+
+

व्यवसायीका पीडा : कोरोना संक्रमण घट्यो, तनाव घटेन

रोयल आचार्य रोयल आचार्य
२०७८ फागुन २२ गते २०:०९

२२ फागुन, काठमाडौं । कोभिड-१९ का कारण दुई वर्षभन्दा लामो समय व्यापार, व्यवसाय एवं उद्योग प्रभावित बने । कोरोना महामारीको त्रास कम भएपछि व्यापार व्यवसायहरु निकै राम्रो हुने अपेक्षा व्यवसायीहरुमा थियो । तर अपेक्षित व्यापार हुन नसकेको साना व्यापारीहरु बताउँछन् । काठमाडौंको भोटेबहाल, न्यूरोड, महाबौद्ध जस्ता क्षेत्रका होलसेल व्यापारीहरु व्यवसाय नै नभएको गुनासो गर्छन् । खुद्रा व्यापारीहरुको अवस्था पनि उस्तै छ ।

काठमाडौंका सडकहरुमा राम्रै चहल–पहल छ । तर पनि सुनसान जस्तै देखिन्छन्, काठमाडौंका भोटेबहालमा रहेका गल्लीहरु । मूल सडकको जाम छल्नका लागि गल्ली भएर हिंड्ने मोटरसाइकलको बेलाबखत भीड भइरहन्छ । गल्लीका दायाँ–बायाँ दुवैतिर थुप्रै कपडाका होलसेल पसल छन् ।

बिहान झिसमिसेमै सटर खोलेर बसेका अमृत ज्ञवाली ग्राहकको पर्खाइमा छन् । फाट्टफुट्ट मान्छेहरु हिंडिरहेको देखिने वित्तिकै उनी सोचिहाल्छन्, कतै ग्राहक हुन् कि ! ग्राहक आउँछन् र व्यापार गरौं भन्ने आशमा बसेका व्यापारीहरु निराश छन् । ‘कहिलेकाहीं त बोहोनी नै हुन गाह्रो छ, कोरोनापछिको व्यापार त ठप्पै जस्तो छ’, उनी सुनाउँछन् ।

महँगो भाडा, व्यापार गर्नका लागि बैंकबाट लिएको ऋण लगायतले साँझमा निद्रा पर्न गाह्रो हुन्छ । सहकारी संस्थाहरुबाट लिएको सरसापट समयमा भुक्तानी गरेन भने फेरि पाइँदैन । ‘व्यापार नै नभएपछि कसरी भाडा तिर्ने, कसरी किस्ता तिर्ने’ उनी भन्छन्, ‘यही तरिका हो भने त गाउँमा गएर हलो जोत्नुपर्ने दिन आउँछ ।’

पहिले पहिले गल्लीमा थेगिनसक्नु भीड हुन्थ्यो । पसलका अगाडि एउटा मोटरसाइकलक दुई मिनेट रोक्न सक्ने अवस्था पनि थिएन । तर अहिले सुनसान जस्तै छन् गल्ली सडकहरु । ‘लु आज पनि व्यापार हुने छाँट देखिएन, म त पसल बन्द गर्छु’ अमृतका छिमेकी पसले बोल्छन् । घडीले ३ बज्न पाउँदा नपाउँदै उनले सटर तान्छन् । ‘होलसेल व्यापार यस्तै हो, अब पनि नआएको ग्राहक आउँदैनन्’, उनी भन्छन् ।

होलसेल पसलेका ग्राहक भनेका खुद्रा व्यापारी हुन् । पसलेले नै खरिद गरेर कपडाहरु लैजान्छन् अनि व्यक्तिलाई बिक्री गर्छन् । खुद्रा व्यापारीहरु सामान्यतया बिहानै आउँछन् । अमृतको अनुभवमा पहिले पहिले बिहानको ४ बज्न नपाउँदै व्यापारीहरु सामान किन्न आउँथे । अहिले पनि बिहान झिसमिसमै व्यापारीहरु आउँछन्, तर व्यापार तीन वर्ष अघिको भन्दा ५० प्रतिशत मात्रै हुन्छ ।

न्यूरोडमा जुत्ता पसल चलाइरहेका मनोज श्रेष्ठ व्यापारको अवस्था साह्रै कहालीलाग्दो रहेको सुनाउँछन् । न्यूरोडको महँगो सटर भाडा, ऋणमा चलिरहेको पसल । हरेक महिना सकिन लाग्दा तनाव माथि तनाव थपिने गरेको छ । ‘कोरोनाका बेला निकै तनाव थियो, तर त्यसबेला सबैको तनाव भएकाले मन बुझाउने ठाउँ थियो’ उनी भन्छन्, ‘कोरोना सकियो तर तनाव सकिएन, व्यापार नै ह्वात्तै घटेको छ तनाव कसरी घटोस् ।’

महाबाैद्ध व्यापार संघका पूर्वअध्यक्ष माधव खरेल कोरोना सुरु भएदेखि नै व्यवसायीहरु समस्यामा परेको र त्यो समस्याबाट अझै बाहिर आउन नसकेको बताउँछन् । खासगरी आयात गर्ने व्यवसायीहरु अहिले निकै ठूलो समस्या झेलिरहेको उनले बताए । कोरोना सुरु भएसँगै चिनियाँ नाकाहरुबाट सामान भित्रिन कम भएको थियो ।

कोरोनाको असुरक्षाका कारण कडाइ गरिएका चिनियाँ नाकाहरु अझै पनि सहज भइनसकेको उनले बताए । ‘मुख्य कुरा भन्सारको छ, चिनियाँ नाकाहरुबाट सामान आउन गाह्रो छ’ उनले भने, ‘अहिले सामान किन्ने व्यापारीलाई पनि चीन जान बन्द गरिएको छ, यसले सामान ल्याएर व्यापार गर्नै नसकिने अवस्था बनेको छ ।’

व्यवसाय टिकाउनै गाह्रो !

कोरोनाका कारण सरकारले लामो समय लकडाउन गर्दा त्यसको प्रत्यक्ष असर उद्योग व्यवसायमा निकै नराम्रो पर्‍यो । साना तथा मध्यमस्तरीय उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउनका कारण समस्यामा परेको भन्दै विरोध प्रदर्शन समेत गरेको थियो ।

घरघाडा छुट हुनुपर्ने, ऋण भुक्तानीको समय थप हुनुपर्ने, कोरोना काललाई शून्य समय मानेर व्याजदरहरुमा सुविधा दिनुपर्ने लगायतको माग राख्दै व्यवसायीहरु सडकमै उत्रिएका थिए । त्यसबेला नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याज छुट दिन समेत निर्देशन दिएको थियो । त्यसबेला बैंकले दिएको सुविधा सबैले नपाएको र पाएकाहरुका लागि पनि त्यो पर्याप्त नरहेको महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् ।

यद्यपि, त्यसबेला जेनतेन व्यवसाय धानिरहेकाहरु पनि अहिले भने समस्यामा परेको उनी सुनाउँछन् । अध्यक्ष कटुवालले अहिले व्यवसायीहरु एकदमै कठिन परिस्थिति खेपिरहेको सुनाउँछन् । कोरोनाका बेला जुन किसिमको समस्या थियो अहिले त्योभन्दा ठूलो समस्या थपिएको उनले बताए ।

अध्यक्ष कटुवालको अनुभवमा अहिले व्यवसायीहरुले खेपेको मुख्य समस्या भनेको ऋणको हो । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम तरलता अभाव हुँदा यसको असर व्यवसायमा परेको उनी सुनाउँछन् । बैंकहरु अहिले ऋण दिनै नसक्ने अवस्थामा पुगिसकेका छन् ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी ऋणका लागि आवेदन फारम नै बुझ्न बन्द गरिएको बताउँछन् । अहिले तरलता अभाव निकै ठूलो समस्याको रुपमा रहेका कारण निवेदन लिएर थन्क्याएर राख्नु भन्दा निवेदन नै लिन रोकिएको उनी बताउँछन् ।

बैंकले ऋण ठप्प बनाउँदा यसको प्रत्यक्ष असर भने प्राय सबै प्रकारका व्यवसायहरुमा परेको अध्यक्ष कटुवाल बताउँछन् । ‘नयाँ ऋण नगए पछि व्यवसाय विस्तार हुनसक्ने अवस्था रहेन, अर्थतन्त्र चलायमान हुनबाटै रोकियो’ उनले भने, ‘यस्तो अवस्थामा कसरी व्यापार व्यवसाय फस्टाउँछ, यो त साह्रै गाह्रो अवस्था भयो ।’

राज्यको नीतिले झनै बर्बाद : व्यापारी

भोटेबहालका अमृत र न्यूरोडका मनोज प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय काठमाडौंका अधिकांश व्यापारी यस्तै गुनासो सुनाउँछन् । अहिले व्यापारीहरुलाई तनाव थपिदिने काम भने राज्यको नीतिले समेत गरेको राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहाल सुनाउँछन् । खासगरी राष्ट्र बैंकले गरेको आयातको कडाइले उनीहरुलाई प्रत्यक्ष असर गरेको छ ।

कोरोना सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले लगानीलाई तीव्रता दिए । कोरोनाका कारण गरिएको लकडाउनमा बैंकहरुले धेरै लगानी गर्न पाएका थिएनन् । लगानीयोग्य रकम पर्याप्त थियो । कोरोनाको त्रास कम भएसँगै बैंकहरुले क्रमशः लगानीमा आक्रामक बन्दै गए । बैंकहरु लगानीमा आक्रामक बन्दा त्यसको असर तरलतामा पर्‍यो ।

बैंकहरुमा निक्षेप आउने क्रम ठ्याक्कै रोकियो भने लगानी गर्ने क्रम भने रोकिएन । यसले व्यवसायीहरुलाई ऋण लिएर व्यवसाय विस्तार गर्न नसक्ने अवस्था बनाइदियो । त्यति मात्रै होइन बैंकमा तरलता अभाव हुँदा बैंकको ब्याजदर पनि बढ्यो ।

बैंकहरुमा असहज अवस्था आएको भन्दै राष्ट्र बैंकले आयातका लागि प्रवाह हुने ऋणमा कडाइ गर्यो । ४७ प्रकारका वस्तुहरु आयातमा त राष्ट्र बैंकले ठूलै लगाम लगायो । यो नीतिले भारत, चीन लगायतका मुलुकहरुबाट आयात गरेर व्यापार गर्ने व्यवसायीहरु समस्यामा परेको संघका महासचिव दाहालको भनाइ छ ।

राष्ट्र बैंकले आयात निरुत्साहन गर्न वाणिज्य र विकास बैंकहरुलाई नयाँ परिपत्र जारी गर्दै प्रतीतपत्र खोल्नुअघि नै तोकिएका वस्तुमा तोकिएको दरमा अनिवार्य नगद जम्मा गर्नुपर्ने नयाँ नीतिगत प्रबन्ध गरेको छ ।

यो व्यवस्था अनुसार डेढ दर्जन प्रकारका वस्तुहरू आयात गर्न प्रतीतपत्र खोल्नुअघि बैंकले आयातकर्ता कम्पनीबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन बुझ्नुपर्नेछ ।

‘यो व्यवस्थाले व्यवसाय टिकाउनै नसक्ने अवस्था आयो, हिजो गरिने भन्दा दोब्बर लगानी गर्नुपर्छ’ उनले भने, ‘यसरी कडाइ गर्दा साना व्यवसायीहरु समस्यामा परेका छन्, ठूलालाई त केही नभएको होला ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?