+
+

लोप भए टुकी-दियालो, देखिन छाडे आरन

रासस रासस
२०७८ फागुन १८ गते १६:४७
फाइल तस्वीर

१८ फागुन, गलेश्वर । पूर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । म्याग्दीका गाउँगाउँमा तीव्र गतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएका छन् ।

डेढ दशकअघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन् । आयातित कृषि औजारको प्रयोग गर्ने चलन सुरु भएपछि परम्परागत कृषि औजार निर्माण गरिने आरन पेसा हराउँदै गएको हो ।

जिल्लाका ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत् पुगिनसके पनि भनेको बेलामा मट्टितेल नपाइने र पहिलेजस्तो सल्लाको रुखबाट दियालोसमेत निकाल्न नपाइने भएकाले अँध्यारोमा टुकी र दियालो बाल्ने परम्परा लोप हुन लागेका हुन् ।

‘गाउँगाउँमा पुगेको विकासका कारण जिल्लाको ग्रामीण क्षेत्रका सर्वसाधारण हिजोआज टुकी र दियालोको साटो उज्यालोका लागि सोलार प्यानल प्रयोग गर्छन्,’ धवलागिरि गाउँपालिका–७ का प्रकाश सुवेदीले भने, ‘एकपटक सोलार जडान गरेपछि अन्य कुनै खर्च नलाग्ने, आफूलाई चाहिएको समयमा तत्काल बाल्न सकिने र धेरै समयसम्म टिकाउसमेत हुने भएकाले यसतर्फ आकर्षण बढेर गएको हो ।’ पुस्तौंदेखि टुकी र दियालो बालेर गुजारा गर्दै आएपनि पछिल्लो समयमा भएको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको विकासले यी लोप भएको उनी बताउँछन् ।

८ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्ने विभिन्न क्षमताका सोलार प्यानलबाट न्यूनतम ३ देखि अधिकतम १० वटासम्म बत्ती बल्नुका साथै घरमा भएका रेडियो र टेलिभिजनसमेत चलाउन सकिने भएपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा नपुगेका म्याग्दीका दुर्गम गाउँमा समेत टुकी र दियालो छोडेर स्थानीयवासीले सोलार प्रयोग गर्न थालेको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुर्जाले बताए ।

सोलार जडान गरेपछि राति छोराछोरीलाई पढ्न र आफूलाई टेलिभिजन हेर्नसमेत सजिलो भएको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीकी हिमाली छन्त्यालले बताइन् । गाउँले वैकल्पिक ऊर्जातर्फ आकर्षित भएपछि जिल्लाका कतिपय सामुदायिक वन उपभोक्ता समूहले आम्दानीको निश्चित प्रतिशत रकम उपभोक्ताको घरमा सोलार जडान गर्नका लागि खर्च गर्ने गरेका छन् ।

हराउँदै आरन पेसा

आधुनिकताको प्रभावले म्याग्दीमा आरन पेसा पनि लोप हुँदै गएको छ । विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको तीन वर्षअघि सो पेसा छोडेर ज्याला मजदुरीको काम गर्न थालेका मालिका गाउँपालिका– ३ का श्यामबहादुर विश्वकर्माले बताए । अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाले यो पेसालाई छाड्दै गएको उनको भनाइ छ ।

‘युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन् । दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ,’ उनले भने, ‘गाउँमा म मात्र यो पेसा एक्लै धान्दै आएको थिएँ । दिनरात काम गरेपनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन ।’ तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग नभएकाले पेसा नै परिवर्तन गर्नुपरेको उनले गुनासो गरे ।

नयाँ पुस्ताले यस्तो पेसा छाड्दै गएका कारण आरन हराउँदै गएको स्थानीयवासी तोरणलाल विकले बताए । राज्यले अरु पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उनको भनाइ छ ।

एक पाथी अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेकोनले बताए । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भएपनि आरन पेसामा भने परिवर्तन हुन नसकेको विश्वकर्माले बताए । आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेसा ओझेलमा पर्न थालेको देखिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?