+
+

विमानस्थलमा श्रमिकमाथि हुने विभेद हट्यो

तेस्रोपटक कतार जान हिंडेका पोखराका अर्बिन दर्लामी विमानस्थलमा श्रम डेस्क हट्दा श्रमिकमाथि सरकारबाटै हुने एउटा विभेद हटेको महसुस भएको बताउँछन् । ‘खादा–माला लगाउनु सम्मान हैन, समान व्यवहार पाउनु सम्मान हो । मैले श्रमिक भएकै कारण विमानस्थलमा विभेद झेल्नुपर्ने अवस्था रहनु भएन’ दर्लामी भन्छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०७८ फागुन २७ गते १७:५६

२७ फागुन, काठमाडौं । चितवनको राप्ती नगरपालिकाका राजेन्द्र बलले ४ वर्षअघि साउदी अरब जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाएको सास्ती कहिल्यै बिर्सनसक्ने छैनन् ।

अन्य भिसामा जानेहरु भने सुरु–सुरु विमानस्थलभित्र पसिरहेका थिए । आफू भने श्रमिकका रुपमा जान लागेकै कारण एक घण्टाभन्दा बढी अलग लाइनमा बस्नुपर्दा उनले आफ्नै देशमा दोस्रो दर्जाको नागरिकको व्यवहार महसुस गरेका थिए ।

बिहीबार फेरि साउदी जान विमानस्थल पुगेका बललाई छुट्टै लाइन बस्नु परेन । सरकारले बुधबारबाट श्रम डेस्क हटाएर विमानस्थलमा सबै द्वार प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । अब श्रमिक भएकै कारण विमानस्थलमा फरक लाइन बस्नुपर्ने र श्रम डेस्कका कर्मचारीबाट अनेक खप्की खानुपर्ने अवस्था हटेको छ । ‘हामी रोजगारीका लागि जानेहरुलाई भिन्नै खालका मान्छे जसरी हेरिन्थ्यो,’ बल भन्छन्, ‘विमानस्थलमा कर्मचारी र प्रहरीले हप्किदप्कीको व्यवहार गर्थे । अब चाहीं हामी पनि अरु यात्रु जस्तै भएछौं ।’

रोजगारीकै लागि दक्षिण कोरिया हिँडेका दोलखा चरिकोटका राज परियारले विमानस्थलमा अरु यात्रुले सरह सबै प्रवेशद्वार प्रयोग गर्न पाउनु अधिकार र आत्मसम्मानको विषय भएको बताए । ‘पहिले अलग लाइनमा कोचाकोच बस्नुपर्थ्यो, लाइन बाहिरदेखि बोर्डिङ पास लिनेदेखि अध्यागमनसम्मै पुग्थ्यो,’ उनी सम्झन्छन्, ‘अरु भिसामा जानेहरु फटाफट वेटिङ रुममा पुग्दा हामी बाहिरैतिर अल्झेर बस्नुपर्थ्यो । अहिले सरकारले राम्रो निर्णय कार्यान्वयन गरेछ ।’

राजन श्रेष्ठ

तेस्रोपटक कतार जान लागेका खोटाङका राजन श्रेष्ठलाई पनि नयाँ व्यवस्थाले खुशी पार्‍यो । ‘रेमिट्यान्सले चलेको देशको विमानस्थलकै श्रम डेस्कमा अनेक बहानामा दुःख दिइन्थ्यो’, उनले भने, ‘यसलाई हटाएकोमा राम्रो लाग्यो ।’

तेस्रोपटक कतार जान लागेका पोखराका अर्बिन दर्लामी पनि श्रम डेस्क हट्दा श्रमिकमाथि सरकारबाटै हुने एउटा विभेद हटेको महसुस गरिरहरेका छन् । ‘खादा–माला लगाउनु सम्मान हैन, समान व्यवहार पाउनु सम्मान हो,’ उनी भन्छन्, ‘मैले श्रमिक भएकै कारण विमानस्थलमा विभेद झेल्नुपर्ने अवस्था रहनु भएन ।’

अर्बिन दर्लामी

सरकारले विदेश जान श्रम स्वीकृति लिएकाहरुलाई छुट्टै ढोकाबाट विमानस्थल प्रवेश गराउने व्यवस्था गरेको थियो । श्रम डेस्कले श्रम स्वीकृतमा छाप लगाइदिएपछि मात्र बोर्डिङ प्रक्रिया अगाडि बढाइन्थ्यो । श्रम स्वीकृति जाँच गर्न डेस्कमा बसेका कर्मचारीले विभिन्न कागजात देखाउन लगाएर दुःख दिने गरेको गुनासो थियो ।

सरकारले अनलाइनबाटै श्रम स्वीकृति जारी गरेर अध्यागमनसँग लिंक गरेपछि श्रम डेस्कको औचित्य सकिएको थियो । तर, विमानस्थलमा अनेक बहाना गरेर अवैध असुली गर्न पल्केका कर्मचारीले विमानस्थलमा डेस्क नहटाउन लबिइङ गरेका थिए ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले डेस्क हटाउने निर्णय गरेपछि त्रिभुवन विमानस्थल उड्डयन कार्यालयले अरु प्रवेशद्वारबाट पनि श्रमिक जान पाउने प्रबन्ध मिलाएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा ३ लाख ५० हजारभन्दा धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरे । दैनिक सरदर २ हजार श्रमिकले श्रम डेस्कमा सास्ती बेहोर्दै आएका थिए ।

 

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई छुट्टै लाइनमा बस्नुपर्ने व्यवस्था हटेपछि यसअघि प्रयोग हुँदै आएको ढोकाबाट अन्य भिसाबाहक पनि प्रवेश गर्न थालेका छन् । तर विमानस्थलमा प्रवेश गर्न कुनै पनि द्वारमा लाइन लाग्नु पर्ने अवस्था भने देखिएन ।

फोटो/भिडियो : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?