+
+

दुई महिनापछि पोखरा-जोमसोम उडान

रासस रासस
२०७८ फागुन १५ गते १४:४४

१५ फागुन, म्याग्दी । पोखरा-जोमसोम हवाइ उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ ।

हिउँदको प्रतिकूल मौसम र कोरोना (भाइरस) सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा-जोमसोम हवाइ सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । “समिट एयरले शनिबार र आइतबार दुई/दुई वटा चार्टड फलाइट गरेको छ,” उनले भने, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।” पोखरा–जोमसोम हवाइ मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँच वटा उडान भर्दै आएका छन् ।

हवाइ उडान चालु भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिकदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । भारतीय पर्यटक पनि हवाइ मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् ।

हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाइ मार्ग भएर मुस्ताङ पुगी फर्कनका लागि टिकट बुकिङ हुन थालेको छ । स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ ।

अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । घाँसा प्रहरी चौकीका अनुसार दैनिक एक हजार ५०० पर्यटक सडक मार्ग भएर मुस्ताङ भित्रिएका छन् । चौकीका इञ्चार्ज मनबहादुर कार्कीले दैनिक ३०० को हाराहारीमा मोटरसाइकल, स्कार्पियो जीप र बसमा पर्यटक मुस्ताङ भित्रिएका बताए ।

मुक्तिनाथ मन्दिर, कागबेनीलगायत धार्मिक र पर्यटकीयस्थलमा चहलपहल बढेको छ । मुक्तिनाथ मन्दिरका कर्मचारी रवीन सुवेदीले गर्मी बढ्नाका साथै कोरोना सङ्क्रमणदर पनि घटेपछि तीर्थयात्रीको आगमन हुन थालेको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?