+
धावक सन्तोषी श्रेष्ठको आत्मविश्वास :

‘विभागमा नरहेर पनि जित्न सकिन्छ !’

२०७८ फागुन  २६ गते १३:३० २०७८ फागुन २६ गते १३:३०

महिला एथ्लेटिक्समा छुटाउनै नहुने नामको रूपमा सन्तोषीले आफूलाई स्थापित गरेकी छन् । त्यसैले त उनलाई नेपाल खेलकुद पत्रकार मन्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्डमा मनोनित गरिएको छ ।

‘विभागमा नरहेर पनि जित्न सकिन्छ !’

२६ फागुन, काठमाडौं । नेपाली खेलकुदमा कि विभागीय टोली (फौजी संगठनको खेलकुद टिम)ले ‘स्टार’ जन्माउँछ, कि स्टार खेलाडी विभागमा अनुबन्ध हुन्छन् । अपवादमा पर्छिन्– सन्तोषी श्रेष्ठ ।

नेपाली एथ्लेटिक्सकी ‘गोल्डेन गर्ल’ सन्तोषीले विभागको थुप्रै ‘अफर’ अस्वीकार गरिन् । किनभने उनलाई विभागीय सहयोग विना पनि सफलता हासिल गर्न सकिन्छ भनेर उदाहरण बन्नु थियो ।

नेपालको खेलकुद विकास र खेलाडी उत्थानका लागि विभागीय टिमको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । एथ्लेटिक्स मात्र होइन, लगभग सबै खेलका अधिकांश खेलाडी अवसर पाउँदासम्म तीनवटा विभागीय टिममा अनुबन्ध छन् । किनकी विभागीय टिममा आबद्ध भएपछि नियमित आम्दानीको स्रोत हुन्छ, भविष्य सुरक्षित मानिन्छ र खेल जीवन अगाडि बढाउन सहज हुन्छ ।

२०७१ मा आयोजित ४०औं राष्ट्रिय एथ्लेटिक्समा कांस्य जितेपछि सन्तोषीलाई पनि विभागीय टोलीबाट अफरहरू आउन थाल्यो । स्नातक पूरा गरेपछि त नेपाल पुलिसको अधिकृत तहमै जागीर मिल्न सक्ने आश्वासन आयो । तर, उनी गइनन् । किन त ? सन्तोषीले बारम्बार सामना गर्नु परेको प्रश्न हो यो । तर उनी प्रश्नकर्तालाई नै प्रति प्रश्न गर्छिन्– विभागमा नरहेर पनि जित्न सकिंदैन र ?

उनले नतिजामै जवाफ दिएकी छन्, सकिन्छ ।नेपाली एथ्लेटिक्सको लामो दूरीमा राज गरिरहेकी सन्तोषीले हरेक प्रतियोगितामा विभागीय टोलीका खेलाडीसँगै प्रतिस्पर्धा गर्छिन् । पछिल्लो पाँच वर्षमा आयोजित राष्ट्रियस्तरका प्रतियोगिताको नतिजा हेर्ने हो भने शीर्ष १० भित्र पनि सन्तोषीबाहेक विभाग बाहिरका खेलाडीको उपस्थिति अत्यन्तै न्यून छ ।

म्याराथन र हाफ म्याराथनमा सन्तोषीसहित पुष्पा भण्डारी, कान्छीमाया कोजु, विश्वरुपा बुढा, राजपूरा पछाई, बृन्दा धानके श्रेष्ठ, कृष्णेस्वरी सिन्तकला, फूलमती राना, सानुमाया कार्कीलगायत धावकहरूबीच प्रतिस्पर्धा हुन्छ । सन्तोषीबाहेक सबै खेलाडी कुनै न कुनै विभागीय टोलीमा अनुबन्ध छन् ।

तर यस वर्ष भएको तीन वटै हाफ म्याराथन सन्तोषीले जितिन् । मंसिरमा नेपालगञ्जमा भएको हाफ म्याराथन २१ किलोमिटरको दूरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् ।

पुसमा भएको ‘रन फर प्रोटिन’ नामक हाफ म्याराथनमा १ घण्टा १४ मिनेट १४ सेकेन्डको टाइमिङसहित स्वर्ण जितिन् । दुई साताअघि काठमाडौंमा भएको प्रधानसेनापति हाफ म्याराथनमा १ घण्टा १३ मिनेट ४२ सेकेण्डको सुधारिएको टाइमिङसहित स्वर्ण जितेकी हुन् ।

उनलाई ५ हजार र १० हजार मिटरमा सहज लाग्छ । नेपालगञ्जको हाफ म्याराथनमा भाग लिंदा दौड पूरा गर्न सक्छु कि सक्दिनँ भन्नेमै विश्वास थिएन । तर लगातार तीनवटैमा उपाधि जितेपछि अनुभव र आत्मविश्वास बढेको छ । भन्छिन्, ‘मैले हाफ म्याराथनमा पनि दौडन सक्दिरहेछु भन्ने आफूलाई प्रमाणित गरें ।’

यद्यपि भोलिको चिन्ताले नसताएको भने होइन । उनका अनुसार नियमित राम्रो प्रदर्शन गरिरहुन्जेल जीवन चलाउन गाह्रो छैन । प्रदर्शन खस्किंदै जाँदा आउने कठिनाइबाट मुक्तिका लागि धेरै खेलाडीले विभागीय टोलीको सहारा लिन्छन् । सन्तोषीले निजी क्षेत्रको संलग्नता आवश्यक देखेको त्यही भएर हो ।

जनप्रशासनमा स्नातकोत्तर गरेकी सन्तोषी भन्छिन्, ‘जीवनमा गाह्रो सबैलाई हुन्छ । म पनि आर्थिक रूपमा सम्पन्न छैन । खेलपछि के गर्ने भन्ने प्रश्न परिवारबाटै आउँछन् । तर सफलताका लागि निश्चित लक्ष्य निर्धारण गर्नुपर्छ र त्यसबाट विचलित हुनुहुँदैन । यो कुरा मैले मेरो दाइबाट सिकेकी हुँ ।’

साग सफलतासँगै चर्चा

उनी एथ्लेटिक्समा लागेको १४ वर्षभन्दा बढी भयो । व्यावसायिक धाविका बनेको पनि चार वर्ष बढी भएको छ । यस बीचमा उनले बृहत् राष्ट्रिय र च्याम्पियनसिप गरेर पाँच वटा राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइन् । मध्यम र लामो दूरीका दौडमा फाट्टफुट्ट उपाधि जितिरहेकी सन्तोषीको करिअरको टर्निङ प्वाइन्ट भने २०७६ मा नेपालमै आयोजित १३औं दक्षिण एशियाली खेलकुदलाई मान्न सकिन्छ ।

१३औं सागमा उनले १० हजार मिटर दौडमा स्वर्ण जितिन् । यो नेपाली महिला एथ्लेटिक्स खेलाडीले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । भारतीय खेलाडीलाई मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी उनलाई ‘मिलिसेकेण्ड धाविका’ पनि भनिन्छ ।

महिला एथ्लेटिक्समा छुटाउनै नहुने नामको रूपमा सन्तोषीले आफूलाई स्थापित गरेकी छन् । त्यसैले त उनलाई नेपाल खेलकुद पत्रकार मन्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्डमा मनोनित गरिएको छ ।

चैत ८ गते वितरण हुने अवार्डको पिपुल्स च्वाइस विधामा सन्तोषीसँगै क्रिकेटका कुशल भुर्तेल, टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र फूटबलकी एन्जिला तुम्बापो सुब्बा मनोनयनमा परेका छन् । १३औं सागपछि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएकी सन्तोषी भन्छिन्, ‘देशका लागि अझै खेल्ने, अझै जित्ने रहर छ ।’

जनस्वास्थ्यको विद्यार्थी

सन्तोषी पब्लिक हेल्थ (जनस्वास्थ्य)की विद्यार्थी पनि हुन् । उनलाई खेलसँगै पढाइसँग सम्बन्धित क्षेत्रमा काम गर्ने रहर छ । उनले पब्लिक एड्मिनिस्ट्रेसन(सार्वजनिक प्रशासन) मा विषयमा स्नातकोत्तर गरेकी हुन् । पोष्ट ग्राजुएसन डिप्लोमा भने आहार स्वास्थ्य र जनस्वास्थ्य पोषणमा गरिरहेकी छिन् ।

उनलाई पहिले खेल क्षेत्रमा लाग्छु भन्ने थिएन । पढेर नै केही गर्छु भन्ने सोच थियो । ‘जनस्वास्थ्य, पोषणसँग सम्बन्धित कार्य गर्ने इच्छा छ । मलाई अनुसन्धानात्मक कार्य असाध्यै मन पर्छ’ सामाजिक कार्यमा रुचि राख्ने सन्तोषीले भनिन्, ‘तर, अहिले नै खेल करिअर छाडेर अर्कोतिर लाग्छु भनेर चाहिं सोचेको छैन ।’

सन्तोषी श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय