+
+

एनएसएल अक्सन : धेरै खर्च गर्नेमा धनगढी, कम गर्ने इलाम

फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि शुक्रबार सम्पन्न अक्सनमा धनगढी एफसी सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । यस्तै एनएसलको नयाँ टिम स्पोर्टिङ इलाम डिमेची सबैभन्दा कम खर्च गर्ने टिम बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते २०:४०

२० फागुन, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि शुक्रबार सम्पन्न अक्सनमा धनगढी एफसी सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । यस्तै एनएसलको नयाँ टिम स्पोर्टिङ इलाम डिमेची सबैभन्दा कम खर्च गर्ने टिम बनेको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी २६ चैत देखि सुरु हुने एनएसएलको राजधानीको सोल्टी होटलमा भएको अक्सनबाट सहभागि १० वटै टिमले १५-१५ खेलाडी अनुबन्ध गरेका छन् ।

यस पटक साविक विजेता काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी तथा थपिएका तीन नयाँ टिम झापा एफसी, वीरगंज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

अक्सनमा हरेक टोलीले कम्तीमा १८ लाख खर्च गर्नुपर्ने थियो भने बढीमा २५ लाख सम्म खर्च गर्न पाउने प्रावधान राखिएको थियो । जसमध्ये साविक उपविजेता समेत रहेको धनगढीले २४ लाख रकम खर्चै गर्दै १५ खेलाडी अनुबन्ध गर्‍यो । धनगढीले जम्मा १ लाख मात्र अक्सनबाट बचाएको छ ।

यस्तै धनगढीपछि नयाँ टिम झापा एफसीले २३ लाख ६० हजार खर्च गर्‍यो । त्यसपछि बुटवल लुम्बिनीले २३ लाख ५ हजार र पोखरा थण्डर्सले २३ लाख खर्च गर्‍यो ।

अर्को नयाँ टिम वीरगंज युनाइटेडले २२ लाख ९० हजार खर्च गर्दा ललितपुर सिटी एफसीले २२ लाख ७० हजार खर्च गर्‍यो । यसैगरी नयाँ टिम स्पोर्टिङ इलामले भने सबैभन्दा कम १८ लाख ५० हजार मात्र खर्च गर्दै सबैभन्दा धेरै ६ लाख ५० हजार बचायो ।

यस्तै एफसी चितवनले १९ लाख खर्च गर्दै ६ लाख बचायो । साविक विजेता काठमाडौं रेजर्सले २० लाख ५० हजार र विराटनगर सिटी एफसीले २० लाख १० हजार खर्च गर्‍यो ।

पहिलो संस्करणको अक्सनमा १५ लाख ५० हजारसम्म खर्च पाउने र त्यसबाट १४ खेलाडी लिनुपर्ने थियो । यसपटक भने अनुबन्ध गर्ने खेलाडीको संख्या पनि बढ्यो । समा १८ खेलाडी सबैभन्दा महँगा मूल्यमा अनुबन्ध भए । त्यसमा पनि १० खेलाडी भने गोल्डेन बजरमार्फत टिममा अनुबन्ध भए ।

धेरै खर्च गरेको धनगढीले ए क्याटेगोरीबाट सिमान्त थापा, पुजन उपरकोटी, आकाश बुढम मगर र नवयुग श्रेष्ठलाई अनुबन्ध गर्‍यो । सिमान्त, पुजन र आकाशलाई सर्वाधिक ३ लाख ५० हजार खर्चेको धनगढीले नवयुगलाई विसलिस्टबाट १ लाख ५० हजारमै अनुबन्ध गर्‍यो । घुँडाको चोटको कारण ए डिभिजन लिग गुमाएका नवयुग शल्यक्रियापछि पुनरागमन गर्ने तयारीमा छन् ।

बी क्याटेगोरीबाट शिशिर लेखी, प्रशान्त अवस्थी, राजु योगी, रुपेश केसी, प्रवेश कुँवर, टंक बहादुर बस्नेत, सी क्याटेगोरीबाट अमृत श्रेष्ठ, रबि थिङ, सुशान श्रेष्ठ, दिलेन लोक्तान र पासाङ लामालाई अनुबन्ध गर्‍यो ।

धनगढीले सुशान्त श्रेष्ठलाई ५० हजारमा अनुबन्ध गर्दा अरु सबै खेलाडीको मूल्य लाख भन्दा माथिको रहेको छ । यसैगरी सबैभन्दा कम खर्चे गरेको इलामले गौतम श्रेष्ठलाई मात्र सर्वाधिक ३ लाख ५० हजार खर्चियो भने एक्याटेगोरीकै जीवन गुरुङ, अभिषेक बराल र निरज चौधरीलाई आधार मूल्य १ लाख ५० हजारमै पायो ।

इलामले यसबाहेक क्याटेगोरी ‘बी’बाट विवेक बस्नेत, अशोक थापा, करण रावत, दिपेश बले मगर, दिपेश घले र हेमन्त श्रेष्ठ तथा क्याटेगवरी सी बाट दिवाकर चौधरी, युवराज खड्का, आशिष राई, निशान्त थापा र साजन राईलाई अनुबन्ध गर्‍यो ।

अक्सनमा क्याटेगोरी ए बाट ४९ तथा क्याटेगोरी बी र सी बाट समान १०० खेलाडी सुमावेश थिए । २४९ मध्ये १५० खेलाडी मात्र अक्सनबाट विभिन्न टिममा अनुबन्ध भए ।

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ र रोहित चन्द भने हाल विदेशी लिग खेलिरहेकाले अक्सनमा समावेश थिएनन् । अक्सनमा फ्रेन्चाइज टिमका मालिक, मार्की खेलाडी र प्रशिक्षक बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?