
२० फागुन, भक्तपुर । राष्ट्रिय युवा परिषदले सातौं स्थापना दिवस मनाएको छ । वि.सं.२०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद ऐन जारी भएको दिनलाई परिषदले स्थापना दिवस मान्दै आएको छ ।
बिहीबार सानोठिमीस्थित परिषद परिसरमा आयोजित कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत गरी अघि बढाउन सके मात्र ठोस परिणाम निकाल्न सकिने बताए ।
मन्त्री गहतराजले युवाको विकास भनेको राष्ट्रको विकास भएको बताए । उनले भने, ‘समृद्ध राष्ट्र निर्माणका लागि सक्षम, प्रतिस्पर्धी र उद्यमशील युवा तयार गर्नु जरुरी छ ।’ मन्त्री गहतराजले विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमा सदुपयोग गर्न सरकार र परिषदले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए ।
कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले मुलुकको ४० प्रतिशत हिस्सा ओगट्ने युवाको सर्वाङ्गिण विकास नगरी राष्ट्रको विकास हुन नसक्ने धारणा राखे । भर्खरै नियुक्त भएका बस्नेतले परिषद सबै युवाहरूको साझा चौतारी बन्ने जिकिर गरे ।
परिषदका पूर्वकार्यकारी उपाध्यक्ष समेत रहेका एमाले केन्द्रीय सदस्य माधव ढुंगेलले विगतमा परिषदको जग बसाल्न खेलेको भूमिकाको चर्चा गरेका थिए ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा), एकीकृत समाजवादीकी केन्द्रीय सदस्य दिलु पन्त, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विक्की यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता मनिष मिश्रले पनि धारणा राखेका थिए ।
परिषद दिवसको कार्यक्रममा युवा अभियन्ता एवम् युथ भिजन २०२५ निर्माण कार्यदलका सदस्य प्रदीप परियारले युवाको अवस्था, चुनौती र अवसर विषयमा कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा परिषदका प्रकाशकीय प्रमुख रमाकान्त शर्मा र कार्यकारी सदस्य तिलोत्तम पौडेलले परिषदका गतिविधिबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया 4