+
+

पीडितका पक्षमा बोल्नुपर्ने निकाय मौन

एमालेको भगिनी संगठन अनेमसंघकी संयोजक थापा भन्छिन्, ‘अहिले हामी मार्च ८ को तयारीमा भएकाले जति दबाव दिनुपर्ने हो, त्यति हुनसकेको छैन ।’

सम्झना विक सम्झना विक
२०७८ फागुन १९ गते २०:१९

१९ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध एक बालिकाले दिएको जबर्जस्ती करणीको जाहेरीपछि नेपाली सिने क्षेत्रका कलाकार दुई खेमामा बाँडिएका छन् । एकथरी जबर्जस्ती करणीका आरोपित कलाकार पल शाहको पक्षमा उभिएका छन् भने अर्काथरी विपक्षमा ।

प्रहरी अनुसन्धान चलिरहेका बेला बलात्कार आरोपित पल शाहको विषयमा सामाजिक सञ्जालको भित्तादेखि सडकसम्म उनको समर्थनमा एक समूह लागिपरेको छ ।

नाबालिक गायिकामाथि भएको मानसिक तथा शारीरिक याताना तथा हिंसाबारे मौनप्रायः देखिएका सरोकारवाला निकाय के गरिरहेको छ त ?

नेपाली कांग्रेसकी नेता उषा रावत नेपाल महिला संघ विघटन भएकाले आफूहरुले औपचारिक रुपमा बोल्न नसकेको बताउँछिन् । ‘अहिले हाम्रो पार्टीले भ्रातृ संगठनहरू विघटन गरेको छ । त्यसैले विधिवत् रुपमा नेपाल महिला संघ छैन । त्यसैले औपचारिक रुपमा बोल्न सकिएको छैन, तर व्यक्तिगत रुपमा आवाज उठाइरहेका छौं’ उनले भनिन् ।

अपराध कहिल्यै क्षम्य नहुने भन्दै  नाबालिगमाथि हुने यस्ता घटना झन् गम्भीर हुने बताउँछिन् । ‘नेपालमा बलात्कारीलाई मृत्युदण्डको सजाय नभएर पनि यस्ता घटना बढ्दै गएका हुन्’ उनले भनिन् ।

नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघकी संयोजक थममाया थापा आफूहरु ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमको तयारीमा रहेकाले यो विषयमा पर्याप्त दबाव दिन नसकेको बताउँछिन् ।

‘हाम्रो संघले सिडिओदेखि प्रहरी प्रशासनसँग यस्ता घटनाका अपराधीलाई सजाय हुनुपर्छ भनेर भनिरहेको छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘यो विषयमा पनि हामीले आवाज उठाउँछौं । तर, अहिले हाम्रो संगठन मार्च ८ को कार्यक्रमको तयारीमा व्यस्त भएकाले जति दबाव दिनुपर्ने हो, त्यति दिन सकिएको छैन ।’

नेकपा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष रेणु चन्द यो घटना राम्रोसँग बुझ्न नपाएको बताउँछिन् । ‘पीडित बालिका पनि अहिलेसम्म हाम्रो संगठनसँग मद्दत माग्न आइपुगेकी छैनन् । त्यसैले बोल्नुअघि हामीले पनि राम्रोसँग अध्ययन गर्नुपर्ने हुन्छ’ उनले भनिन् । हाल यो घटना कानुनी प्रक्रियामा गइसकेको भन्दै उनले प्रक्रियामा ढिलासुस्ती भएमा आवाज उठाउने दावी गरिन् ।

महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले पनि यो घटनाबारे राम्ररी अध्ययन नगरेको बताइन् । ‘पहिला कुरा के हो राम्ररी बुझनु पर्‍यो, अनि मात्र एक्सन लिन सकिन्छ । आयोगले घटनाको बारेमा विज्ञप्ति निकाल्छ र आफूले गर्नुपर्ने काम गर्छ’ उनले भनिन् ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले यो घटनालाई नजिकबाट नियालिरहेको बताए । ‘प्रहरीको अनुसन्धानलाई नजिकबाट नियाल्नबाहेक अरू काम अहिले गर्न मिल्दैन । यदि प्रहरीले राम्रोसँग अनुसन्धान गरेन, कारबाहीको प्रक्रिया अगाडि बढाएन भने आयोगले काम गर्छ’  उनले भने ।

भट्टराईका अनुसार अहिले तनहुँमा भइरहेको प्रदर्शनले अनुसन्धान प्रभावित हुनसक्ने भन्दै त्यो गलत भएको बताए । ‘अहिले अनुसन्धानलाई प्रभाव पार्ने खालको प्रदर्शन, अभिव्यक्तिहरू जुन बाहिर आएको छ, त्यो एकदमै गलत भएको छ’  उनले भने ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?