+
+

सूर्यविनायक नगरपालिकाले साढे ८ करोडमा बनायो ३७ शय्याको अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १९:३५

१३ फागुन, काठमाडौं । भक्तपुरको सूर्यविनायक अस्पतालले साढे ८ करोड रुपैयाँ लागतमा ३७ शय्याको अस्पताल निर्माण गरेको छ । भक्तपुर इँटा टायल कारखानाको २५ रोपनी जग्गामा फैलिएको अस्पतालको फागुन ७ गते पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । अस्पताललाई नगरपालिकाका जनप्रतिनिधिले आफ्नो कार्यकालमा गरेका ५ महत्वपूर्ण कार्यको सूचीमा समेत राखेका छन् ।

शुक्रबार नगरपालिकाले गरेको विकास निर्माणका कामहरूको अनुगमनको क्रममा स्थानीय जनप्रतिनिधिहरूले अरनिको राजमार्ग छेउमा पर्ने यो अस्पताल नगरवासीको लागि मात्रै नभएर नगरबाहिरका मान्छे समेत लाभान्वित हुने विश्वास व्यक्त गरे । अस्पतालमा भेन्टिलेटरसहित ४ शय्याको आईसीयू, १० शय्याको एचडीयू, १३ साधारण र १० शय्याको आकस्मिक कक्ष रहेको नगरपालिकाका ८ नं वडाका वडाध्यक्ष किरण थापा जानकारी दिए । अस्पतालमा एक्सरे, साधारण शल्यचिकित्सा, औषधी पसल, ओपीडी सेवा उपलब्ध रहेको थापाले जानकारी दिए । अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बीमा सुविधा अन्तर्गतको उपचार गर्ने गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा सञ्चारकर्मीले उत्कृष्ठ ५ वटा आयोजनाको अवलोकन गरेका छन् । अनुगमनका क्रममा नगर अस्पतालका अतिरिक्त वडा नं १० को कार्यालय भवन, सडक, डोलेश्वर मन्दिर र सीपाडोल खानेपानी आयोजनाको अवलोकन गरिएको थियो ।

अवलोकनमा नगरप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडा अध्यक्षहरु किरण थापा, उपेन्द्र केसी, शिवराम राउत र नगरपालिकाका निर्देशक जनक न्यौपानेले विकास योजनाको बारेमा विस्तृत जानकारी दिएका थिए । सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले यो अवधिमा नगरपालिकाले यो क्षेत्रमा रहेको राष्ट्रिय प्राणी उद्यान, चित्तपोलमा झोलुङ्गे पुल, नगरभित्रको शिव सर्किट, हनुमन्ते करिडोर निर्माण लगायत सडक र पुल निर्माणमा महत्वपुर्ण काम सम्पन्न भएको बताइन् ।

नगरपालिकाले नमुना वडा कार्यालयको रुपमा वडा नम्बर १० मा कार्यालय निर्माण गरेको छ । नगरपालिकाका निर्देशक जनक न्यौपानेका सो कार्यालय भवनको लागत १ करोड ६८ लाख रुपैयाँ रहेको छ । साढे ३ तलाको उक्त कार्यालय यही फागुन २१ गते उद्घाटन गर्ने तयारी गरिएको छ । सो कार्यालयबाट अहिले वडाले दिँदै आएका सबै सेवाका साथै वडाबाट भविष्यमा दिने सेवासमेत दिन सकिनेगरी पूर्वाधार तयार गरिएको उनको भनाइ छ ।

केदारनाथको शिरमा नगरपालिकाको योजना

केदारनाथको शिर मानिएको डोलेश्वरमा पनि नगरपालिकाले योजना तयार पारेको छ । वडा नं‌ ८ का वडाध्यक्ष थापाले मन्दिर संरक्षण तथा विकासका लागि नगरपालिकाले गुरुयोजना बनाएर काम अघि बढाएको जानकारी दिए । मन्दिरको निर्माणका लागि हालसम्म ५५ करोड लाग्ने अनुमान गरिएकोमा हालसम्म १२ करोड खर्च भइसकेको थापाले बताए । गुरुयोजनाका लागि संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहलगानी एवं विभिन्न दाताको आर्थिक सहयोग समेत प्राप्त भएको उनको भनाइ छ ।

उता सहकारी मोडलमा सञ्चालन भएको सिपाडोल खानेपानी आयोजनाले समेत नगर क्षेत्रका झन्डै ८ सय घरका लागि दैनिक ३ घण्टादेखि २४ घण्टासम्म पानी आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । यस आयोजना अन्तर्गतका सबै उपभोक्तालाई सहकारीमा अनिवार्य सहभागिता गराएर सहकारीमार्फत् आर्थिक उपार्जनका कामहरु समेत गरिएको छ ।

नगर अस्पतालबाट सुरु भएको उक्त अवलोकन भ्रमण डोलेश्वर मन्दिरमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीयस्तरमा सक्रिय रुपमा कार्यरत ३० जना पत्रकारहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?