+
+

शैलुङ कन्स्ट्रक्सनसँग लाचार सडक विभाग

शैलुङको बदमासीका कारण धेरै विकास आयोजना र त्यससँग जोडिएका स्थानीयहरू ८ वर्षदेखि प्रभावित छन् । ठेक्का लिएर अलपत्र छाड्ने शैलुङको प्रवृत्तिले सबैभन्दा आजित सडक विभाग शैलुङलाई कारवाही गर्न नसक्ने लाचार अवस्थामा छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ फागुन १५ गते १०:३०
बाटो कालोपत्र नभएपछि नगरकोटका स्थानीयले बसमा टाँसेको शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो (फाइल)

१५ फागुन, काठमाडौं । पासाङल्हामु राजमार्गको बालाजु-रानीपौवा खण्डबाट झण्डै डेढ वर्षदेखि गुमनाम सडक विभाग र ठेकदार शैलुङ कन्स्ट्रक्सन इन्जिनियर तथा कामदारहरु गत हप्ता एक्कासी सडकका देखा परे । एक हप्तासम्म काठमाडौंबाट सिसडोलमा फोहोर बोकेर जाने गाडी नै रोकिएपछि उनीहरुलाई सडकमा ग्राभेल गर्न र हेभी मेसिनहरु चलाउन कर नै लाग्यो ।

‘नो रोड, नो भोट’ अर्थात् सडक नबनाए भोट दिन्नौं भन्ने नारासहित तारकेश्वर नगरपालिकाका स्थानीयले ठेकदार कम्पनी शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो समेत सार्वजनिक स्थलमा टाँसेर विरोध गरेका थिए । अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् ।

विस्तारको काम ८ वर्षसम्म अलपत्र छाडिएको भन्दै नेताहरुलाई समेत सडकबाट हिँड्न रोकेपछि सडक विभाग र ठेकदार शैलुङ कन्स्ट्रक्सन कम्पनीलाई सम्वादमा आउन कर नै लाग्यो ।

विभागका अनुसार ३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा कुल ५८ प्रतिशत काम सकिएको छ । विगतमा बनिसकेको भाग पनि मर्मत नगरेपछि भत्किएकाले भौतिक प्रगति झन खस्किएको विभागको अनुमान छ ।

बालाजु-त्रिशूली सडक कालोपत्रे नभएपछि तीनपिप्लेका स्थानीयले बसमा टाँसेको शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटोसहितको कालो ब्यानर

बाँकी काम आगामी चैतसम्म सक्ने आश्वासन दिएर बिहीबारबाट फोहोर बिसर्जनको लागि बाटो खुलाइएको हो । तर, विगतको कार्यशैली हेर्ने हो भने शैलुङले अन्य सडक खण्डमा पनि विरोधपछि गरेका यस्ता प्रतिवद्धता घाममा सुकादिएको प्रशस्तै उदाहरण छन् । यसैले सडक विभागकै अधिकारीहरु शैलुङले चैतसम्म यो काम नसक्ने निश्चित रहेको बताउँछन् ।

शैलुङ कन्स्ट्रक्सन सडक विभागका लागि पप्पु कन्स्ट्रक्सनपछिको सबैभन्दा बढी समस्या सिर्जना गर्ने कम्पनी हो । मेलम्चीको पाइप बिछ्याएपछि तुरुनतै सडक पिच गर्ने ठेक्का शैलुङसँगै छ । आयोजना कार्यान्वयन निर्देशनालयले लगाएको यो ठेक्काअनुसार तुरुन्तै काम गर्न शैलुङले कहिल्यै चासो दिएन ।

अझ विभन्न ठाउँमा निर्माणका सडक भत्कएपछि अलपत्र छाडेर शैलुङ सम्पर्कविहीन हुने गरेको छ । स्थानीयको आन्दोलनले फर्किएपनि प्रतिवद्धता अनुरुप काम गरेको एउटै उदाहरण छैन ।

करिब ८ वर्षअघि ठेक्का लिएको कमलविनायक-नगरकोट सडकमा पनि शैलुङले प्रतिवद्धताअनुसार काम गरेको छैन । २०७७ मा स्थानीयले सार्वजनिक स्थलमा सञ्चालक अधिकारीको फोटो टाँसेपछि तुरुन्तै कालोपत्रे हुने आश्वासन दिएको थियो ।

२८ करोड लागतमा ठेक्का लगाएर विस्तार थालिएको सडक नबनेपछि स्थानीयवासी त्यसपछि पनि पटक-पटक आन्दोलनमा उत्रिए । गत २९ कात्तिकमा सो सडक अनुगमनमा पुग्दा आफ्नो गाडीलाई स्थानीयले सडकमै घेरा हालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले भनेकी थिइन्, ‘दुई महिनाभित्र पिच भइसक्छ ।’ तर ठेकदारले फेरि चैतमसान्तसम्म यो सडकमा काम गर्न थप समय पाइसकेको छ ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल अलपत्र सडकका निर्माणका लागि वातावरण बनाइदिन आग्रह गर्न कात्तिक दोस्रो साता प्रचण्ड निवास पुग्दा तिहारपछि ४५ दिनभित्र काम सकिने आश्वासन पाएका थिए ।

२ असार २०७१ मा ठेक्का लागेको यो आयोजना सुरुको सम्झौताअनुसार ३ असार २०७५ मा सकिनुपर्ने थियो । शैलुङको लापरवाहीका कारण अलपत्र सडकमा अहिले पनि खाल्डैखाल्डा छन् । यो सडक अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयवासी धुलो र हिलोबाट पीडित छन् ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र समयमा सडक नबनेकाले पर्यटक र स्थानीयवासीहरु हिलो र धुलोको पीडा सहन बाध्य भएको बताउँछन् । यसले नगरकोटको पर्यटकीय गतिविधिमा पनि असर परेको उनले बताए । ‘राजनीतिक पहुँच प्रयोग गरेर काम नगर्ने, ठेकाको म्याद मात्र थप्ने क्रम रोकिने देखिएन’, मेयर मिश्र भन्छन्,’यही कारण नगरकोटको पर्यटन व्यवसाय धापमा परिसक्यो ।’

पासाङल्हामु राजमार्गमा आन्दोलन भएपछि शैलुङले नगरकोटको सडकमा काम गरिरहेका मेसिनहरु र यहाँ ल्याउनुपर्ने ग्राभेल तथा निर्माण सामग्री बालाजुतर्फ लगेको छ । यसले अहिले सुस्त गतिमा भइरहेको पनि प्रभावित हुने जोखिम देखिएको छ ।

सुनाकोठीका स्थानीयले शैलुङ विरूद्ध बनाएको नारा

अझ रोचक के छ भने शैलुङले काठमाडौं सडक विस्तार आयोजनालाई बिहीबारबाट ललितपुरको ढोलाहिटी-सुनाकोठी सडक कालोपत्रेका लागि तयारी थालेको जानकारी दिएको छ । यो पनि शैलुङले ८ वर्षअघि ठेक्का लिएर अलपत्र छाडेको सडक खण्ड हो ।

आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार शैलुङले अब यो खण्डमा पनि छिट्टै काम सकाउने प्रतिवद्धता जनाएको छ । ‘हिजोबाट शैलुङले कामको गति बढाएको छ,’ उनले भने,’चैतभित्र यो खण्डको काम सकिन्छ भन्ने अपेक्षा छ ।’ विस्तारका लागि भनेर भत्काइएको सडक वर्षौं अलपत्र छाडेपछि ढोलाहिटीका स्थानीयले पटक-पटक आन्दोलन गर्दै आएका छन् ।

शैलुङको बदमासीका कारण अरु धेरै विकास आयोजनाहरु प्रभावित छन् । ठेक्का लिएर मोबिलाइजेसन रकम बुझेपछि आयोजनाहरु अलपत्र छाड्ने शैलुङको प्रवृत्तिले सबैभन्दा आजित त सडक विभाग नै छ ।

कपन क्षेत्रमा ३ वटा सडकका ठेक्का यही कम्पनीले पाएको छ । समयमै काम नभएर पटक-पटक म्याद थपिसकिएको छ । शैलुङले आकाशेधारा-राममन्दिरसहितका ३ वटा खण्डको ठेक्का लिएर वर्षौदेखि काम अलपत्र पारेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख नारायण निहुरेले जानकारी दिए ।

यो खण्डमा काम नभएपछि सांसद गगन थापा आफैं काठमाडौं सडक डिभिजन कार्यालयमा धर्ना समेत बसेका थिए । स्थानीयहरु पटक-पटक आन्दोलित पनि भएका छन्, तर शैलुङले भने कानमा तेल हालेर बसेको छ ।

अहिलेसम्म निर्माणको काम नसकिएको नागढुंगा-कलंकी सडक खण्डको ठेकदार पनि शैलुङ नै हो । यो खण्ड विस्तार र कालोपत्रे गर्ने काम २०७६ मा नै सकिएपनि मेडियन र ढलको व्यवस्थापनको काम सकिएको छैन । यो सडकखण्ड अझै शैलुङले सडक विभागलाई हस्तान्तरण गरेको छैन ।

अझै पनि शैलुङले यो खण्डमा विभिन्न स्थानमा राम्रो मर्मत सम्भार गरेको छैन । यो सडकखण्ड विस्तारमा भएको ढिलासुस्ती र लापरवाहीले स्थानीयलाई चार वर्षसम्म चरम सकस भएको थियो ।

सडक विस्तार आयोजनाका प्रमुख ओझा सबै काम सकेर शैलुङले छिट्टै यो खण्ड हस्तान्तरण गर्ने बताउँछन् ।

‘सडकको क्यान्सर’

सडक विभागका अधिकारीहरु शैलुङले अलपत्र छाडेका सबै आयोजनाहरु सडकमा लागेको ‘क्यान्सर’ जस्तै बनिसकेको टिप्पणी गर्छन् । शैलुङले प्रायः आयोजनाहरुको लागत अनुमानभन्दा निकै कम मूल्यमा ठेक्का लिने गरेको छ । फटाफटी थप ठेक्का पाए पनि शैलुङले काम भने गर्न सकेको छैन ।

व्यवस्थापकीय क्षमता कमजोर रहेको कम्पनीले राजनीतिक पहुँच-प्रभावका आडमा ठेक्का हत्याउने र म्याद लम्ब्याइरहने गर्दा समस्या झन बढेको छ ।

ठेक्का हत्याएर मोबिलाइजेसन रकम लिएर गुमनाम हुनु शैलुङ शैली भइसकेको छ । उसले ठेक्काहरुबाट लिएको मोबिलाइजेसन रकम अन्यत्र लगानी गर्ने गरेको छ । ‘शैलुङ ग्रुप अफ कम्पनिज’ अन्तरगत चार कम्पनी-शैलुङ कन्स्ट्रक्सन, शैलुङ इन्टरप्राइजेज, शैलुङ इन्भेष्टमेन्ट ग्रुप र शैलुङ पावर कम्पनी छन् ।

निर्माण बाहेकका मालसामान खरिदको ठेक्का पट्टा र ब्यापारसम्ममा शैलुङका सञ्चालक अधिकारीले यीनै कम्पनीमार्फत लगानी गर्छन् । एक व्यवसायको उधारो र तिरोतारो टार्न अर्को कम्पनीको रकम सोझै प्रयोग गर्ने गर्दा शैलुङको व्यवसाय धरापमा परिसकेको अधिकारीका निकटस्थहरु बताउँछन् ।

अधिकारीको एक शैलुङ इन्टरप्राइजेज कम्पनीले गत वर्ष मल आयातको ठेक्का पाएको थियो  । तर, समयमै मल ल्याउन नसकेकोपछि सो आपूर्तिकर्ता कम्पनी कालोसूचीमा छ ।

एउटा ठेक्काबाट मोबिलाइजेसन लिएर अन्यत्र लगानी गर्ने शैलुङको प्रवृत्तिले बढी समस्या गरेको सडक विभागका अधिकारीहरु बताउँछन् । ‘क्षमताभन्दा बढी ठेक्का लिएकाले उसले चाहँदा पनि एकैसाथ सबैतिर काम गर्न सक्दैन,’ विभागका एक अधिकारी भन्छन्,’उसले त्यसरी काम गर्न चाहेको पनि देखिँदैन ।’

दर्जनभन्दा बढी ठेक्का अलपत्र पारेको शैलुङ कन्स्ट्रक्सन भने अहिलेसम्म कालोसूचीका लागि  सिफारिसमा परेको छैन । बरु शैलुङले जति वर्ष काम नगर्दा पनि थप म्याद पाइरहनुले सडक विभागका अधिकारीहरु शैलुङप्रति नतमस्तक रहेको प्रष्ट्याउँछ ।

विभागका एक अधिकारी शैलुङ कन्सट्रक्सन सडक विभागभन्दा बलियो भएकाले ठेक्का तोड्ने आँट कसैले गर्न नसकेको बताउँछन् । ठेक्का तोडेपछि शैलुङलाई कालोसूचीमा राख्न सिफरिस गर्नुपर्ने भएकाले कसैले यसमा कलम चलाउने आँट नगरेको उनको भनाइ छ ।

‘ठेक्का तोडेर कालोसूचीमा राख्न सम्बन्धित आयोजना प्रमुखले आँट गर्नुपर्छ,’ ती अधिकारी भन्छन्,’एक राजनीतिक र प्रशासनिक नेतृत्वबाट ठेक्का नतोड्न दबाब हुन्छ भने अर्कोतर्फ इन्जिनियरले आफ्नो करियर दाउमा राख्नुपर्छ ।’

सडक विभागका महानिर्देशक शिवहरी सापकोटा सरकारले महामारीका कारण सबै आयोजनालाई थप ६ महिना म्याद दिएकाले चैतसम्म काम हेर्ने बताउँछन् । अब ज्यादै लामो समयदेखि रुग्ण बनेका आयोजनाहरुको ठेक्का तोड्ने योजना बनाइएको उनले दावी गरे ।

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरे रुग्ण ठेक्का तोडेर काम अघि बढाउन सकिने भन्दै उनले ठेकदार कम्पनीहरुसँग विभागले गम्भीर छलफल गर्ने बताए । ‘रुग्ण ठेक्काहरुबारे विभाग गम्भीर छ, केही नगरी बस्ने अवस्थामा छैन, कुनै न कुनै एक्सनमा जान्छौं,’ उनले भने ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?