+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तरकारीखेतीबाट आत्मनिर्भर बन्दै दाङ धम्कापुरका थारु महिला

रासस रासस
२०७८ फागुन २२ गते १८:२८
फाइल तस्वीर

२२ फागुन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ स्थित धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छन् ।

आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैं एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर पुग्ने स्यानीले धनियाँको पात बिक्री गरेर मात्र वार्षिक चार लाख रुपैयाँसम्म बचत गर्ने गरेको बताउँछन् । यसपटक  मौसमी धनियाखेतीबाट मात्र दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको उनको भनाइ छ । २०५८ सालदेखि नै यो पेसा अपनाएपनि व्यावसायिक रुपमा भने विगत १३ वर्षदेखि गर्न थालेको बताउने स्यानीले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरेकी छन् । उनले एक वर्षमा दुई पटक मौसमी र बेमौसमी धनियाँखेती गरेर बिक्री गर्दै आएकी छन् । उनी प्रतिमुठा धनियाँ २० रुपैयाँमा बिक्री गर्दै आएकी छन् ।

धनियाँ बेचेर गरेको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन खरिद गरेकी छन् भने १० कट्ठामा धनियाँखेती र अरुमा अन्य खाद्यान्न उत्पादन गर्दै आएकी छन् । अहिले बेमौसमको लागि उक्त खेती सुरु गरिसकेको स्यानी बताउँछिन् ।

सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक रुपमा तरकारीखेती गरिरहेकी छन् । १५ कट्ठा जमिनमा चम्सुर, पालक, गोभी, टमाटरलगायत तरकारीखेती गरिरहेकी रेखा पनि बिहानै तरकारी छिटुवामा बोकेर पैदलै बिक्रीका लागि तुलसीपुर बजारसम्म आउँछिन् ।

‘पहिला हामीले धानखेती गर्दथ्यौं तर त्यसबाट मात्र राम्रो आम्दानी लिन नसकेपछि धानखेती छाडेर ६ वर्षदेखि तरकारीखेती गर्दै आएका छौं । दुःख त धेरै भएपनि आम्दानी राम्रो हुन्छ । वर्षमा चार लाखसम्म आम्दानी हुन्छ,’ उनी भन्छिन् । अहिलेसम्म तरकारी खेतीसम्बन्धी कुनै पनि तालिम नलिएकी रेखा खेतीको लागि सिंचाइको समस्या रहेको सुनाउँछिन् ।

त्यसैगरी सोही गाउँकी ४० वर्षीया राजपति चौधरी पनि १४ कट्ठा जमिनमा तरकारी खेती गरेर आत्मनिर्भर बनेकी छिन् । वार्षिक रुपमा साढे तीन लाख तरकारी खेतीबाट आम्दानी लिन सफल भएको उनी बताउँछिन् । तरकारीखेतीबाटै भएको आम्दानीले गर्दा दुई छोराछोरीलाई बाली विज्ञान विषय अर्थात् कृषि प्राविधिक विषय पढाउन सजिलो भएको राजपति बताउँछिन् । बन्दा, फूलगोभी, गोलभेंडालगायत तरकारी खेती गर्दै आएकी उनी दिनभर तरकारी खेतीमा व्यस्त हुने र बिहानै छिटुवामा तरकारी राखेर पैदलै तुलसीपुर बजारसम्म बिक्रीका लागि आउने गर्छिन् ।

राजपति बन्दागोभीको मूल्य सस्तो भएपनि गोलभेंडा र फूलगोभी भने प्रतिकिलो ५० रुपैयाँसम्म बिक्री गर्ने गरेको बताउँछिन् । यस पेशामा टिकाइराख्न सिंचाइका लागि पानी, तरकारीको उचित मूल्य र बजारीकरण तथा उन्नत जातको बीउ र कीटनाशक औषधि र तालिमको व्यवस्था स्थानीय निकायले उपलब्ध गराइदिनुपर्नेमा उनी जोड दिन्छिन् ।

किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले जानकारी दिइन् । भवन निर्माण भएपछि किसानलाई बिहान ५ बजेदेखि ७ बजेसम्म सो भवनमा बसेर तरकारी बिक्री गर्नका लागि शुल्क नलाग्ने व्यवस्था मिलाइएको पनि उनको भनाइ छ ।

तरकारीखेतीबाट आत्मनिर्भर भएका किसानलाई उपमहानगरबाट प्रोत्साहन गर्ने कृषि कार्यक्रम ल्याउन  आवश्यक रहेको भन्दै उपप्रमुख आचार्य अहिले जिल्लामा धेरै गाउँका किसान तरकारीखेतीमा निर्भर भएर आर्थिक रुपमा सफल भएको देख्दा आफ्नै देशमा मेहनत गर्नसके आर्थिक रुपमा टेवा पुग्ने बताउँछिन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?