
कुरा आजभन्दा २२ वर्ष अगाडिको हो । हामी अध्ययनको सिलसिलामा मुम्बई पुगेका थियौं । अध्ययनका धेरै विषयमध्ये नेपालबाट हुने चेलीबेटी बेचखिन पनि एउटा विषय थियो । त्यसबारेमा बुझ्ने सबैभन्दा उत्तम थलो मुम्बईको कमाठीपुरा भन्दा अरु के हुन सक्थ्यो र ?
भारतका धेरैजसो वेश्यालयमा ठूलै संख्यामा नेपाली चेलीहरू हुन्छन् भन्ने आम चर्चाको विषय थियो । नभन्दै कमाठीपुरामा त्यो प्रष्ट देखियो । मैले एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्दा काठमाडौं पूर्व अवस्थित जिल्लाको एउटा गाउँ घुमेको थिएँ ।
त्यहाँ डाँडाडाँडामा भएका जस्ताले छाएका घरहरू सबै भारतका त्यसमा पनि मुम्बईका कोठीबाट हुने आम्दानीले बनेका थिए । अहिले त्यहाँ कस्तो छ थाहा छैन, तर त्यति बेला त्यसरी पैसा कमाउनु कुनै ठूलो अपराध वा सामाजिक बेइज्जतीको विषय थिएन । किनभने आफन्त भेट्न हेलिकप्टर समेत चार्टर गरेर त्यस्ता महिलाहरू त्यहाँ आउँथे । यहाँबाट पनि घरपरिवारकै बाबु, दाजुभाइ वा अन्यले सजिलै भारत पुर्याउँथे ।
कतिपय परिवारका सदस्यहरू त नियमित रूपमा ती ठाउँमा गएर पैसा समेत ल्याउँथे । अर्को अर्थमा भन्ने हो भने त्यो एउटा नियमित रोजगारीको विषय थियो । हामी जब कमाठीपुरा भित्र छिर्यौं, त्यहाँका एक तिहाई यौनकर्मीहरू नेपाली चेलीहरू थिए भन्दा फरक पर्दैन । फुङ्ग उडेका अनुहार तर जीउभरि सुनका गहना लगाएका नेपाली चेलीहरू बाहिर ढोकामा वा खाटमा बसेका देखिन्थे ।
उनीहरू बीच राम्ररी भिजेको कुनै व्यक्ति नभएमा उनीहरूको बारेमा जान्ने बुझ्ने अवसर हुँदैनथ्यो । अतः स्थानीय परिचित एक पत्रकारको माध्यमबाट हामी त्यहाँ पुगेका थियौं । म आफैं दलित अधिकारकर्मी भएकाले मेरो लागि अत्यन्त आश्चर्यको विषय के भयो भन्दा एउटा घरभित्र छिर्दा त्यहाँकी बाई तथा यौनकर्मीहरू सबै सुनार महिलाहरू थिए ।
पछि बुझ्दा तामाङ महिलालाई त्यहाँ पुर्याउँदा अधिकारकर्मी तथा प्रहरीले धेरै कडा गरेकाले मानव बेचबिखनमा लाग्नेहरूले गरिब दलित महिलाहरूलाई त्यहाँ पुर्याएको देखियो । संवादको क्रममा थाहा भयो, उनीहरू त्यहाँ रमाएको त देखिएन, तर उनीहरूले नेपालमा फर्किएर पुनर्स्थापित हुने अवस्था पनि देखेका रहेनछन् ।
उनीहरू सबैले माइती नेपाल र त्यसकी अध्यक्ष अनुराधा कोइरालाको नाम सुनेका थिए । उनले गर्ने कामको बारेमा पनि थाहा पाएका थिए । कोइराला कमाठीपुरा लगायत अन्य ठाउँबाट माइती नेपालमा आएका चेलीहरूको कथाव्यथाको बारेमा जानकार थिइन् । तर जुन नियति माइती नेपालमा आश्रय पाएका चेलीहरूले भोगेका थिए, त्यसप्रति उनीहरू पटक्कै विश्वस्त देखिएनन् ।
समाज र अन्य निकायले उनीहरूको नारकीय जिन्दगीबाट उकास्ने आशा गरेको त उनीहरूले कतै देखिएन । यस्तोमा जुन कथा सञ्जय लीला भन्सालीको निर्देशन तथा आलिया भट्टको केन्द्रीय भूमिका रहेको बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ले पस्केको छ, त्यो्भन्दा कयौं गुणा परिस्कृत तथा वास्तविक कथा हाम्रै नेपालकी अनुराधा कोइरालाको हुन सक्छ भन्ने मेरो ठहर छ ।
सञ्जय लीला भन्सालीका धेरैजसो फिल्म नौला तथा फरक कथामा बनाइएको हुन्छ र कला, संगीत तथा स्टारकास्टका हिसाबले पनि उम्दा हुन्छन् । त्यस्तै फिल्महरूको शृंङ्खलामा यो फिल्म पनि परेको छ भन्दा अत्युक्ति हुँदैन ।
कमाइ तथा समीक्षाको हिसाबले पनि यो चलचित्र आफ्नो प्रदर्शनको करिब एक हप्ताभित्रै हिट समूहमा परिसकेको छ । नेपाली युवा दर्शकमाझ पनि यो चलचित्र लोकप्रिय भइरहेको थाहा पाउन उनीहरूको हलमा भएको उपस्थितिबाट थाहा हुन्छ ।
यो फिल्मको मुख्य कथा एउटी मध्यमवर्गीय परिवारकी किशोरीको छ । उनलाई बम्बई (हाल मुम्बई) फिल्मनगरी र त्यसका स्टार देवानन्दले तानेको हुन्छ । उनी प्रख्यात हुने लोभमा आफ्नो प्रेमीसँग बम्बई भाग्छिन् । तर उनको प्रेमी केटी बेच्ने दलाल हुन्छ । उसले एउटा वेश्यालयमा लगेर उनलाई बेचिदिन्छ ।
त्यही वेश्यालयभित्र उनले पाएको प्रताडना र त्यसबाट उठेको उसको विद्रोहको चेतको वरिपरि फिल्मको कथावस्तु घुमेको छ । आफ्ना सहकर्मीमाथि हुने अन्याय अत्याचारलाई सम्बोधन गर्दै यसलाई राजनीतिक मुद्दासँग जोडेर उनी नायिका बन्छिन् ।
भन्सालीको फिल्ममा कथावस्तु जति बलियो हुन्छ, त्यत्तिकै बलियो कला र संगीत पक्ष पनि हुन्छ । चलचित्रलाई मनोरञ्जनात्मक बनाउनका लागि उनले बलिउडका मसलाहरूलाई पनि त्यत्तिकै कलात्मक ढंगले प्रस्तुत गर्छन् ।
समयसापेक्ष परिवेश झल्काउन उनले जुन सेटको निर्माण गर्छन्, त्यो प्रायः सधैं लोभलाग्दो हुन्छ । अर्थात् फिल्ममा प्रशस्तै पैसा खर्च गर्ने निर्माता निर्देशकमध्ये उनी पर्छन् ।
अतः यो फिल्ममा पनि कमाठीपुराका सन् १९५० को दशकको दृश्य अत्यन्त कलात्मक दृष्टिकोणबाट पस्केका छन् । उनको यो कामको एक फिल्मप्रेमीका हिसाबले तारिफ गर्नैपर्छ । शरीर बेच्न बाध्य बन्नुपर्ने पेसामा लागेकी महिलाभित्र पनि प्रेम जस्तो मानवीय भावना प्रशस्तै हुन्छ भन्ने कुरा पनि उनले गंगुबाईको एक जना मुस्लिम दर्जी केटामा देखाएको प्रेमबाट स्पष्ट हुन्छ । यो बलिउड फिल्मको मसला हो ।
यो फिल्ममा आलिया भट्टको काममा कुनै खोट लगाउने ठाउँ देखिंदैन । उनी स्टारडम भएकी उम्दा कलाकार हुन् । उनी १६ वर्षकी हुँदा वेश्यालयमा बेचिने भएको हुँदा किशोरावस्थाको भूमिकामा उनी सुहाएकी छन् । तर उनी आफैं कोठीको बाई बन्दै माफिया क्वीन बन्दासम्म जुन परिपक्वता देखिनुपर्ने हो, त्यो भने देखिंदैन । त्यसमा उनको खिरिलो अनुहार तथा जीउडालले साथ नदिएको भान हुन्छ ।
त्यस्तै यो चलचित्रको अरु खड्किने पक्ष भनेको अजय देवगण र आलिया भट्टको सम्बन्ध हो । कथाअनुसार अजय देवगण एउटा माफिया लिडर हुन्छन् । उनमा मानवीयता कुटकुटले भरिएको देखाइएको छ र गंगुबाईका रक्षक उनी हुन्छन् । यो कुरालाई त्यति स्वाभाविक रूपमा मान्न सकिंदैन ।
फिल्मका खलपात्र रजियावाई तेस्रो लिंगीको भूमिकामा छन् । उनलाई अत्यन्त्र क्रूर र गंगुबाईलाई कुनै पनि हालतमा खतम पार्ने मनसाय बोकेका व्यक्तिको रूपमा चित्रित गरिएको छ । तर त्यसलाई दर्शकहरूले पनि सजिलै पचाउन सक्ने देखिँदैन । उसको त्यस्तो क्रूरतालाई सामान्य तरीकाले परास्त पारेको दृश्य पनि देखाइएको छ ।
फिल्ममा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई गंगुबाईले भेट्छिन् । भेटमा उनले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने तथा कमाठीपुराको वेश्यालयलाई त्यहाँबाट हटाउन चालेको आन्दोलनलाई रोक्न भूमिका खेल्नुपर्ने माग गर्छिन् । यहाँनेर जुनसुकै सवाललाई पनि राजनीतिसँग जोड्नुपर्छ र त्यसलाई भोट राजनीतिको माध्यम बनाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।
यो फिल्म वास्तविक कथामा आधारित हो वा काल्पनिक भन्ने विषयमा धेरै चर्चा छैन । तर यथार्थ के हो भने जुनसुकै कथा पनि समाजकै घटनाबाट प्रेरित हुन्छन् । यसलाई माफिया क्वीन अफ बम्बई भन्ने पुस्तकका लेखक हुसैन जायदीको कथामा आधारित भनिएको छ । तर हाम्री नेपालकी अनुराधा कोइरालाको कथा पनि फिल्मका लागि प्रेरणादायी छ । कोइरालाले बेचबिखनमा परेका चेलीहरूको उद्धार मात्र गरेकी छैनन्, उनको अभियानले यस्ता कार्यमा कमी पनि आएको छ ।
बलिउडमा पछिल्लो चरणमा वास्तविक कथामा आधारित फिल्म बनाउने ट्रेण्ड नै चलेको छ । तीमध्ये धेरैले राष्ट्रिय पुरस्कारसमेत पाएका छन् । तर नेपालमा यस्तो किन भइरहेको छैन ? ‘गंगुबाई काठियावाडी’जस्तो फिल्म नेपालकै वास्तविक कथामा हाम्रा निर्माता- निर्देशकहरूले सोच्ने कि ?
प्रतिक्रिया 4