+
+

महामारीले छेकेन होटलमा लगानी, पाइपलाइनमा दुई दर्जन पाँचतारे

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन २५ गते १८:५७
निर्माणाधीन हिल्टन होटलको स्केच ।

२५ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारीले होटल उद्योगमा हुने दीर्घकालीन लगानीमा असर नगरेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार नेपालमा अहिले दुई दर्जनभन्दा बढी पाँचतारे स्तरका होटल पाइपलाइनमा छन् । यीमध्ये केही निर्माणको चरणमा छन् भने केही निर्माणको पूर्वतयारीमा ।

सरकारको मापदण्डअनुसार काठमाडौं उपत्यकामा निर्माण हुने होटल पाँचतारे वर्गीकरणभित्र पर्न कम्तीमा १०० कोठा चाहिन्छ । उपत्यका बाहिर भने ८० कोठा भन्दा माथिको होटलले पाँचतारे मान्यता पाउँछ ।

पर्यटन विभागका अनुसार २७ वटा ठूलो क्षमताका होटल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को प्रक्रियामा छन् । यीध्ये केहीले अनुमानित लगानी खुलाएका छन् भने कतिपयले खुलाएका छैनन् ।

आकर्षण अझै काठमाडौंमा

ईआईए प्रक्रियामा रहेका धेरैजसो होटेल काठमाडौं उपत्यकामा खुल्नेछन् । बाहिर रुपन्देही र बाँकेमा बढी आकर्षण देखिएको छ ।

रुपन्देही जिल्लामा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको छ । बाँकेमा भने भारतीय पर्यटक लक्षित लगानी बढिरहेको छ । बाँकेमा क्यासिनो कल्चर फस्टाइरहेको छ ।

मानसरोवर जाने भारतीय पर्यटकको प्रवेशद्वार पनि हो, बाँकेको नेपालगञ्ज । पछिल्लो समय नेपालगन्जमा स्तरीय होटलमा लगानी बढिरहेको छ । काठमाडौं उपत्यकाबाहिर काभ्रेमा पनि होटलमा लगानी थपिने क्रममा छ ।

होटल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठ पर्यटकीय प्रडक्ट बिस्तार नभएसम्म बाहिर लगानीकर्ता हच्किने हुनाले बढी लगानी उपत्यकाभित्रै भएको बताउँछन् । यसकारण पर्यटकीय गतिविधिलाई देशभर बिस्तार गर्न सरकारलाई उनको सुझाव छ ।

पाइपलाइनमा रहेका अधिकांश होटलको लगानी २५ अर्ब रुपैयाँभन्दा माथि छ । ठूलो क्षमतामा होटल निर्माण गर्न विभागमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न आएका कतिपय होटलले भने लगानी खुलाएका छैनन् ।

कतिपय होटलका ईआईए प्रतिवेदन कोरोनाकालभन्दा अगाडिको अनुमानमा आधारित भएकाले मूल्यांकनमा कम लागत देखिन्छ । विभागमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको कम्पनीले बनाइरहेको शेराटन काठमाडौं होटलको अनुमानित लगानी ५ अर्ब रुपैयाँ मात्र खुलाइएको छ । कम्पनीले यो होटलमा १२ अर्ब रूपैयाँ लगानी हुने बताएको छ ।

ठमेलदेखि रारासम्म पाँचतारे होटल

वातावरणीय प्रभाव मूल्याकनमा आएका होटलको विवरण अनुसार ठमेलदेखि रारासम्म पाँचतारे होटल निर्माणको योजना छ । रारा राष्ट्रिय निकुन्जमा ‘रारा परियोजना’ले २२५ कोठाको होटल खोल्न ईआईए प्रक्रिया थालेको छ ।

चौधरी ग्रुपले झम्सिखेलमा १८० कोठाको सिजी होटल्स एण्ड रिसोर्ट खोल्ने प्रक्रिया थालेको छ । रुपन्देहीमा होटल पवन प्यालेसले १४१ कोठाको होटेल निर्माण गरिरहेको छ । काभ्रेको मण्डनदेउपुरमा १४९ कोठाको होटल द ब्लू माउण्टेन बन्दैछ ।

त्यस्तै, काठमाडौंको नक्सालमा होटल हिल्टन निर्माणको अन्तिम चरणमा छ । यसको लगानीकर्ता जगदम्बा हस्पिटालिटी हो ।

पाइपलाइनका पाँचतारे होटल

होटेल कोठा/बेड संख्या अनुमानित लागत
सिटी होटल, ताहाचल १५६/३१२ नखुलेको
द म्यासिफ होटल, ग्वार्को ३०२/४७५ ४ अर्ब ८१ करोड
सिद्धार्थ इन्टरनेशनल होटल, रुपन्देही ८१/१३२ नखुलेको
द सेन्चुरियन होटल, विराटनगर १०७/१६७ १ अर्ब ४८ करोड
होटल क्राउन इम्पेरियल, काठमाडौं १३१/१८० १ अर्ब
शेराटन काठमाडौं होटल, ठमेल २२५/४५० १२ अर्ब
होटल फरेष्ट इन, बुढानीलकण्ठ नखुलेको/१०२ नखुलेको
रारा परियोजना, रारा राष्ट्रिय निकुञ्ज २२५/३२५ ५० करोड
एशियन इन्टरनेशन रिजेन्सी, रुपन्देही १०३/१७६ २ अर्ब ४० करोड
वेस्टार हस्पिटालिटी, बानेश्वर १२२/२४४ १५ करोड
द जिंक काठमाडौं, झम्सीखेल ११४/१९६ २५ करोड
द मेट्रोपोलिटन होटल, सुकेधारा ९८/१९० नखुलेको
होटल हिल्टन, नक्साल १३०/३५० नखुलेको
सिभिल होटल, बागदरबार ११५/३०६ १ अर्ब २५ करोड
होटल शहेन्सा इन्टरनेशनल, धापासी १०१/१८० ६० करोड
काठमाडौं सेन्ट्रल होटल, क्षेत्रपाटी ११४/१९६ नखुलेको
होटल ल्हासा इन्टरनेशन, लाजिम्पाट १०८/१७७ नखुलेको
सिजी होटल्स एण्ड रिसोर्ट, झम्सीखेल १८०/३०० १ अर्ब ६७ करोड
सेदी लक्जरी होटल, कास्की १५०/२५० २ अर्ब १० करोड
होटल मोक्सी, कमलादी ९४/२०० १ अर्ब ३५ करोड
होटल ब्लू माउण्टेन, काभ्रे १४९/२५० नखुलेको
मार्स हस्पिटालिटी, रुपन्देही १२५/२०० नखुलेको
होटल पवन प्यालेस, रुपन्देही १४१/२३१ ७३ करोड
होटल लालचन, बाँसबारी १२२/२०० ५० करोड
कोर्टयार्ड होटेल बाँके नखुलेको नखुलेको
होटेल सेफ्रोन सि.के. रुपन्देही ८१/१३० १ अर्ब ५० करोड
द सिप्रभ्य होटल एण्ड रिसोर्ट ट (द ओवराय) रविभवन ८८/१६० नखुलेको

स्रोतः पर्यटन विभाग

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?