+
+

पाल्पाली ढाकाको अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै

पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवर्द्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुवात गरिएको हो ।

रासस रासस
२०७८ फागुन २६ गते १३:१४

२६ फागनु, पाल्पा । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवर्द्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुवात गरिएको हो ।

लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजना र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ कार्यक्रम मार्फत ‘ब्राण्डिङ’ गरिँदैछ ।

ब्राण्डिङ नै गरेर प्रमाणित गरी पाल्पाली ढाका कपडा चिनाउने अभियानमा जुटेको तानसेन नगरप्रमुख अशोक कुमार शाहीले जानकारी दिए । नेपाल र नेपालीको ब्राण्डका रूपमा विदेशमा समेत यसले पहिचान बनाएको उनले बताए ।

जिल्लामा हस्तकलाका माध्यमबाट उत्पादित ढाका कपडा देशभर उपलब्ध गराइने छ । ढाका उद्योगी सागर महर्जनले भने, ‘अब देशका ठूला सहरमा पाल्पाली ढाका कपडा सहजरूपमा उपलब्ध हुनेछ । यसका लागि पाल्पाली ढाका सङ्घले परियोजनाका माध्यमबाट उत्पादन वृद्धि गर्नेछ ।’

सङ्घले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । यसमाथि हातबाट बनेको कपडाको गुणस्तर पनि उत्कृष्ट मानिँदै आएको छ ।

यस्तो कपडालाई अझ बढी प्रचार-प्रसार गर्न सके उद्यमी र व्यापारीलाई मात्र होइन, नेपालकै अर्थतन्त्रमा समेत सहयोग पुग्न सक्छ । आकर्षक ढाका कपडा उत्पादन गर्ने उद्योगमा दक्ष कामदारको अभावले थियो । कामदार अभावमा ढाका कपडा उत्पादन न्यून मात्रा रहेकामा सीप परियोजनाको सहयोगमा अहिले बन्द उद्योग सञ्चालनमा छन् ।

पाल्पाली ढाका कपडा पाल्पाको मौलिक पहिचान हो । पाल्पा ढाका उद्योगी सङ्गठित भएपछि ढाका कपडा उत्पादन, विविधिकरण, तयारी पोशाक, बजारीकरणमा परियोजनाले सहयोग गरेपछि ढाका कपडाको उत्पादनमा वृद्धि भएको ढाका उद्यमी मनोज पौड्यालले जानकारी दिए ।

उनले भने, ‘बन्द अवस्थामा रहेका उद्योगमा अहिले धमाधम ढाका कपडा उत्पादन हुन थालेसँगै रोजगारीका अवसर सिर्जना भएको छ । ढाका कपडालाई ब्राण्डिङ गर्ने तयारी गरिएको छ । काठमाडौँमा ब्राण्डिङका लागि लोगो प्रदर्शन गरिएको छ ।’

हस्तकलाको माध्यमबाट पछ्यौरा, टोपी, टाइ, कुर्ता, कोट तथा पर्दाका लागि ढाका कपडा उत्पादन हुन्छ । फुर्सुदका समयमा यहाँका महिला उद्योगमा ढाका कपडा बुन्छन् । तानसेनकी लक्ष्मी थापाले ढाका कपडा बुनेर मासिक रु आठ हजारभन्दा बढी आम्दानी भएको बताइन् ।

ढाका उद्योगमा ढाका कपडा, तयारी पोशाक उत्पादनबाट पाल्पामा महिलाले रोजगारी पाएका छन् । यसले घर खर्च, परिवारको लालनपालनका केही खर्चको व्यवस्थापन गर्न सहज भएको हो । महिलाहरू सामान्य खर्चका लागि अरुको भर पर्ने दिनहरु ढाका कपडा बुन्न थालेपछि हटेको हो ।

रम्भा गाउँपालिकाकी उषा सिंजालीले हस्तकलाको प्रयोग गरी ढाका कपडामा बुट्टा बनाउन खप्पिस भएकी छिन् । ढाका कपडा उत्पादनका क्रममा हात तथा खुट्टाको एकसाथ प्रयोग गर्नुपर्छ । तानमा पहिला धागो हाल्ने र डिजाइन गर्ने हो ।

हस्तकलाको प्रयोग गरी विभिन्न प्रकारका बुट्टाहरु भर्ने चलन छ । मसिनो काम भएकाले एक मिटर ढाका कपडा उत्पादन गर्न झण्डै तीन–चार दिन लाग्छ । यसरी ढाका कपडा बुनेर आम्दानी गर्न पाउँदा यहाँका महिला उत्साहित बनेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?