 
																			आफूलाई समाजको सर्वश्रेष्ठ प्राणी दाबी गर्छ, मान्छे । यही मान्छेको भीडमा कतिपयको मानवता हराउँछ । उनीहरू असाध्यै निर्दयी र ढुङ्गाजस्तै कठोर बन्छन् र अरुको भावनाको मजाक उडाउन पाउँदा रमाउँछन् ।
भूमिकाको बाल्यकाल मानिसहरूको संवेदनाहीन प्रश्न र उपहासको चिसोबाट कठ्याङ्ग्रिदै बित्यो ।
लैंगिक अल्पसंख्यक हुन्, भूमिका श्रेष्ठ । आफ्नो चाहनाअनुसार समाजमा भूमिका र पहिचान खोज्दा उनका अगाडि अनेक बाधा-अड्चन र सास्तीका पहाडहरू उभिए ।
उनको शरीर छोराको रूपमा जन्मियो तर मनमा महिला भावना हुर्कन थाल्यो । तन र मनबीचको यो विरोधाभासले उनको जीवन कष्टपूर्ण बनाइदियो ।
भूमिकाभित्र पैदा हुने भावनाले उनलाई कहिल्यै केटा हुन दिएन । सधैं महिला अर्थात् केटीको स्वभावतर्फ धकेलिरह्यो ।
मनको अगाडि तन कहाँ टिक्न सक्छ र ? यस्तै भयो उनको जिन्दगीमा । उनले आफ्नो तनलाई मनको काबुमा राख्न सकिनन् । मनका अघि घुँडा टेक्यो उनको तनले । मनले जे बन्न खोज्यो, त्यही बनिन् उनी ।
‘मनलाई कहाँ नियन्त्रणमा राख्न सकिँदो रहेछ र ? मनले चाहेपछि मस्तिष्क अनि शरीर पनि उसकै लयमा हिँड्दो रहेछ’ भूमिका भन्छिन् ।
पहिचानका लागि संघर्ष
भूमिका श्रेष्ठले आफ्नो पहिचानका लागि निकै लामो संघर्ष गर्नुपर्यो ।
परिवारमा तेस्रो छोरा जन्मिएपछि उनको नाम राखियो- कैलाश । ‘छोराको रूपमा जन्मिए पनि मभित्र विकसित हुँदै गएका भावनाले मलाई केटा रहन दिएन’ उनी भन्छिन्, ‘तेस्रो लिङ्गीलाई घरपरिवार समाजले हेर्ने दृष्टिकोणका कारण खुलेर भावना व्यक्त गर्ने अवस्था नै छैन ।’
सानैदेखि आमाको सारी चोलो लगाउन मनपर्थ्याे उनलाई । आँखामा गाजल, निधारमा टीका र ओठमा लिपिस्टिक लगाउँथिन् ।
चार पाँच वर्षको उमेरसम्म छोरा सानै भएकोले पनि यस्तो व्यवहार देखाएको होला सोच्थ्यो श्रेष्ठको परिवार । घर परिवारले उनलाई छोराको जस्तो व्यवहार गर्न सधैं प्रेरित गरिरहन्थ्यो । ‘छोराले फुटबल खेलोस्, केटाहरूसँग चुङ्गी खेलोस्’ यी र यस्तै यस्तै चाहन्थ्यो घरपरिवार । तर उनी केटीहरूसँग भाँडाकुटी र पुतली खेलेरै रमाइरहिन् ।
परिवारको आग्रह उनको मनले स्वीकारेन । उनको चाहनालाई परिवारले स्वीकारेन । यही असमझदारीका बीच उनलाई चिच्याएर भन्न मन लाग्थ्यो, ‘म चिच्याएर भन्न चाहन्थेँ कि म केटी हुँ तर मलाई सुन्ने र बुझ्ने कोही भएनन् ।’
उमेरका अंकहरू बदलिए तर उनको बानी व्यहोरा बदलिएन । छरछिमेक र साथीसंगीले ‘फलानाको छोरा छोरी जस्तो भयो’ भन्दै मजाक उडाउन थाले ।
मनमा विद्रोहको भावना उब्जन्थ्यो र बिस्तारै मनमनै शिथिल बनेर मनोलापमा टुङ्गिन्थ्यो- ‘मेरो वेदना सुन्ने कोही छैनन्, कसलाई सुनाऊँ ?’
पहिचानको खोजी

जैविक अस्तित्व र मनोविज्ञानको विरोधाभासको अप्ठ्यारा त छँदैथिए, समाजको पीछडिएको चेतनाका कारण उनको दुःख र कष्ट चुलिन थाले । समाजमा त्यतिबेला सामना गर्नुपरेका निकै पेचिला प्रश्न र कठोर शब्दवाण सम्झँदा उनी अहिले पनि झस्किन्छिन् । ‘लाग्थ्यो, दैवले मलाई जन्माएर ठूलै पाप गरेछन्,’ उनी विगत सम्झिंदै भन्छिन् ।
काठमाडौंको नैकापमा जन्मिएकी भूमिकाले स्कुल पढ्दा केटाको संगत गर्न थालिन् । स्कुल पढ्दा पनि उनले कहिल्यै केटाको संगत गरिनन् । यसक्रममा उनले साथीदेखि बटुवासम्मबाट दुर्व्यवहार भोगिन् । बाटोमा हिँड्दा सबैले घुरेर हेर्थे । यो त ‘छक्का’ हो भनेर अर्कै नजरले हेर्थे ।
‘स्कुल पढ्दा ‘छक्का’ र ‘गे’ शब्दको अर्थ उनलाई थाहा थिएन । तर कसैले त्यसरी सम्बोधन गर्दा मन दुख्थ्यो’ भूमिका सुनाउँछिन् । शिक्षकले केटाको बेञ्चमा बस्न भन्थे । तर उनी केटीको बेञ्चमा बस्न चाहन्थिन् । शिक्षकको आग्रह र आदेशलाई उनले नकारिन्, नतिजामा जस्तोसुकै सजाय किन भोग्नुनपरोस् ।
शौचालयको संकट
स्कुलमा केटीहरूसँग बस्दा केटा साथीहरूले निकै जिस्क्याउँथे । उनको संकट तब उत्कर्षमा पुग्थ्यो जब उनलाई शौचालयको आवश्यक पर्थ्याे । चार-पाँच कक्षा पढ्दासम्म उनलाई तेस्रो लिङ्गीबारे थाहा थिएन । उनी जहिल्यै केटी साथीहरूसँग महिला शौचालय जान्थिन् ।
त्यहाँ उनलाई ‘कहाँ जान्छे’ भनेर हेर्ने र जिस्काउने काम हुन्थ्यो । स्कुलमा हाँसोको पात्र बनाइन्थ्यो । शौचालय जाँदा ‘यो के रहेछ, आज हेर्नुपर्छ’ भनेर केटाहरू पछ्याउँथे । उनलाई न पुरुष शौचालय जाने वातावरण बन्यो न महिला ।
कैयौं दिन उनले दिसापिसाब च्यापेर राखिन् । कुनै विकल्प नभएपछि उनी ‘हाफ टाइम’मा घर गएर फ्रेस हुन थालिन् । धन्न घर नजिकै स्कुल थियो । यो एकदिनको समस्या थिएन, हरेक दिन भोग्नुपर्ने यस्ता समस्याले उनलाई स्वाभिमानपूर्वक बाँच्न मुस्किल बनाइरहेको थियो ।
कक्षा पाँचसम्म निजी स्कुलमा पढेकी भूमिकालाई सानो उमेर भएकोले कसैले जिस्काउँदा पनि खासै वास्ता हुँदैनथ्यो । तर, बढ्दै गएको उमेरसँग उनका भावनाहरू पनि विकसित हुँदै गए । उनी आफूलाई महिलाप्रति आकर्षित भएको महसुस गर्न थालिन् । आफूप्रति अरुको दृष्टिकोण र प्रतिक्रिया बुझ्न सक्ने भइन् ।
आत्मबल गिराउने समाज
भूमिका आठ वर्षको हुँदा बुबाको मृत्यु भयो । बाबुको अनुपस्थितिमा बढेको आर्थिक अभावले उनलाई बोर्डिङबाट सरकारी स्कुलतिर पुर्यायो । कक्षा ६ बाट उनको पढाइ सरकारी स्कुलमा सुरु भयो ।
एकातिर नयाँ परिवेश थियो भने अर्कोतिर आफूलाई गरेको फरक व्यवहार बुझ्न सक्नेगरी उमेर बढिरहेको थियो । ‘मन, दिमाग र व्यवहार सबै केटीको जस्तै भएकाले होला, त्यहाँ पनि केटी साथीहरू धेरै बने’ उनी भन्छिन्, ‘केटा साथी बनाउँदा यो मभन्दा फरक छ भन्ने विचार मनमा आउँथ्यो । केटी साथीहरूसँग सजिलै मन मिल्छ । कुनै पनि समस्या निर्धक्क भएर केटीहरूसँग खुलेर भन्न सक्थेँ ।’
उनले आफूलाई घुरेर हेरेको, जिस्क्याएको र फरक नजरले हेरेको अनुभूति गर्न थालिन् । नयाँ स्कुलमा शिक्षकहरुले केटा भएर केटासँगै संगत गर्नुपर्छ भनेर दबाब दिन थाले । ‘सरहरुले केटाको संगत गर, केटाको जस्तो व्यवहार गर भन्थे, तर मेरो मन मस्तिष्कमा केटीको फिलिङ्स थियो’ भूमिका भन्छिन्, ‘पढाउने सरहरुले पनि किन मेरो भावना बुझ्न सकेनन् भन्ने लाग्थ्यो ।’ शिक्षकहरुले यस्तो आग्रह दोहोर्याइरहँदा उनलाई थप यातना महसुस हुन थाल्यो ।
सरको आदेशले उनलाई बदल्न सकेन । तर मनमा दोधार बनिरह्यो- केटा भनौं, मनले मान्दैन, केटी भनौं म त्यो होइन ।
‘प्रश्नहरू आफैंमा गाह्रा हुन्छन् । तर त्यतिबेला मलाई अरूको तुलनामा गाह्रा प्रश्नहरू सोधिन्थे’ सरहरूको फरक व्यवहार सम्झँदै उनी भन्छिन्, ‘जवाफ नआउँदा केटी बन्न त खुबै आउँछ, गाजल, लिपिस्टिक लाउन खुबै आउँछ भनेर सबैका अगाडि हासोको पात्र बनाउँथे ।’
अरुको हाँसोको पात्र बनिरहँदा आफ्नै हाँसो गायब हुने रहेछ । उनले घरपरिवार, आफन्त तथा समाजका अगाडि कहिल्यै आफ्ना भावना व्यक्त गर्न पाइनन् ।
व्यापक समस्या र मानसिक यातना भोग्दै उनले मुस्किलले कक्षा ९ टेकिन् । तर समस्याका पहाडहरु उभिन थालेपछि उनी रोकिन बाध्य भइन् । ‘एकातिर शिक्षकले यो गर त्यो नगर भन्थे भने अर्कोतिर केटा साथीहरूले जिस्क्याउने’ भूमिका भन्छिन्, ‘केही सिप नलागेपछि पढ्ने मन हुँदाहुँदै पनि स्कुल छाड्न बाध्य भएँ ।’
उनी अहिले पनि आफ्नो आत्मबल कमजोर बनाउने समाजलाई सम्झिन्छिन् । उनको निष्कर्ष छ- ‘शिक्षाले कहिल्यै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई विभेद गरेको होइन रहेछ, विभेद त शिक्षा दिनेले गरेका रहेछन् ।’
स्कुलपछिको शून्यतादेखि र ब्लु डायमण्ड सोसाइटीसम्म
स्कुल छाडेपछि यातना दिने समाजसँग सम्बन्ध पातलो त भयो तर अर्को भयानक रिक्तताको समय सुरु भयो । केटाको शरीर छ, केटीको मन छ । पढाइ छुट्यो । भविष्यबारे केही थाहा छैन ।
यस्तै, अन्यौलको बीचमा उनलाई कसैले ‘हिजडा’हरुको अफिस जान भन्यो । यो शब्द सुनेर उनी थप निराश भइन् ।
एकदिन रत्नपार्कमा केटाकै पहिरनमा उभिइरहँदा उनीजस्तै साथीसँग भेट भयो । उनको कुरा सुनेपछि भूमिकालाई लाग्यो- मेरै मनको कुरा गर्ने मजस्ता मानिस अरू पनि हुँदा रहेछन् ।
उनकै सुझाव अनुरुप उनी ब्लु डायमण्ड सोसाइटी पुगिन् । लामा लामा कपाल पालेका ठूला ज्यान भएका केटाजस्ता केटीहरुलाई देखेर उनी डराइन् । उनलाई दोहोर्याएर त्यहाँ जान मन लागेन ।
लामो मनोलाप र विकल्पहीन अवस्थाले उनलाई अन्ततः त्यहीं पुर्यायो । केही समयको संगतपछि उनी त्यहाँ घुलमिल हुन थालिन् । भावना र अनुभव साटासाट पछि उनले सहज महसुस गरिन् ।
यसरी ‘कैलाश’बाट ‘भूमिका’ बन्न उनलाई १८ वर्ष लाग्यो । उनको जिन्दगीमा वास्तविक भूमिका सुरु भयो, जब उनी सोसाइटीमा छिरिन् । यसपछि उनका हरेक पाइला उज्यालोतिर लम्किन थाले ।
‘शरीर एउटा छ, मन र अनुभूति अर्को, म किन जन्मेँ होला भन्दै भगवानलाई निकै सरापेँ, किन समाजले हामीलाई स्वीकार्दैन भन्ने प्रश्नहरुले लखेटे,’ श्रेष्ठ विगत सम्झँदै भन्छिन् ।
उनको संगत आफूले जस्तै जीवन भोगेका मानिसहरुसँग भयो । समाजले हेपेको, घृणाको पात्र ठहर गरेका, घरपरिवारले नस्वीकारेका र एकप्रकारले सामाजिक बहिष्करणमा परेका साथीहरु । यद्यपि, भूमिकाको परिवार र विशेषगरी आमाले उनलाई कहिल्यै असहयोग गरेनन् ।
‘छोरो होस्, बुहारी ल्याउनुपर्छ त भन्नुभयो, तर मलाई नराम्रो व्यवहार भने मेरो परिवारले गरेन,’ भूमिका भन्छिन् ।
स्वयंसेवकदेखि ‘मिस पिंक पेजेन्ट’सम्म
डाइमन्ड सोसाइटीमा आएपछि उनले संस्थाका विभिन्न अभियानमा स्वयंसेवकको भूमिका निर्वाह गर्न थालिन् । यही क्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकबारे एक टिभीमा अन्तर्वार्ता दिइन् ।
सुरुमा आफ्ना कुराहरू राख्न पाउनुपर्छ भनेर अन्तर्वार्ता दिएपनि पछि भने उनलाई डर लाग्न थाल्यो । ‘मलाई समाजले राम्रो नजरले हेर्दैन, अब सबैले चिनेर थप मजाक उडाउँछन्, बाटोमा हिंड्न पनि समस्या हुन्छ,’ यस्तै डरहरूले छोप्न थाल्यो उनलाई ।
तर, संस्थाका संस्थापक अध्यक्ष सुनिल बाबु पन्त र अध्यक्ष पिंकी गुरुङले उनलाई मनोपरामर्श दिइरहे । कुरा बुझ्दै गएपछि उनी खुलेर कुरा गर्न सक्ने भइन् । तर, प्रत्यक्ष/अप्रत्यक्षरुपमा घर परिवारलाई समेत तनाव थपिन थाल्यो ।
तेस्रो लिङ्गी तथा यौनिक अल्पसंख्यकलाई हेर्ने समाजको दृष्टिकोण र सचेतनाको अभावको शिकार आफूमात्र नभएर परिवार पनि हुँदा उनको मन दुख्छ । ‘तिम्रो छोरो बिगि्रयो, केटाबाट केटी बन्यो, तिम्रो नाक कटायो’ जस्ता कुराहरू परिवारले समेत सुन्नुपर्ने भयो ।
सोसाइटीमा आवद्ध भएपछि भूमिका यौनिक तथा लैङ्गिक अल्पसंख्यकका हक अधिकारका बारेमा आवाज उठाउँदै हकहित र अधिकारको पैरवी गर्न थालेकी छन् । बिस्तारै उनले परिवारलाई पनि यो कुरा बुझाइरहेकी छिन् । समाजमा हुने हेला, हीनताबोध र कठोर बोलीले अझै पनि तेस्रो लिङ्गीहरू खुल्न डराउने वातावरणको अन्त्य हुनुपर्ने उनको बुझाइ छ ।
सचेतना अभियानकै क्रममा भूमिकाले २००७ को ‘मिस पिंक पेजेन्ट’ को उपाधि उचालिन् । यसले उनको मनोबल पनि उचाल्यो । ‘यसले आफ्नो अधिकारका लागि अझै केही गर्न सक्छु भन्ने मनमा विश्वास र नयाँ बाटो खुलेको महसुस भयो,’ उनी भन्छिन् । यहीबीचमा उनी उनले बैंककमा ‘मिस इन्टरनेसनल क्विन’को प्रतिस्पर्धामा जाने अवसर पनि पाइन् ।
सन् २०१९ मा बेलायतको ‘अ पोलिटिकल’ले गरेको ‘योङ लिडर’ सर्वेक्षणमा भूमिका विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा पर्न सफल भइन् । यसबीचमा उनले नेपाली चलचित्र ‘हाइवे’ र ‘कान्छी’ मा अभिनय समेत गरिन् । यद्यपि, नेपाली चलचित्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई जहिल्यै हाँसोको पात्रका रूपमा उभ्याइएको उनको गुनासो छ ।
‘हाम्रो समाजमा अझै पनि जनचेतनाको कमी छ । तेस्रोलिंगीलाई निकै तल्लो स्तरको व्यवहार गरिन्छ । हाँसोमजाक गर्ने विषय बनाइन्छ’ भूमिका भन्छिन्, ‘उनीहरू पनि समाजका अरू सदस्यजस्तै सम्मान र इज्जतका साथ बाँच्न पाउनुपर्छ ।’

चुकेको राज्य, लुकेको यथार्थ
लामो अनुभवलाई साक्षी राख्दै भूमिका भन्छिन्, ‘राज्यले तेस्रो लिंगीको हक र सम्मानका लागि केही गर्न सकेको छैन । समाजले दिने सम्मान आफ्नो ठाउँमा छ, तर राज्य यो विषयमा संवेदनशील हुनुपर्छ ।’
समाजको भीडमा मिसिंदै कहिलेकाहीं शीर्ष नेताले समेत भनिदिन्छन्- ‘न भाले, न पोथी ।’ अरुलाई हियाएर, खिसीट्युरी गरिरहँदा उनीहरु समाजमा फरक यौनिक तथा लैङ्गिक पहिचान भएकाहरु पनि छन् भन्ने भुलिदिन्छन् । यही आधारमा हुने भेदभाव, हेला, घृणा र तिरस्कारले विकराल रुप लिइरहेको भूमिकाको बुझाइ छ ।
भूमिका भन्छिन्, ‘समाजको व्यवहारका कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू खुल्न सकेका छैनन् र खुलेकाहरूले पनि पाइला-पाइलामा संघर्ष गरिरहनु परेको छ ।’
संविधानले वंशीय आधार एवम् लैंगिक पहिचानसहितको नागरिकताको हक सुनिश्चित गरेको छ । हुर्कने क्रममा स्वानुभूति भई लैंगिकताको पहिचान हुने गर्छ । तर, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले शिशु अवस्थाको कानुनी परिचय नै जीवनभरि बोक्नुपर्ने स्थिति छ ।
अड्चनः नागरिकतादेखि विवाहसम्म
आफ्नो लैंगिक विशेषता थाहा पाइसकेपछि पनि जन्मदर्ताका आधारमा बनेको नागरिकता उनीहरूले बोक्नु परिरहेको छ । कानुनी अड्चनका कारण लैंगिक पहिचानका आधारमा नागरिकता लिन वा संशोधन गर्न निकै सकस छ ।
यसबाट भूमिका र उनीजस्तै नागरिकको आत्मसम्मानमा चोट पुगिरहेकै छ । जन्मदर्ता, शैक्षिक प्रमाणपत्रहरू, नागरिकता, राहदानीजस्ता महत्वपूर्ण कागजातहरूमा आफ्नो पहिचानभन्दा फरक विवरण राखिंदा त्यसले निम्त्याउने उल्झनहरू बेहिसाब छन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू रहरले नभई बाध्यताले यौनजन्य व्यवसायमा होमिएका उनको बुझाइ छ । ‘समाजको अपमानजक व्यवहार र पहिचान अनुसारको कागजात नभएकै कारण ‘अन्य’ नागरिकता लिएका व्यक्तिहरू रोजगारीका अवसरबाट पनि वञ्चित छन्’ भूमिका भन्छिन्, ‘रोजगारीको अभावमा यो समुदायका व्यक्तिहरूलाई बाध्यात्मक यौन श्रममा धकेल्ने परिस्थिति समाजले नै निर्माण गरिरहेको छ ।’
भूमिका व्यक्तिको स्वानुभूति अनुसार लैङ्गिक पहिचान हुनुपर्ने बताउँछिन् । यो व्यवस्थालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको छ भने यसलाई सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको छ । सोही प्रकृतिका २०७३ र २०७४ सालमा भएका अन्य दुई फैसलामा पनि लैङ्गिक पहिचालाई व्यक्तिको आत्मनिर्णयको अधिकार दिनुपर्ने नजिर प्रतिपादन भइसकेको छ । तर सरकारको उदासीनताका कारण फैसलाको कार्यान्वयन अहिलेसम्म हुनसकेको छैन ।
भूमिकाले ‘अन्य’ भनेर नागरिकता लिएकी छन् । तर नामले गर्दा समस्या उत्पन्न भएको छ । नागरिकता लिँदा पुरुषको नाम थियो, अहिले ‘अन्य’ भनेर नागरिकता लिँदा विभिन्न समस्या झेल्नु परिरहेको छ ।
नेपाली कांग्रेसमा आबद्ध उनी सांसद् पदकी प्रत्यासी समेत हुन् । ‘मैले ‘अन्य’ भनेर नागरिकता लिए पनि त्यसमा पुरुषकै नाम छ’ उनी भन्छिन्, ‘यसले कति ठूलो समस्या भयो भने म लैंगिक क अल्पसंख्यकको तर्फबाट सांसदको लागि मनोनित भएर पनि मेरो नागरिकतामा पुरुषको नाम र ढाकाटोपी लगाएको फोटोले गर्दा मैले अवसर गुमाउनुपर्यो, कानुन पूर्ण भएन ।’
मुलुकी देवानी संहिताले विवाह भनेको महिला र पुरुषबीच हुने भनी परिभाषित गरेको छ । वैवाहिक समानताको कानुन नहुँदा लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरू लैंगिक विशेषता पहिचानपछि पनि जीवनसाथी छान्ने अधिकारबाट बञ्चित भइरहेका छन् ।
कानुनको अभावका कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू जीवनसाथी छान्ने अधिकारबाटसमेत बञ्चित भएका छन्’ उनी भन्छिन्, ‘कानुन अभावका कारण न जीवनसाथी छान्ने अधिकार छ न समलिङ्गी विवाह गरेकाहरूले सहज जीवनयापन गर्न सकिरहेका छन् ।’
भूमिका अहिले ब्लु डाइमन्ड सोसाइटीमा कार्यक्रम व्यवस्थापक र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालमा उपाध्यक्षको जिम्मेवारीमा छिन् ।
भूमिका विश्वका साहसी महिलाहरुको सूचीमा नेपालको तर्फबाट छनोट पनि भएकी छन् । नेपालमा लामो समयदेखि लैङ्गकि समानताको लागि आवाज उठाउँदै आएकी भूमिका श्रेष्ठलाई अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अमेरिकी राजदूतावासले सम्मान गरेको हो । ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारले मेरो कर्तव्य झन् बढ्दै गएको महसुस गरेकी छु’ भुमिका भन्छिन् ।
उनले आफू जस्ता र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको हक अधिकारका बारेमा राज्यसँग निरन्तर लड्ने अठोट गरेकी छन् । उनको जोडदार माग छ, ‘हाम्रो समुदायका सदस्यहरुको नागरिकता, राज्यको आरक्षण, स्वास्थ्य तथा शिक्षामा अन्य व्यक्ति (महिला, पुरुष) सरह हुनुपर्छ, हामीहरू समाजकै सदस्य, राज्यकै नागरिक हौं, संविधानले गरेको व्यवस्था हामीले पनि उपयोग र भोग गर्न पाउनुपर्छ ।’
९ लाख जनसंख्याको नौवत
ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङका अनुसार नेपालभर यौनिक तथा लैङ्गिक अल्पसंख्यकको संख्या करिब ९ लाख रहेको छ ।
परिवार तथा समाजबाट बहिस्कृत हुने डरले कतिपय खुलेर बाहिर आउन नसक्दा यो संख्या बढी समेत हुनसक्ने गुरुङको अनुमान छ । देशको कुल जनसंख्याको ३.१ प्रतिशत जनसंख्या यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हुने विश्वव्यापी मान्यता छ ।
‘घरपरिवार तथा समाजको डरले कतिपय खुलेर आउन सकेका छैनन्’ अध्यक्ष गुरुङ भन्छिन्, ‘समाजको यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन हुनु जरुरी छ ।’
सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । चुनावमा नागरिकता भएका अर्थात् मतदाता नामावलीमा नाम भएका उनीहरू भोट हाल्न जान्छन् । तर त्यहाँ कुन लाइनमा बस्ने, शौचालय कहाँ जाने जस्ता समस्या देखिने श्रेष्ठको अनुभूति छ ।
‘निर्वाचनमा महिला, पुरुष भनेर दुई लाइन राखिएको हुन्छ’ उनको गुनासो मिश्रति प्रश्न छ, ‘हामी जस्ता यौनिक तथा लैङ्गिक अल्पसंख्यकले कुन लाइनमा उभिने ?’ छुट्टै लाइन र शौचालयको व्यवस्थाको माग अहिलेसम्म पूरा नहुनु विडम्बनापूर्ण रहेको उनी बताउँछिन् ।
कोरोना महाव्याधिको बेला चुलिएको समस्याले करिब २० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकले आत्महत्या गर्नुपरेको श्रेष्ठ बताउँछिन् । भूकम्पको बेला टुँडिखेलमा त्रिपाल लिन जाँदा नागरिकता र अन्य प्रमाणपत्र दिन नसक्दा त्यहाँबाट लखेटिनुपरेको तीतो अनुभव उनले अझै बिर्सन सकेकी छैनन् । ‘कहाँ छ राज्य, कहाँ छ सरकार’ भूमिका भन्छिन्, ‘राज्यले सबै नागरिकलाई समान व्यवहार गरोस्, हामीलाई पनि अन्य नागरिक सरह सेवा सुविधा देओस् ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4