
१५ फागुन, काठमाडौं । रुसले बेलारुसमा आफू वार्ता गर्न तयार रहेको तर युक्रेनले नमानेको बताएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलारुसमा आफूहरू वार्ता गर्न तयार रहेको तर युक्रेनले नमानेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै वार्ताका लागि रुसी प्रतिनिधि मण्डल बेलारुस पुगिसकेको पनि बताए । बेलारुसको गोमेलमा युक्रेनसँग वार्ता हुन सक्ने पनि उनको भनाइ थियो ।
तर बेलारुसमा हुने वार्तामा युक्रेन सहभागी हुन नचाहेको पेस्कोभले बताए । बेलारुस पुगेको प्रतिनिधि मण्डलमा विदेश मन्त्रालय र रक्षा मन्त्रालयसहित अन्य निकायका प्रतिनिधि रहेको पनि उनले जानकारी दिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध सुरु नगरेको भए बेलारुसको राजधानीमा वार्ता हुन सक्ने बताइसकेका छन् । रोइटर्स समाचार माध्यमका अनुसार युक्रेनप्रति आक्रामक नदेखिएको अन्य कुनै मुलुकमा भने रुससँग वार्ता गर्न उनी तयार देखिन्छन् ।
बेलारुस रुसको विश्वासिलो मित्र हो । रुसी सेना सोही मुलुक हुँदै राजधानी किएभ प्रवेश गरेका थिए । युक्रेनमा हमला गर्ने क्रममा पुटिनलाई साथ दिएको कारण पनि जेलेन्स्की उक्त मुलुकमा वार्ता गर्न चाहन्न ।
गत बिहीबार पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने घोषणा गरेका थिए । त्यसयता रुसी सेना र युक्रेनी सेनाबीच राजधानी किएभसहित कैयौं स्थानमा भिडन्त सुरु भएको छ । हमला गरेको चौथो दिन रुसी सेनाले युक्रेनका तेल एवं ग्यास केन्द्रलाई निशाना बनाएको छ ।
रुसी सेना युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा प्रवेश गरिसकेको छ भने दक्षिणमा अवस्थित एक शहरमा पुरै कब्जा जमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4