+
+

साइकल सिकेर आत्मविश्वास बढाउँदै महिला

नुनुता राई नुनुता राई
२०७८ फागुन १९ गते १८:०७

१९ फागुन, ललितपुर । जाउलाखेल खेल मैदान नजिकैको पार्कमा हिजोआज विहानैदेखि महिलाहरु भेला हुन्छन् । उनीहरु कोही साइकल चलाइरहेका हुन्छन्, कोही जुम्बा नाचिरहेका हुन्छन् ।

ललितपुर महालक्ष्मी चोककी ५१ वर्षीया नमिता थापा साइकल चलाउन सिक्दैछिन् । तीन दिन सिकेपछि उनी अलिअलि जान्ने भएकी छन् । आफूसरहका साथीहरु स्कुटर चलाएर अफिस गएको देखेपछि उनलाई पनि साइकल चलाउन मन लाग्यो ।

‘घरमा साइकल छ, चलाउन खोज्दा के गर्नुभएको ? लड्नुहुन्छ, सक्नुहुन्न भन्छन् । यहाँ आउँदा म्यामहरुले तपाईं सक्नुहुन्छ भनेर हौसला दिनुहुन्छ’ नमिता भन्छिन् ।

यहाँ अरुले साइकल चलाएको देखेर उनमा पनि आत्मविश्वास जागेको छ । ‘बाहिर चाहिं निस्कनुपर्ने रहेछ । घरैमा, वरपर मात्रै बस्ने हो भने साँच्चै पछि परिने रहेछ’ नमिता भन्छिन् ।

जाउलाखेल शान्तीचोककी ६० वर्षीय सुमित्रा श्रेष्ठले पनि साइकल चलाउन थालेको दुई दिन भयो । नजिकै योग गर्न आउँदा अरुले साइकल चलाएको देखेपछि बुधबारदेखि उनी पनि मिसिइन् । ‘कहिल्यै नछोएको साइकल दुई दिनमा अलि अलि पाइडल चलाउन जान्ने भएँ । म्यामहरुले सक्नुहुन्छ भन्नुहुन्छ सक्छु होला’ हँसिलो मुद्रामा सुमित्राले भनिन् ।

जाउलाखेल खेलमैदान नजिकै रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा लाग्ने स्थानमा साइकल सिकाउन थालेको बिहीबार १२ दिन भयो । यहाँ हरेक दिन ५ देखि ७ बजेसम्म साइकल र जुम्बा नाच सिकाइन्छ ।

साइकल सिक्न आउने महिलाको संख्या बढ्दै छ । साइकल सिकाउने यो अभियानको अगुवाइ ललितपुर महानगरपालिकाकी महिला विकास महाशाखा प्रमुख महेश्वरी विष्टले गरेकी छन् । साइकल सिटीका अभियन्ताहरुले यहाँ चाहिने साइकल दिएका छन् ।

पछिल्लो दुई वर्ष कोरोना महामारीले धेरै नेपाली प्रभावित भए । महामारीको जोखिम कम भएपछि मानिसहरु घरबाहिर निस्के पनि धेरै महिलाहरु घरबाहिर निस्कन सकेका छैनन् ।

यस्ता धेरै महिलाले भर्चुअल कुराकानीको क्रममा भौतिक रुपमा भेट्न इच्छा गरेपछि साइकल सिकाउने उपाय रोजिएको विष्ट बताउँछिन् ।

‘सशक्तिकरण घरमा बसेर हुने कुरा होइन, चलायमान हुनुपर्छ घर बाहिर निस्कन जरुरी छ । घर बाहिर निस्कनको लागि साइकल सिक्ने/सिकाउने माध्यम रोज्नुभयो । त्यसैले सुरु गरेका हौं’ उनले भनिन् ।

विष्टको अगुवाइमा सात महिनाअघि पनि यहाँ साइकल चलाउन सिकाइएको थियो । तर कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएको यो काम ८ फागुनदेखि पुनः सुरु भएको हो ।

सिक्न आउने महिलाको तुलनामा साइकलको संख्या कम भएपछि जुम्बा नाच पनि सुरु गरिएको छ । त्यसबाहेक घरेलु हिंसासम्बन्धी विषय, उद्यमशीलता, एक अर्कामा सहयोग आदान प्रदानको विषयमा छलफल हुने विष्ट बताउँछिन् ।

कुनै काम गर्न र हिंसाविरुद्ध आवाज उठाउन आत्मविश्वास चाहिने भन्दै उनी यस्ता कार्यक्रमले महिलाको हिम्मत बढाउने धारणा राख्छिन् । ‘कहिल्यै साइकल नछोएका गृहिणी, कामकाजी महिलाहरु यहाँ आउनुहुन्छ ।

साइकल चलाउन जान्ने हुनुभएको छ । कुनै पनि कुरा जान्नु भनेको सशक्तिकरणको एउटा स्टेप हो । त्यसको प्रभाव कति हुन्छ भन्ने उहाँहरुले दिने प्रतिक्रियाबाटै थाहा हुन्छ’ उनी भन्छिन् ।

घरमा साइकल, स्कुटर, गाडी भएका तर ती साधन चलाउन नजान्ने महिलाहरु यहाँ आएका छन् । ग्वार्कोकी रश्मी श्रेष्ठ पनि साइकल सिक्न आउने गरेकी छन् । ‘यहाँ आएपछि साइकल मात्रै होइन जुम्बा पनि हुन्छ । सबै जना रमाइलो हुनुहुन्छ । शरीर नै फुर्तिलो हुन्छ’ उनले भनिन् ।

बंगलामुखीकी उर्मिला सापकोटा शाक्यलाई यहाँ सिकेर सडकमा साइकल कुदाउने इच्छा छ । ‘अलिअलि सिकिरहेकी छु । कहिल्यै नछाएकोलाई सहज त नहुने रहेछ तर सिक्छु म’ साइकल चलाउन सिकेर छोड्नेमा दृढ सुनिन्छिन् ।

दुई पांग्रे भनेपछि डराउने रबिता श्रेष्ठ अहिले साइकल लिएर पाटन घुम्न जान सक्ने भएकी छिन् । बिहानको दुई घन्टा समय छुट्याउँदा ज्यानमा फुर्ति आएको उनी बताउँछिन् । ‘बिहान त्यसै खेर गइरहेको समयमा साइकल सिकेँ । त्यसले मेरो दैनिकी नै परिवर्तन भएको छ । ज्यानमा छुट्टै फुर्ति आएको छ ।’

मंगलबजार लोंलकी जमुना नौ दिनदेखि साइकल चलाइरहेकी छिन् । घरमा उनले साइकल सिकेको सुनाएकी छैनन् । राम्रोसँग जान्ने भएपछि साइकल किनेर घरै लैजाने उनको इच्छा छ । ‘जान्ने भएपछि साइकल चलाउँदै घर गएर सरप्राइज दिने सोँच छ’ उनले भनिन् । जमुनालाई साइकल चलाएर काठमाडौं उपत्यका घुम्ने रहर छ ।

महिलाहरुले साइकल सिकेको भिडियो, उनीहरुका अनुभव ललितपुर महानगरपालिका महिला विकास महाशाखाकी महेश्वरी विष्टले सामाजिक सञ्जाल फेसबुकमा राख्छिन् । फेसबुकमा यस्ता भिडियो देखेर सिक्न आउनेहरु पनि छन् ।

यो समूहले मार्च ८ मा १२२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुरमा साइकल र्‍याली निकाल्ने तयारी गरेको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?