+
+

‘म्यारिज ब्युरो’ : जीवनसाथी जुराइदिने आधुनिक माध्यम

अंगद सिंह अंगद सिंह
२०७८ फागुन १७ गते १२:०३

१६ फागुन, काठमाडौं । एक थान टेबुल, टेबुलको एक छेउमा कम्प्युटर र टेलिफोन छ भने अर्को छेउमा केही थान फाइल राखिएका छन् । पछि हेर्न सजिलो होस् भनेर फाइलमा क्षेत्री, बाहुन लगायत जातजातिको नाम पनि लेखिएको छ ।

यी फाइल अरु कुनै विषयका नभई विवाहका लागि दिइएका निवेदनका थिए । टेबुलमा भएका फाइल पल्टाइरहेका थिए ‘बिहेवारी म्यारिज ब्युरो’का प्रमुख राजेन्द्रप्रसाद पौडेल । एकातिर युवाको फाइल राखिएको छ, अर्कातिर युवतीको । उनी दुवैले माग गरेका र आवश्यकता मिलेको निवेदन सँगै राखिरहेका थिए ।

यत्तिकैमा टेलिफोनमा घण्टी बज्छ ।

युवा : सर म नवलपरासीबाट योगेन्द्र (नाम परिवर्तन) केटी पाइयो ।

पौडेल : कसका लागि हो ।  म हेर्दै छु, बाबु मिल्यो भने खबर गर्छु है ।

युवा : मेरो लागि हो ।  त्यो योगेश र योगेन्द्र भनेको मैं हुँ ।

एक समय थियो जब केटाकेटीले एकअर्कालाई नदेखेरै विवाह गर्दथे । विवाहको सम्पूर्ण जिम्मेवारी परिवार अर्थात् आमाबुबाको काँधमा हुन्थ्यो । विवाहका लागि केटा पक्ष केटीको घर जान्थे, कुरा छिन्थे र बिहे पक्का गर्थे । तर अहिले अवस्था फेरिएको छ ।

पौडेल : ए ए तपाईंलाई डिभोर्स गरेकी महिला चाहिएको है । म खोजिरहेको छु, म तपाईंलाई खबर गर्छु ।

युवा : हुन्छ छिटो गरिदिनुस् ।

फेरि अर्को घण्टी बज्छ फोनमा ।

युवा : हलो नमस्कार । म फलानो । मैले भनेको जस्तो केटी भेटियो ।

पौडेल : हुन्छ बाबु तपाईंले खोजेको जस्तो केटी हेरिसकेको छु, अफिस आउनुस् । केटीलाई पनि अफिस आउनुस् भनेको छु ।

युवा : हुन्छ म भोलि आउँछु भोलि बोलाउनुस् ।

पौडेल : भोलि आउनुस् दुवैले मन पराए कुरा अगाडि बढाउला ।

यी यस्तै कुरा भए बिहेका लागि बिहेवारी म्यारिज ब्युरोमा निवेदन दिएका युवा र सञ्चालक पौडेलबीच ।

एकातिर युवतीका फाइलहरु थिए भने अर्कातिर युवकका । सजिलोका लागि उनले जातअनुसारका फाइल बनाएका छन् ।

जोडी मिलाउन हरेक फोटोकपी गरेका पन्ना पल्टाइरहेका थिए उनी । निवेदनमा उल्लेख गरिएका दुवै पक्षका आवश्यकताहरु मिल्न गए उनीहरुलाई एकअर्कासँग भेटाइन्छ ।

एक समय थियो जब केटाकेटीले एकअर्कालाई नदेखेरै विवाह गर्दथे । विवाहको सम्पूर्ण जिम्मेवारी परिवार अर्थात् आमाबुबाको काँधमा हुन्थ्यो । विवाहका लागि केटा पक्ष केटीको घर जान्थे, कुरा छिन्थे र बिहे पक्का गर्थे । तर अहिले अवस्था फेरिएको छ । पछिल्लो समय नेपालमा बिहेका लागि युवायुवतीले निवेदन नै दिन थालेका छन् । र, निवेदनका आधारमा लमीको काम गरिरहेका छन् म्यारिज ब्युरोले ।

आफूले खोजेजस्तो जीवनसाथी खोज्नका लागि उनीहरु आफू मात्रै निवेदन दिंदैनन् । उनीहरुलाई घरपरिवार आमाबुबाको साथ सहयोग समेत हुन्छ । बिहे गर्ने उमेर भएका युवायुवतीका लागि एकअर्कासँग जोडिने, नजिक हुने र मन मिले बिहेसम्म गर्न सकिने माध्यम बनेको छ, बिहेवारी म्यारिज ब्युरो ।

बिहेवारी म्यारिज ब्युरोमा मात्रै होइन नेपाल विवाह, नेपाल लमी म्यारिज ब्युरो, विडिङ नेपाल, लमी नेपाल र बिहेवारी डटकम नेपालजस्ता साइट विवाहका लागि केटाकेटी खोजिदिने वा बिहेका लागि दुवैलाई एकआपसमा जोड्ने सेतु बनेका छन् ।

म्यारिज ब्युरोमा बिहेका लागि युवायुवती एक्लै मात्रै आउँदैनन् । केही युवायुवती घरपरिवारलाई साथमै लिएर पनि आउने गरेका छन् । उनीहरु घरपरिवारको साथ सहयोगमै ब्युरोमा जीवनसाथी खोज्न आइपुग्छन् ।

‘अहिलेका मानिसलाई आफन्त, इष्टमित्र र छरछिमेक चहारेर केटाकेटी खोज्ने फुर्सद छैन, बिहेवारी म्यारिज ब्युरोका सञ्चालक राजेन्द्रप्रसाद पौडेल भन्छन्, ‘समय, समाज र व्यस्त जीवनशैलीका कारण बिहेका लागि म्यारिज ब्युरोमा आउनेको संख्या बढिरहेको छ ।’

एकथरी समाजले म्यारिज ब्युरोमार्फत बिहे गरेका तथा गर्न आएकाहरुलाई नराम्रो सोच्ने गरेको पौडेल गुनासो गर्छन् ।

‘केटाले केटी वा केटीले केटा नपाएर म्यारिज ब्युरो आएका होइनन्, समय अभाव र आफूले चाहेजस्तो मन, विचार र भावना मिल्ने जीवनसाथी खोज्नका लागि ब्युरो आउने गरेका हुन्,’ उनले भने । विगतको तुलनामा नेपाली समाज खुल्दै गएको भएपनि अझै खुलेर आउन केही वर्ष लाग्ने उनको भनाइ छ । म्यारिज ब्युरोमा केटाकेटी दुवै आउने भएपनि केही मात्रामा केटाको संख्या बढिरहेको बताउँछन् पौडेल ।

यता नेपाल लमी म्यारिज ब्युरोकी सञ्चालिका प्रमिला शाह भने आफ्नोमा महिलाहरु नै बढी आउने बताउँछिन् । ‘आफू महिला भएका कारण पनि महिलाहरु बढी आउने गरेका हुन सक्छन्,’ उनी भन्छिन् ।

ब्युरोमा बिहेका लागि सामान्य मान्छे मात्रै आउँदैनन् । सरकारी जागिर भएका र डाक्टर, चार्टर एकाउन्टेन्ट, इन्जिनियर, शिक्षक–शिक्षिकादेखि राजनीतिज्ञका छोराछोरीसमेत आउने गरेका छन् ।

कसरी जोडिन्छन् म्यारिज ब्युरोमा ?

बिहेका लागि ब्युरोमा निवेदन दिएकाहरु सबैले केही न केही काम गर्ने केटा केटी खोज्ने गरेको पौडेल बताउँछन् । ‘ब्युरोमा आउने केटीहरुले रोजगारी भएको केटा खोज्छन् । बेरोजगारसँग बिहे नै गर्न मान्दैनन्,’ उनी भन्छन् ।

म्यारिज ब्युरोले डिजिटल एप्लिकेसन मार्फत र अफिसमै गएर फारम भर्न सकिने व्यवस्था गरेको छ । बिहेका लागि अनलाइन फारम भरेको एक हजार पाँच सय रुपैयाँ तोकिएको छ भने अफिसमा गई फारम भरेको दुई हजार रुपैयाँ तोकिएको छ ।

पौडेलका अनुसार अनलाइन फारमको म्याद तीन महिनासम्म हुन्छ भने अफलाइन फारमको म्याद बिहे नहुँदासम्म रहिरहन्छ ।

अनलाइन एप्लिकेसन मार्फत फारम भरेको केटाकेटीको तीन महिनासम्म बिहे हुन सकेन भने दोस्रो पटक फारम भर्नुपर्छ जसका लागि पहिले जत्तिकै अतिरिक्त शुल्क लाग्छ । तर अफलाइन फारम भरेकाहरुले भने बिहे नगर्दासम्म पैसा तिर्नु पर्दैन ।

फारममा केटाकेटीले आफूलाई कस्तो जीवनसाथी चाहिएको हो त्यसको विवरण खुलाउनुपर्छ । र, आफ्नो सम्पूर्ण विवरणसमेत पेश गर्नुपर्छ ।

जस्तै नाम, उमेर, पेशा, रोजगार, उचाइ, तौल, आमाबुबाको पेशा, घर, दाजुभाइ, शैक्षिक योग्यता, जीवनसाथीमा चाहिने गुण इत्यादि ।

फारम भरिसकेपछि अफिसले बिहेका लागि केटाकेटीको जोडी मिलाउने काम सुरु गर्छ । उनीहरुले फारममा उल्लेख गरेका कुराहरु मिल्न गए उनीहरुलाई कुरा गर्न लगाइन्छ र भेटाइन्छ  । भेटमा उनीहरुले एकअर्कालाई मन पराए कुरा अगाडि बढ्छ नत्र अर्कोको खोजी गरिन्छ ।

आकर्षक कमाइ 

पौडेलले चार वर्षअघि बिहेवारी म्यारिज ब्युरो दर्ता गराएका थिए । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं नजिक १० हजारमा एक कोठा भाडामा ल्याएर ब्युरो चलाइरहेका छन् ।

त्यस्तै शाहले पानीपोखरीमा मासिक २० हजार तिरेर अफिस चलाइरहेकी छन् । विवाहका लागि ब्युरो आउनेहरुबाटै उनीहरुले अफिस भाडा र आफ्नो खर्च चलाइरहेका छन् । ‘ब्युरोबाटै अफिस खर्च कटाएर मासिक ५० हजारसम्म कमाइ हुन्छ,’ पौडेल भन्छन्, ‘फारम शुल्क र बिहेपछि दुवै पक्षले दिने शुल्कबाट नै व्यवसाय चलेको छ ।’

बिहेवारीले सेवा शुल्कवापत केटा र केटी दुवै पक्षबाट फारम भरेको दुई–दुई हजार र बिहे भएपछि १०–१० हजार रुपैयाँ लिने गरेको छ ।

शाहले फारम शुल्क वापत ५ हजारदेखि १० हजार रुपैयाँसम्म लिने गरेको बताइन् । ‘केटाकेटी दुवैले एकअर्कालाई मन पराए भने उनीहरु खुसीले २० हजारसम्म पनि दिन्छन्,’ उनी भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएकाहरुको निःशुल्क पनि गरिदिने गरेका छौं ।’

बेरोजगारलाई जोडी खोज्न गाह्रो

बिहेका लागि ब्युरोमा निवेदन दिएकाहरु सबैले केही न केही काम गर्ने केटा केटी खोज्ने गरेको पौडेल बताउँछन् । ‘ब्युरोमा आउने केटीहरुले रोजगारी भएको केटा खोज्छन् । बेरोजगारसँग बिहे नै गर्न मान्दैनन्,’ उनी भन्छन् ।

तर बिहेका लागि ब्युरोमा निवेदन दिनेहरुमा बेरोजगार भएकाहरु पनि उत्तिकै हुन्छन् । बेरोजगार केटाकेटीले रोजगार छु, केहीमा काम गर्छु भने पनि ब्युरो र केटाकेटी दुवै पक्षले प्रमाणित गर्नका लागि अफिसको कार्ड वा डे«सको फोटोसमेत माग्ने गरेका छन् ।

‘बेरोजगारहरुसँग बिहे गर्न जो कोही हिच्किचाउँछन्,’ शाह भन्छिन्, ‘केटाको तुलनामा केटीहरुले बढी रोजगारीलाई महत्व दिन्छन् ।’

केटाले ‘लुक्स’ र केटीले जागिर हेर्छन्

ब्युरोमा आउने अधिकांश पुरुषहरुले केटीमा सुन्दरता खोज्ने गरेको शाहको अनुभव छ । पुरुषले  महिलाको सुन्दरता हेर्छन् भने महिलाले जागिरलाई प्राथमिकता दिने गरेका छन् ।

यसका साथै कूल खान्दान, घरपरिवार, चरित्र र संस्कार पनि हेर्ने गरेको पौडेल बताउँछन् । विवाहका लागि सुन्दरताले निकै महत्व राख्दो रहेछ । कुनै सुन्दर युवती र ह्याण्ड्सम युवा आए भने उनीहरुको बिहे छिट्टै हुन्छ ।

केटाहरुलाई लुक्स भए अरु नहेर्ने र केटीहरुले रोजगारी तथा विश्वासिलो आधार खोज्ने गरेको ब्युरो सञ्चालकहरु बताउँछन् ।

सरकारी जागिरेदेखि डाक्टर-इन्जिनियरसम्म

म्यारिज ब्युरोमा बेरोजगार र सामान्य काम गरी गुजारा गर्नेहरु मात्रै आउँदैनन् । त्यहाँ सरकारी जागिर गर्नेदेखि सुरक्षा निकायमा काम गर्ने र राजनीतिज्ञ लगायत हाई प्रोफाइलका छोराछोरीसमेत आउने गरेको शाहले बताइन् ।

कतिपय हाइप्रोफाइलका छोराछोरीको नाम भने गोप्य राखिन्छ उनीहरुकै आग्रहमा । नेपालीहरुले मात्रै नभई विदेशीले समेत नेपाली केटी खोज्ने गरेको शाहले बताइन् । तर विदेशी केटालाई नेपाली केटी भने उनीहरुले भेट्टाएका छैनन् । नेपाली महिलाको सुरक्षालाई मध्यनजर गर्दै विदेशी पुरुषका लागि युवती नभेटाइदिएको उनी बताउँछिन् ।

ब्युरो आउनेहरुले बिहे गर्ने केटाकेटी नपाएका होइनन्, उनीहरु समय अभाव र जिन्दगी बिताउन सहज हुने जीवनसाथी खोज्न आएको उनको भनाइ छ ।

म्यारिज ब्युरोमा बिहेवारी सम्बन्धी बुझ्न तथा फारम भर्नेहरु गरी दैनिक करिब २५–३० जनासम्म आउने गरेका छन् । बिहेवारी म्यारिज ब्युरोले अहिलेसम्म दुई सय बढी र नेपाल लमीले २० जनाको विवाह गराइसकेको छ ।

नेपालभित्रै रहेका केटाकेटीले मात्रै नभई अमेरिका, अस्टे«लिया, भारतलगायत देशमा रहेका युवायुवती पनि बिहेका लागि ब्युरो धाउने गरेका छन् ।

ब्युरोमा निवेदन दिएपछि कसैले ढाँटेको छलेको वा फारममा उल्लेख भएका कुराबारे बुझ्न ब्युरो सञ्चालकहरु केटाकेटी वा आमाबुबाको आग्रहमा घरमै समेत जाने गरेका छन् । फारममा उल्लेख गरिएका कुराहरु रहे नरहेको विषयमा थाहा पाउनका लागि नागरिकता र लालपुर्जाको पोटोकपी समेत माग्ने गरिएको छ ।

समाजशास्त्री डा. टिकाराम गौतम म्यारिज ब्युरोले पहिले लमीले गर्ने काम गरिरहेको भन्दै मानिस उत्पादन र पुँजीवादसँग जोडिएका कारण घरपरिवार आफन्तबाट टाढा भएकाले उसले म्यारिज ब्युरो खोज्ने गरेको बताउँछन् ।

‘आधुनिकतासँगै मानिसको कमजोर पारिवारिक सम्बन्ध र पातलिंदै गएको भेटघाटका कारण म्यारिज ब्युरोजस्ता संयन्त्रको जन्म भएको हो,’ डा. गौतम भन्छन्, ‘मान्छेले बायोडाटा गलत पनि दिन सक्छन् बायोडाटाकै भरमा विवाह गर्नाले सम्बन्ध दिगो हुन्छ भन्न सकिंदैन ।’

विवाहका लागि बुझाएको दुवै पक्षको पृष्ठभूमि, घरपरिवार, बानी–व्यहोरा नबुझेर बायोडाटाकै भरमा बिहे गर्दा दुई जनालाई मात्रै नभई पूरै परिवारलाई समेत समस्या हुन सक्ने उनको भनाइ छ ।

मानवशास्त्री डा. डम्बर चेम्जोङ सामाजिक विकासको परिवर्तन स्वरुप म्यारिज ब्युरोको स्थापना भएको भन्दै यसलाई समाज परिवर्तनको बृहत्तर रुप मान्नुपर्ने बताउँछन् । ‘समाज परिवर्तनको नयाँ पाटो स्वरुप म्यारिज ब्युरोको स्थापना भएको हो,’ उनी भन्छन्, ‘ब्युरोले व्यावसायका साथै दलालको काम गरिरहेको छ ।’

म्यारिज ब्युरो स्थापनालाई उनी सहरीकरणको प्रभाव र अहिलेको समाज परम्परागत समाज भन्दा अलि पृथक अभ्यासतर्फ उन्मुख भइरहेको बताउँछन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?