिकालाई पत्र लेखेको छैन : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १७:५५

१३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन् ।

शुक्रवार नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसीसीबिरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरुले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताए । ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले शुक्रबार पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताएका थियो ।

नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरु लिएर आउन पनि चुनौति दिए । उनले एमसीसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको भाम जत्तिकै छर्लङ्ग रहेको बताए । नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्‍यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरु चालिएको आरोप लगाए ।

नेता खनालले भने, ‘एमसीसी त्यतिबेला जुन सरकारले सम्झौता गरेको थियो । यो एमसीसी सम्झौता त झलनाथ खनालको प्रधानमन्त्रीको कालमा पो सुरुवात भएको हो । उसले पो चिठि लेखेर यो कामको थालनी गरेको हो भन्ने कही मूर्खहरुले यसरी प्रचारप्रसार गरिरहेका छन् । यो १०० प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो । म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट कुनै न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु । एमसीसी सम्झौता गर्ने कुरामा एउटा कुरा पन अघि बढाएका छैनौँ । त्यो बेलामा हामी त्यो हैसियतमा पनि थिएनौँ ।’

नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिजाउन खोजे त्यो भन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरु कुनै नहुने दाबी गरे । उनले छिमेकी राष्ट्रहरुलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्नस्क्ने बताए । उनले छिमेकी देश चीन र भारतका बिरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गरे ।

नेता खनालले भने, ‘दुई तीन दिनअघि मात्रै युक्रेन भन्ने देश सिंगो देश थियो, तर अहिले विभाजित भएर तीन वटा देशको रुपमा परिणत भएको छ, आक्रमण भइरहेको छ । हामीले अध्ययन गयौं भने युक्रेन रुसको अत्यन्त संवेदनशील छिमेकमा रहेको छ । तर छिमेकमा भएको सरकारले लगातार आफूलाई पश्चिमाहरुसँग सम्बन्ध राख्न खोज्ने नेटोको सदस्य बनाउन माग गर्दै लगातार रुसलाई उत्तेजित बनाउँदै गयो। ’

सम्मानित नेता खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?