
१६ फागुन, काठमाडौं । फागुन २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आकाशे खेती’लाई लिएर यसका कलाकार उत्साहित छन् । केही दिनअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माणपक्षको छ ।
नेपाली चलचित्र हेर्न दर्शक हलमा फर्किएको अवस्थामा यो चलचित्रले पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्देशक उदय सुब्बाको छ । यो चलचित्रमा गौरव पहारी, विल्सनविक्रम राई, रजनी गुरुङ, बुद्धि तामाङ, नीता ढुंगाना, रविन्द्र झा, शिशिर वाङ्देल, लक्षु शर्मा लगायतका कलाकारको अभिनय छ ।
राज किरातीको एक्सन निर्देशन रहेको चलचित्रमा रामजी लामिछाने र राजीवको कोरियोग्राफी, विक्रम केसीको छायांकन, सुजन बँडालको सम्पादन, विक्रम केसीको छायांकन छ । विल्सनविक्रम राईको पटकथा तथा संवाद रहेको चलचित्रमा केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चिङबाङ, दिलप्रकाश यस्कोको लगानी छ ।
चलचित्र ‘आकाशे खेती’लाई कमेडी, एक्सन र सामाजिक कथामा तयार पारिएको निर्देशक सुब्बाले बताए । उनले भने, ‘हामीले सामाजिक परिवेशमा देखिएको कथालाई नै पर्दामा उतारेका छौं । मिहिनेत नै नगरी पैसा कमाउन चाहने युवाहरुको कथामा यो चलचित्र बनेको छ ।’
कलाकार विल्सनविक्रम राईले आफैं पटकथा तथा संवाद लेखेका कारण पनि यो चलचित्र उनका लागि महत्वपूर्ण छ । चलचित्रको पर्दामा पछिल्लो समय कम देखिएका विल्सन यो चलचित्रको व्यापार राम्रो भएको खण्डमा फेरि व्यस्त हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4