+
+

ग्याल्पो ल्होछारले राष्ट्रिय एकतालाई मजबुत बनाउने उपराष्ट्रपतिको विश्वास   

रासस रासस
२०७८ फागुन १९ गते ७:११

१९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।

महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होछार–२१४९ का अवसरमा आज शुभकामना दिँदै उहाँले ग्याल्पो ल्होछारले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले ग्याल्पो ल्होछार आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा रहेको बताए ।

ग्याल्पो ल्होछारका अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहेका महायानी बौद्ध धर्मावलम्बी तथा सम्पूर्ण शेर्पा दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष देश भएको उल्लेख गर्दै उपराष्ट्रपतिले यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व नेपालका गौरवका रूपमा रहेको बताएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देश निर्वाचनमा प्रवेश गरेको भन्दै उनले ग्याल्पो ल्होछारले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैलाई प्रेरित गरोस् भनी कामना गरेका छन् ।

ग्याल्पो ल्होछारमा शुद्ध पानी चढाई देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने र आपसमा शुभकामना आदानप्रदान गरेर मनाइने प्रचलन छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?