+
+
‘ओस्कार अवार्ड-२०२२’ प्रक्षेपण :

यस वर्षको ओस्कारमा कसले मार्ला बाजी ?

विष्णु शर्मा विष्णु शर्मा
२०७८ फागुन १७ गते १८:३२
ओस्कार अवार्डमा मनोनयनमा परेका फिल्म

१७ फागुन, काठमाडौं । ओस्कार अवार्ड जहाजको यस्तो कम्पास हो, जसले विश्व फिल्म कता जाँदैछ भन्ने स्पष्ट संकेत दिन्छ । विश्व फिल्मको दिशा र प्रवृत्ति बुझ्न फिल्म पण्डित ओस्कारलाई महत्त्वपूर्ण सूचक मान्छन् ।

नेपालले यसपटक भाग त लिएको छैन, तर दक्षिण एसियाली मुलुक भुटानकै सहभागिताबाट चित्त बुझाउनुपर्ने परिस्थिति छ । भुटानको ‘लुनानाः अ याक इन द क्लासरुम’ अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित छ ।

आवेदन मागेर पनि ओस्कारमा सिफारिसको लागि एउटा फिल्म पनि योग्य नहुनु नेपालको लागि दुःखान्त बन्यो । सन् १९९९ को फ्रान्सेली निर्देशक एरिक भ्याली निर्देशित ‘हिमालयः क्याराभान’ विदेशी भाषाको फिल्मतर्फ छानिएयता कुनै पनि नेपाली फिल्मले त्यो इतिहासलाई दोहोर्‍याउन सकेका छैनन् ।

विश्लेषक यस वर्षको ओस्कारलाई ‘इन्द्रेणी’ मनोनयनको रुपमा व्याख्या गरिरहेका छन् । बक्स अफिस ब्लकबस्टरदेखि, इन्डाई, समीक्षकले रुचाएका, नेटफिल्क्सजस्ता स्ट्रिमिङ जायन्टसम्मका फिल्म प्रतिस्पर्धामा छन् । नेटफिल्क्स फिल्म ‘द पावर अफ दी डग’ले त सर्वाधिक १२ विधामा मनोनित हुँदै कीर्तिमान समेत राखेको छ ।

कोरोना महामारीयता ओस्कारले स्ट्रिमिङ फिल्मलाई समेत प्रतिस्पर्धामा राखेपछि प्रतिस्पर्धाको प्रवृत्ति बदलिएको छ । त्यसयता नेटफ्ल्क्सिले दबदबा बढाउँदै लगेको छ । यस्तोमा फिल्म पण्डितहरु बेनेडिक्ट कम्बरब्याच स्टारर ‘द पावर अफ दी डग’लाई सम्भावित उत्कृष्ट फिल्मको रुपमा प्रक्षेपण गरिरहेका छन् ।

के ‘पावर अफ डग’लाई बेलफास्ट, कोडा, डन्ट लुक अप, लिकोराइस पिज्जा, ड्युन, नाइटमेयर एली, वेस्ट साइड स्टोरीजस्ता अरु चर्चित नौ फिल्मले माथ गर्लान् ? संसारका सबैजसो क्रिटिक्सले रुचाएको ‘द पावर अफ दी डग’ कस्तो फिल्म हो त ? भेनिसमा सिल्भर लाइन अवार्ड जितेका जेन क्याम्पियन निर्देशित यो फिल्मले प्रेमभित्र हुने निर्ममता, यौनिकता र इर्ष्याको कथा भन्छ ।

थोमस साभेज लिखित सन् १९७७ मा प्रकाशित उपन्यासमाथि आधारित यो फिल्मले दाजुभाइको सम्बन्धमा महिलाको प्रवेशले सिर्जना गरेको द्वन्द्व र जटिलताको कथा पेश गर्छ । भाइ जर्ज बरब्यांक (जेसी प्लेमोन्स) एक विधवा रोजी (क्रिस्टन डनसेट)को प्रेममा परेपछि दाजु फिल (बेनेडिक्ट कम्बरब्याच)सँगको सम्बन्धमा आउने उतारचढाव यसको कथावस्तु हो ।

उक्त उपन्यासमा वर्णित दुई कुकुरको झगडाबाट प्रभावित भएर बनाइएको यो फिल्मले पनि दाजुभाइलाई विम्बपरक ढंगमा प्रस्तुत गरेको छ । क्रिटिक्सले यो फिल्मको अभिनय, कथावाचन शैली, संवेदनाको गहिराइ र क्राफ्टलाई प्रशंसा गरेका छन् । फिल्म र निर्देशकसहितका १२ विधामा छानिएको यो फिल्मले यसअघि गोल्डेन ग्लोब्समा सात र क्रिटिक्स च्वाइसमा दश विधामा मनोनयन प्राप्त गरेको छ ।

तर सबै कुरा मतदाताको मनस्थितिमा निर्भर हुनेछ । ओस्कारका मतदाता यति मुडी पनि हुन्छन् जसले समलैंगिक बिहेमा आधारित फिल्म ‘ब्रोकब्याक माउन्टेन’लाई हेर्न अस्वीकार गर्दै ‘द क्र्यास’लाई कुनैबेला स्थान दिएका थिए । तर सन् २०२२ को हलिउडमा ब्यापक परिवर्तन आएको छ । स्वयं अमेरिका पनि अश्वेत आन्दोलन र समलैंगिक विवाहजस्ता मुद्दालाई लिएर भइरहेका सडक आन्दोलनबाट गुज्रिएको छ भने यी मुद्दाप्रति उदार जो बाइडेन अहिले सत्तामा छन् ।

उत्कृष्ट फिल्म विधामा पावर अफ दी डगलाई चुनौती दिने अर्को फिल्मको रुपमा समीक्षकले ‘लिकोराइस पिज्जा’लाई प्रस्तुत गरेका छन् । सन् १९७० को दशकताका दक्षिण क्यालिफोर्नियाका एक युवक र युवती साहसिक यात्राको क्रममा प्रेममा परेपछि सिर्जना हुने द्वन्द्व यसको कथावस्तु हो । ११ पटक ओस्कारमा मनोनित भएपनि अवार्ड नजितेका पल थोमस एन्डर्सनको लागि यो फिल्म भाग्यमानी पनि ठहरिन सक्छ । विश्लेषक यो फिल्मको सम्भावित जित हुनसक्नेमा आशावादी पनि देखिएका छन्, तर ओस्कारमा ठ्याक्कै यही भन्ने चाहिं हुँदैन ।

यसपटक पाँचपटक मनोनित भएर पनि नजितेका केनेथ ब्रागन निर्देशित ‘बेलफास्ट’लाई अस्वीकार गर्न पनि ओस्कारलाई चुनौतीपूर्ण हुनसक्छ । संगीत अध्ययनमा रुचि भएकी युवती र बहिरा प्रेमीबीचको अन्तद्वन्द्वमा आधारित फिल्म ‘कोडा’ पनि जबर्जस्त फिल्म हो, जसले सनडान्स फेस्टिभलमा उत्कृष्ट पुरस्कारहरु जितेको थियो ।

पछिल्लो समय विश्वकै लागि चुनौतीपूर्ण बनिरहेको जलवायु संकटमा आधारित व्यंग्यात्मक फिल्म ‘डन्ट लुक अप’लाई पनि क्रिटिक्सले ओस्कार जित्न सक्ने फिल्मको रुपमा व्याख्या गरिरहेका छन् । वैज्ञानिक बनेका लियोनार्दो डिकाप्रियो र जेनिफर लरेन्सको दमदार अभिनय र स्टारडमले पनि ओस्कारका मतदातालाई प्रभावित तुल्याउन सक्ने अनुमान गरिएको छ ।

यदि ‘प्यारासाइट’लाई गैरअंग्रेजी फिल्मले पनि ओस्कार जित्न सक्छ भन्ने मानक मान्ने हो भने रुसुकी हामागुची निर्देशित ‘ड्राइभ माई कार’ अर्को सशक्त दाबेदार हो । पछिल्लो समय ओस्कार मतदाताको संख्यामा भएको वृद्धि र समावेशिताको प्रभाव विदेशीभाषी फिल्मतर्फ देखिएको छ । प्यारासाइटले ओस्कार जितेपछि ओस्कारमा एसियाली फिल्म र निर्देशकको पनि दबदबा सुरु भएको थियो । यदि उत्कृष्ट फिल्म विधामा यसले नजिते अन्तर्राष्ट्रिय फिचर विधातर्फ जित्न सक्ने आंकलन गरिएको छ ।

ड्युन, किङ रिचर्ड, नाइटमेयर एली, बेस्ट साइड स्टोरी उत्कृष्ट फिल्म विधामा मनोनित भएका त छन्, तर यी फिल्मले अवार्ड होइन, मन मात्र जित्न सक्छन् । डेनिस भिलेनिभ निर्देशित ड्युनले छायांकन र ध्वनिजस्ता प्राविधिक विधामा ट्रफी उचाल्न सक्ने अनुमान गरिएको छ । प्रविधिगत विधामा सोनी र मार्भलको सहकार्य फिल्म ‘स्पाइडरम्यानः नो वे होम’ अर्को दाबेदार हो ।

अन्य विधामा कुन-कुन दाबेदार ?

ओस्कार अवार्डको मनोनयनमा परेका कलाकारहरु

राजकुमारी डायनाको चरित्र चित्रण गरेकी अभिनेत्री क्रिस्टिन स्टेवार्टले ‘स्पेन्सर’बाट उत्कृष्ट अभिनेत्रीको ट्रफी उचाल्न सक्ने प्रक्षेपण छ । स्टेवार्टको अभिनयलाई हलिउडमा जीवन्त मानिन्छ । तर निर्देशक पाब्लो नेरनले फिल्म ‘ज्याकी’मा नाटाली पोर्टम्यानले गरेको अभिनयलाई नै स्टेवार्टमार्फत दोहोर्‍याएको भन्दै कतिपयले आलोचना पनि गरिरहेका छन् । यो आलोचना स्टेवार्टको जितमा चुनौती बनेको छ । यद्यपि, हलिउड पण्डितहरु उनको जितमा आशावादी छन् ।

‘किङ रिचर्ड’बाट विल स्मिथले उत्कृष्ट अभिनेताको ट्रफी उचाल्न सक्ने अनुमान गरिएको छ । विश्व टेनिसमा दुई दशकसम्म राज गरेका आफ्ना दुई छोरीहरु भेसन र सेरेनाका पिता रिचर्ड विलियम्सबाट प्रभावित यो फिल्ममा स्मिथले रिचर्डको भूमिका निर्वाह गरेका छन् । यो विधामा पावर अफ दी डगबाट बेनेडिक्ट कम्बरब्याच, बेइङ द रिकार्डोसबाट जेभियर बार्डेम, टिक टिक बुमबाट एन्ड्रिउ गारफिल्ड, ट्रयाजेडी अफ म्याकबेथबाट डेन्जेल वासिङ्टन अन्य दाबेदार हुन् ।

मुख्य विधाबाहेक नेपालसहित एसियाको मुख्य ध्यान अन्तर्राष्ट्रिय फिचर विधातर्फ केन्द्रित हुने गरेको छ । यो विधामा जापानको ‘ड्राइभ माइ कार’लाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ । यसबाहेक डेनमार्कको फ्लिी, इटालीको द ह्यान्ड अफ गड, भुटानको लुनानाः अ याक इन द क्लासरुम र नर्वेको द वर्स्ट पर्सन इन द वल्र्ड पनि बलिया प्रतिस्पर्धी हुन् । यसपटक यो विधामा एसिया प्रभावशाली हुने आँकलन गरिएको छ ।

नेपालको लागि सन्देश के ?

भुटानी फिल्म ‘लुनानाः अ याक इन द क्लासरुम’को एक दृश्यमा बालकलाकार

आफ्नै दृश्यभाषा र सिनेम्याटिक पहिचान बनाउन संघर्ष गरिरहेको भुटानी मनोनयन नेपाललाई जति उत्साहप्रद समाचार हो उति नै चुनौती पनि । पाओ च्योनिङ दोर्जी निर्देशित ‘लुनानाः अ याक इन द क्लासरुम’को ओस्कार मनोनयनले नेपालसहितका दक्षिण एसियाली मुलुकलाई खुसीको सञ्चार दिलाएको छ । लार्जर द्यान लाइफ विषयवस्तुमा फिल्म बनाउन होड गरिरहेका मुलुकलाई मौलिकता, कथ्य र कन्टेन्ट प्रधान हो भन्ने सन्देश भुटानको ओस्कार मनोनयनले दिएको छ ।

राजधानी थिम्पुमा हजुरआमासँग बस्दै संगीतमा भविष्य खोजिरहेको एक उदयीमान गायकले अष्ट्रेलियाली भिसा पाउन गर्नुपरेको संघर्षलाई फिल्मले चित्रण गर्छ । नेपाल चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा भुटानको ओस्कार मनोनयनले नेपालको लागि अर्थ राख्ने बताउँछन् । ‘भुटानभन्दा नेपाल ठूलो फिल्म बजार हो । नेपाल उदार समाज हो र अभिव्यक्ति स्वतन्त्रता पनि भुटानभन्दा राम्रो छ । यसले गर्दा नेपाली फिल्ममेकरले च्यालेन्ज महसुस गर्नुपर्ने हो,’ उनी भन्छन् ।

कला निजत्व अभिव्यक्त गर्ने माध्यम भएकाले भुटानी मनोनयनमा उत्साही हुनुपर्ने कारण नरहेको उनको तर्क छ । ‘भुटान माथि गयो र नेपालले केही गरेन भनेर च्यालेन्ज महसुस गर्नुपर्ने हो,’ उनी भन्छन्, ‘हामीले यो कुरालाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने जरुरी छ ।’

आगामी मार्च २८ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्ड समारोह भौतिक रुपमा आयोजना हुने तयारी भइरहेको छ । लगातार दुई वर्ष भर्चुअल माध्यममा खुम्चिएको ओस्कार यसपटक चाहिं कोभिड मापदण्ड पालनासहित खोप लगाएका पाहुनालाई प्रवेश गराएर भौतिक रुपमै सम्पन्न हुने जनाइएको छ ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?