+
+
कथा :

पँधेरीको शिवरात्रि

भूमिकाकुमारी विष्ट भूमिकाकुमारी विष्ट
२०७८ फागुन २३ गते ७:५९

पँधेरी गाँउकी सबैभन्दा सुन्दर केटी । नाम जस्तै उनको रुप पनि एकदमै भिन्न छ । गोलो उज्यालो अनुहार, अग्लो कद, पुटुक्क भरिन लागेका छाती, छिनेको कम्मर, लामो खैरो कपालले उनी कुनै अप्सरा जस्तै लाग्छिन् ।

गाँउघरकै सामान्य पहिरनमा पनि पँधेरी निकै आकर्षक देखिन्छिन्, त्यसैले गाँउका युवादेखि अधवैंसेहरु समेत उनलाई लोभिएर हेर्छन् । कतिले त उनलाई आफ्नी प्रेमिका, श्रीमती वा उनको यौवनसँग खेल्ने मात्र पनि कल्पना गर्छन् । उमेरले १७ वर्ष मात्र पुग्न लागेकी पँधेरीले पोहर साल राम्रै अंक ल्याएर एसईई पास गरेकी हुन् । थप पठनपाठनका लागि गाँउमा स्कुल थिएन । छोरी मान्छेलाई सदरमुकाम पठाउने चलन थिएन भने आर्थिक अवस्था पनि बलियो थिएन ।

त्यसैले पँधेरी घरगोठकै काममा सीमित थिइन् । पँधेरीको जन्म भएकै दिन उनकी आमाको मृत्यु भएको थियो । उनकी आमालाई पँधेरोमा पानी लिन गएको बेला व्यथा लागेको रहेछ । व्यथाले निकै च्याप्दा पनि सँगमा गएका अरु महिलाहरुले उनलाई सहयोग गरेनन् । किनभने, गाउँमा सुत्केरीलाई छुनु हुँदैन भन्ने अन्धविश्वास थियो । विचरी पँधेरीकी आमाले पँधेरो छेउका बोटबिरुवालाई समातेर आफैं बल गरेर पँधेरीलाई संसार देखाएकी थिइन् । तर अत्यधिक रक्तश्रावका कारण त्यही पँधेरो छेउमै उनको मृत्यु भयो । पँधेरोमै जन्मेकीले उनको नाम पँधेरी राखियो । तर जन्मिने बित्तिकै आमालाई खाई भनेर परिवारमा भने उनलाई अलच्छिना भन्न थाले ।

गाँउकै स्कुलमा शिक्षक समेत भएका पँधेरीका बाले ६ महिना नपुग्दै अर्को बिहे गरे । घरमा आएकी नयाँ आउने बाकी श्रीमती मात्र बनिन्, पँधेरीकी आमा बन्न सकिनन् । घरकाले पहिलादेखि नै अलच्छिना भन्दै हेपेको देखेपछि कान्छी आमाले कहिल्यै पनि राम्रो मानिनन् ।

अवोध बालिकाको विचल्ली हुन लागेको देखेपछि पँधेरीकी आमाकी आमा, अर्थात् हजुरआमाले उनलाई आफूसँगै राखेर पालेकी थिइन् । पँधेरीको मामाघर खोलापारिकोे गाँउमा थियो । पँधेरीकी हजुरआमा पनि एक्लै बस्थिन् ।

पँधेरीका मामामाइजू भारतमा बस्थे । ४–५ वर्षमा कहिलेकाहीं घर आउँथे । उनीहरुलाई पनि आमाको खासै वास्ता हुँदैनथ्यो । त्यसैले पँधेरी हजुरआमाको र हजुरआमा पँधेरीको सहारा बनेका थिए । पँधेरीको बा खोलापारिको अर्को गाँउमा नयाँ श्रीमतीसँग रमाएर बसेका थिए । आफू शिक्षक भएपनि एसईई पास गरेकी छोरीलाई पढाउने उनले कहिल्यै सोचेनन् । पँधेरीकी हजुरआमा ७० वर्ष पुगिसकेकी थिइन् । त्यसैले मर्नुअघि पँधेरीको बिहे गरिदिन पाए शान्ति मिल्थ्यो भनिरहन्थिन् । पँधेरी भने हजुरआमालाई छोडेर कहीं नजाने भन्थिन् ।

शिवरात्रिको समय थियो । पँधेरीका साथीहरु सदरमुकाम नजिकको शिवालयमा मेला हेर्न जाने कुरा गर्दै थिए । पँधेरीलाई पनि मेला हेर्न जान मन लाग्छ । उनले हजुरआमालाई मेला जाने कुरा सुनाउँदा हजुरआमाले सिधै हुँदैन भनिन् ।

मेला हेर्न गएका केटीहरुलाई मोहनी लगाएर केटाहरुले भगाएर लैजान्छन् भनेर हजुरआमाले भनिन् । पँधेरी झन् त्यस्ती सुन्दर भएकीले उनलाई मोहनी लगाएर लगिहाल्ने डर हजुरआमालाई रहेछ । पँधेरीको बिहे भएको हेर्ने रहर भएपनि त्यसरी भागेर होइन, आफैंले गोडा धोएर पठाउने इच्छा थियो । त्यसै भन्दै हजुरआमाले पँधेरीलाई सम्झाइन् । हजुरआमाको कुरा सुनेर पँधेरीले यसो सोचिन्, हुन पनि गाँउकी काइँली भाउजूलाई दाइले मेलाबाटै भगाएर ल्याएका थिए । पोहरसाल पँधेरीको बाको स्कुलको हेडसरकी छोरी, गाउँका धामी बाकी छोरी पनि मेलाबाटै भागेर गएका थिए । हो रहेछ मेलामा त मोहनी लगाइहाल्दा रहेछन् भन्दै पँधेरीले मेला जाने कुरालाई मस्तिष्कबाट हटाउन हजुरआमाको काखमा टाउको राखिन् । हजुरआमाले उनको कपाल सुम्सुम्याउदै गर्दा निदाउन थालिन् ।

बिहानैको समय थियो । सधैंझैं कम्मरमा गाग्री राखेर पहेंलो पिछौराले गाग्रीलाई छोप्दै, पानी लिन पँधेरोमा गइन् । त्यहाँबाट छिटो छिटो फर्केर रातो सुट र सेतो सुरुवालसँग निलो रंगको चुन्नी ओढिन् । बदामजस्ता उनका आँखामा गाजल लगाएपछि आँखा झनै ठूलो र आकर्षक देखिए । निधारमा कालो बिन्दी लगाएर ऐना हेरी कसिलो लुगाको खुलेको गलाबाट उनको छातीका चिरा देखिरहेका थिए । पँधेरी मुसुक्क हाँसिन् अनि लजाएर आफ्नो छातीलाइ चुन्नीले छोपेर गीत गुन्गुनाउँदै ढोकाबाट बाहिर निस्किइन् । बाहिर निस्किने बित्तिकै हजुरआमाले ‘अब जान लागेको हो भने सुरुवालमा काँचो हल्दी (बेसार) राखेर जा जंगलको बाटो छ । भूतप्रेत पनि लाग्दैन मोहनीको असर पनि हुँदैन’ भनिन् ।

पँधेरीले हजुरआमाको हातबाट काँचो हल्दी लिएर कर्तालाई कम्मरसम्म पुर्‍याएर सुरुवालमा हल्दी राखिन् । उनको गोरो कम्मर देखेर हजुरआमाले मान्छेका अगाडि यसरी कम्मर नदेखाउनु पनि भनिन् । मेलामा कोही पनि केटा मान्छेसँग नबोल्नु, कसैले दिएको कुरा नखानु भन्दै सुर्के थैलीबाट १०० रुपैयाँ निकालेर पँधेरीलाई दिइन् । पँधेरीले पैसा समातेर घाँटीबाट छातीभित्र भित्री लुगामा राखिन् । हजुरआमाको लामो कुरा सुनेर पँधेरी ल ल साँझ छिट्टै आउँछु भन्दै घरबाट निस्किन् । उनका साथीहरु खोलाको छेउमा उनलाई पर्खिरहेका थिए ।

उनीहरु कसरी कसरी त्यहाँबाट उम्केर बाहिर निस्के । मेलामै कलाकारहरुलाई बोलाएर सांगीतिक कार्यक्रम पनि भइरहेको थियो । स्थानीय गायक–गायिकाहरुले लोकगीत गाउँदा केटाहरु सिटी बजाउँदै नाचिरहेका थिए । पँधेरीहरुलाई पनि त्यहाँ जान मन थियो, तर उनीहरु डरले त्यहाँ जान सकेनन्

त्यहाँबाट डेढ घण्टा हिंडेर उनीहरु सदरमुकामको शिवालय नजिक पुगे । पहाडको उकाली–ओराली हिंडेर उनीहरु सबैका निधारमा पसिनाका दाना देखिन्थे । गोरी पँधेरीको अनुहार त झनै रातो रातो भएको थियो । शिवालयमा पुग्दा त झन् गालामा लाली चढेर झनै राम्री भएकी थिइन् । मन्दिरको गेट छिर्ने बित्तिकै केटाहरुको एक हुलले पँधेरीलाई आँखा लगायो । एउटाले ओहो पार्वती माता त अहिले आइन् भन्यो । पँधेरी सुने न सुनेझैं गरी मन्दिरभित्र पसिन् ।

उनका साथीहरु मिलेर मन्दिरमा पूजा गरे अनि बाहिर निस्के । मेलामा मानिसहरुको भीड बिस्तारै बढ्दै गइरहेको थियो । कमिलाको ताँतीजस्तै रंगीविरंगी मनिसहरुको ताँती थियो । मन्दिरबाट फर्किंदै गर्दा केटाहरुको एक हुलले उनीहरुलाई पछ्याइरहेको थियो । पँधेरी र उनका साथीहरु चौरमा बसे । सबैले पैसा मिलाएर जलेबी किने । हुन त, मेलामा अरु पनि धेरै मिठाइ थिए, तर उनीहरुले जलेबी नै रोजे । एकैछिनमा पँधेरीकी साथी नानुले चर्खा चढ्ने भनिन् । पँधेरीले डर लाग्छ भनेर सुरुमा मानिनन्, तर साथीहरुको जिद्दीमा उनी पनि चर्खामा चढिन् । चर्खा घुमेर पँधेरीहरु बसेको ठाँउमा माथि पुग्दा पहाडहरु पनि साना भएझैं लाग्यो ।

आफूलाई रिंगटा लागेर पँधेरीले आँखा बन्द गरिन् । डरले उनको त पिसाबै निस्क्यो । पँधेरीको पिसाब चुहिएर चर्खाको तल बस्ने केटाहरुको टाउकोमै परेछ । चर्खाबाट ओर्लिंदा पँधेरीको सुरुवाल भिजेको थियो । भिजेको सुरुवाल देखेपछि केटाहरुले उनले पिसाब फेरेको बुझिहाले । अनि त झगडाको बहाना नै भयो । पँधेरी लाजले रातोपिरो भइन् । उनलाई मेला आएकोमा पछुतो भयो । हजुरआमाले भनेको नमानेर उनलाई निकै नराम्रो लाग्यो । साथीहरुले उनलाई बीचमा राखेर चौरको अर्को छेउतर्फ लगे । अनि सुरुवाल सुकेपछि मात्र घुम्ने योजना बनाए ।

तर केटाहरु उनीहरुको पछि पछि आउन थाले । बोल्दाबोल्दै पँधेरीकी साथी रुपा केटाहरुसँग जिस्कन थालिन् । उनलाई केटाहरुले मोहनी लगाइहालेछन् कि भनेर पँधेरी निकै डराइन् । उनले रुपाको हात समातेर आफूबाट टाढा नजान भनिन् । रुपा जिस्केको देखेर केटाहरुको हौसला अरु बढ्यो । उनीहरुले पँधेरी र उनका साथीहरुलाई पनि जाँउ भन्न थाले । वरिपरिबाट केटाहरुले घेरेर कसैले केटीहरुको हात समाते, कसैले नितम्ब मुसारे । ओहो कस्तो असजिलो चिच्चाउँ भने आफ्नै लाज हुने । पँधेरीले बोल्न पनि सकिरहेकी थिइनन् ।

उनीहरु कसरी कसरी त्यहाँबाट उम्केर बाहिर निस्के । मेलामै कलाकारहरुलाई बोलाएर सांगीतिक कार्यक्रम पनि भइरहेको थियो । स्थानीय गायक–गायिकाहरुले लोकगीत गाउँदा केटाहरु सिटी बजाउँदै नाचिरहेका थिए । पँधेरीहरुलाई पनि त्यहाँ जान मन थियो, तर उनीहरु डरले त्यहाँ जान सकेनन् । केही नभएपछि उनीहरु घर फर्किने भन्दै त्यहाँबाट हिंडे । अलि तल सडकमा पुग्दा अघिका केटाहरु त्यहीं कुरेर बसेका रहेछन् । ती मध्ये रुपासँग नजिक भएको केटाले आफू गाडीको ड्राइभर भएको भन्दै गाडीमा हिंड्न भन्यो ।

उसले केटीहरुलाई नडराउन भन्दै गाडी उनीहरुकै गाँउको सडक हुँदै जान लागेकाले बस्न भन्यो । पहिला त केटीहरुले हिंडेर नै जाने भने तर मेलामा दिनभरि हिंडेर उनीहरु थाकिसकेको र गाडीमा पैसा पनि नलाग्ने भएकाले हुन्छ भने । त्यो केटाले रुपालाई अगाडि आफ्नै सिटको छेउमा बसायो । पँधेरी र अरु साथीहरुले अगाडि बस्न मानेनन् । उनीहरु पछाडिको सिटमा गएर बसे । गाडी अलि अगाडि बढेपछि ड्राइभरले मान्छे भर्न थाल्यो । गाडीमा ६०–७० जना मान्छे भरेपछि पँधेरीले आफ्ना साथीहरुलाई देख्न समेत नसक्ने अवस्था भयो ।

भीडको फाइदा उठाउँदै आफ्नो शरीरमा हात पुर्‍याउनेहरुबाट बचाउने कि साथीको चिन्ता गर्ने पँधेरीलाई अन्योल भयो । पँधेरीले रुपालाई हेर्ने कोशिश गरिन्, पछाडिबाट हेर्दा रुपा त ड्राइभरको काखैमा बसेझैं देखियो । शायद ड्राइभरले पनि रुपाको शरीरमा छुने र जिस्काउने गरिरहेको थियो । रुपालाई निकै असजिलो भइरहेको बेला गाडीको बेग एक्कासी बढ्यो । रुखका हाँगाबिंगा गाडीको झ्यालबाट भित्र आएझैं भयो ।

गाडी निकै जोडले हल्लियो र एकैचोटी थेचारियो । पँधेरी बहोस भइन् । होसमा आउँदा उनको टाउकोमा चोट लागको थियो । उनले उठ्ने बित्तिकै रुपा र अरु साथीहरुलाई खोजिन् । एक जना कसैले आएर तपाईं त भाग्यमानी हुनुहुँदो रहेछ बाँच्नुभयो तपाईंका सबै साथीहरु त मरे भने । पँधेरी झसँग भएर ब्युँझिइन् ।

आँखा खोलेर हेर्दा त बिहान पो भइसकेको रहेछ । उनी त आफ्नै घरको ओछ्यानमा रहिछन् । हजुरआमा बाहिर बढार्न लागेको आवाजले उनले आफूले सपना देखेको रहेछु भन्ने बुझिन् । बाहिर आएर हजुरआमालाई अँगालो हालिन् ।

हजुरआमाले के भयो ? भनेर सोधेपछि उनले सपनामा देखेको कुरा सुनाइन् । हजुरआमाले देखिस् त मैले भनेको थिएँ नि । अब त झनै जानु हुँदैन मेलामा भनिन् । तर पँधेरीले आफूले नराम्रो सपना देखेपनि त्यसले आफूलाई तर्साउनु भन्दा पनि बाटो देखाएको हजुरआमालाई बताइन् । सपनामा आफूलाई असहज लाग्ने काम पनि अरुको जिद्दीको पछि लागेकाले त्यस्तो दुःख पाएको हजुरआमासँग भनिन् । साथै मोहनी लगाउने केटाहरुले जबरजस्ती गर्ने वा सिन्दूर नै हाले भनेर महिलाहरुले सहनु परेपनि अब त्यस्तो समय नरहेको सम्झाइन् ।

आफूले रेडियोमा सुनेको, स्कुलमा हुने विभिन्न अन्तरक्रिया र गाँउमै स्वयंसेविकाहरुले बोलाएका बैठकमा आफूमाथि त्यस्तो हुँदा के गर्ने भन्ने कुरा सिकेको बताइन् । अरुले के अपराध गर्छ कि भनेर आफ्ना साना–साना रहरलाई मार्न नहुने, बरु त्यस्तो कुराको प्रतिवाद गरी कानुनअनुसारको सजाय पो दिलाउनुपर्छ भनिन् । अनि हजुरआमाको हातबाट कुच्चो खोसेर घर बढारिन् । हजुरआमा उनलाई हेरिरहेकी थिइन् । घर र भान्साको काम सकेर पँधेरीले नुहाइन् ।

अनि रातो सुट र सेतो सुरुवालसँग निलो रंगको चुन्नी ओढिन् । आँखामा गाजल लगाइन्, निधारमा कालो बिन्दी, ऐना हेरेर मुसुक्क हाँसिन् अनि निकै आत्मविश्वासको साथ कोठाबाट निस्किइन् । हजुरआमा उनलाई हेरेरै बसिरहेकी थिइन् । हजुरआमालाई देखाउँदै उनले काँचो हल्दो सुरुवालमा राखिन्, हजुरआमा मुसुक्क हाँसेर सुर्केथैलीबाट १०० रुपैयाँ पँधेरीलाई दिइन् । साँझ छिट्टै घर आउँछु भन्दै पँधेरी घरबाट निस्किइन् । उनी दिनभरि मेलामा घुमी साथीहरुसँग रमाइलो गरेर, उनलाई जिस्काउनेहरुको प्रतिवाद गरिन् ।

खासमा पँधेरीले आफू मात्र नभई आफ्ना सबै साथीहरुलाई पनि गाइड गरिरहेकी थिइन् । साँझ घर फर्किंदा पँधेरीकी हजुरआमा पिंढीमा बसेर कुरिरहेकी थिइन् । मेलाबाट ल्याएको जलेबी हजुरआमालाई पनि खुवाइन् । अनि सबै साथीहरुलाई समयमै घर फर्किन भन्दै सम्झाइन् । पँधेरीलाई हेरेर हजुरआमा मुस्काइरहिन् ।

मेलामा मोहनी लगाइहाल्छन् भन्ने कुरा सत्य रहेनछ । त्यो त आफ्नो बानीमा भरपर्दो रहेछ । नातिनीको व्यवहार र सुझबुझपूर्ण व्यवहारले नातिनीलाई धेरै पढाएर बुझ्ने बनाउनु पर्दोरहेछ भन्ने लाग्यो । साँझ खाना खाएपछि हजुरआमाले पँधेरीको कपालमा तोरीको तेल लगाइदिइन् ।

पँधेरीको टाउको सुम्सुम्याउँदै हजुरआमाले पँधेरी अबदेखि म तेरो बिहेको कुरा गर्दिन, बरु तँलाई अरु पढाउँछु, मर्नुअघि तेरो बिहे गर्नुभन्दा पनि तैंले धेरै पढेर सक्षम भएको हेर्छुु भनिन् । पँधेरीलाई हजुरआमाको धेरै माया लाग्यो । ‘आमा पैसा छैन नि’ भनिन् । हजुरआमाले बारी बेचिदिन्छु अनि त्यही पैसाले तलाईं पढाउँछु भनिन् । एसईई दिएर त्यसै बसेकी पँधेरी पनि पढ्न पाउने कुराले खुसी भइन् । ओहो मेरो शिवरात्रि साँच्चै राम्रो भयो भन्दै हजुरआमाको काखमा पल्टिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?