+
+

के डीएमटी आध्यात्मिक अणु होला त ? 

आधुनिक विज्ञानले आत्माको अस्तित्व स्वीकार गर्दैन तर चेतनाका बारेमा धेरै-थोरै अध्ययन भएको छ। चेतना सारै जटिल विषय हो।

डा. कमल ढकाल डा. कमल ढकाल
२०७८ फागुन २९ गते १२:३०

अमेरिकाको सुन्दर टापू हवाईको हनलूलूमा भैरहेको एउटा वैज्ञानिक सम्मेलनमा भाग लिन म त्यतातिर हान्निएको थिएँ। यस्ता सम्मेलनमा प्राय:जसो आफ्नो अनुसन्धानको नतिजा प्रस्तुत गरिन्छ। आफ्नो विषयमा अरुले के काम गरेका छन् भन्नेबारेमा जानकारी लिन पाइन्छ। मजस्ता भर्खर करियर निर्माणको यात्रा सुरु गरेकालाई नेटवर्किंग गरी आफ्नो पहिचान स्थापित गर्ने राम्रो फोरम उपलब्ध हुन्छ।

मेरो अनुसन्धान दृष्टि विज्ञान (आँखा र आँखासँग सम्बन्धित मस्तिष्कको भाग) सँग केन्द्रित थियो। म यिनै विषयबारे कसले के कस्ता कार्यपत्र प्रस्तुत गर्दैछन् र कुन कुन कुराको छलफलमा भाग लिने/नलिने भन्ने कुराको सूची बोकेर गएको थिएँ।

एक साता लामो उक्त सम्मेलनको तेस्रो दिन नर्वेका एकजना प्रोफेसरको नेपालीमा जैविक घडी भन्न सकिने ‘सार्केडियम रिदम’ बारेको शोधपत्र सुन्न जान सँगै आएको मेरो इरानी साथी इब्राहिमले आग्रह गरे। यसबारे मलाई खास चाख थिएन। तर पनि मलाई कहिलेकाहीं निद्रा राम्रो नपर्ने समस्या भएकोले म जान तयार भएँ। किनकि निद्राको बारेमा सके जति कुरा बुझ्न चाहन्थें। यसबारे सम्पूर्ण ज्ञान अहिलेसम्म विज्ञानलाई पनि छैन।

सार्केडियम रिदम (जैविक घडी) नै हामीलाई सुताउने र उठाउने घडी हो भन्ने कुरा लगभग यकिन भैसकेको छ। यसै विषयको खोज गरेको हुनाले सन् २०१७ को मेडिसिनमा दिइने नोबेल पुरस्कार जेफ्री सी हल, माइकल रसब्यास र माइकल डब्लू यङलाई दिइएको थियो। उनीहरूको अनुसन्धानले यो जैविक घडीले कसरी काम गर्छ र यो कसरी सञ्चालित हुन्छ भनेर स्पष्ट पारेको छ।

यसलाई व्याख्या गर्दा अलि बढी प्राविधिक हुने जोखिम बुझेर म यहाँ अति सामान्यीकरण गरेर भावार्थ प्रस्तुत गर्दैछु।

हाम्रो जैविक घडीमा आन्तरिक रूपमा २४ घण्टाको लय छ/हुन्छ जुन सूर्यको प्रकाशको उज्यालो/अँध्यारो चक्रद्वारा सञ्चालित हुन्छ। हाम्रो आँखामा भएका विशेष प्रकारका कोषहरूले सूर्यको प्रकाशमा भएको निलो तरङ्गको मापन गर्दछन् र त्यो संकेत मस्तिष्कको हिप्पोक्याम्पसमा रहेको सुपर कायज्मेटिक केन्द्रमा पुर्‍याउँदछन्। यसको नजिकै पाइनियल ग्रन्थी रहेको हुन्छ। जब उज्यालो घट्छ वा भनौं बाहिरको प्रकाशमा निलो तरङ्गको मात्रा घट्छ, तब पाइनियल ग्रन्थीले मेलाटोनिंन भन्ने हर्मोन निकाल्न थाल्दछ। यसले गर्दा हामीलाई निद्रा लाग्न सुरू हुन्छ। मेलाटोनिंनको निर्माण सूर्यास्त वा सूर्यको किरण रातो रंगमा बदल्न थालेपछि सुरु हुन्छ। मध्यरातमा यो चरम सीमामा पुग्छ र जब बिहान हुन थाल्छ, यो मेलाटोनिंन फेरि पातलिंदै जान्छ र हामी बिउँझन्छौं।

यसरी यो मेलाटोनिंन बन्ने र टुक्रिने चक्र हाम्रो जीवनभर चलिरहन्छ। तर यो मेलाटोनिंन फेरि त्रिप्टोफान भन्ने एउटा अमिनो एसिडबाट बन्छ जुन हामीले खाने खानाहरूबाट शरीरले लिन्छ।

अहिले धेरै मानिसलाई निद्राको समस्या हुने एउटा कारण कृत्रिम उज्यालो (बिजुली बत्ती, मोबाइल वा कम्प्युटर स्क्रिन) पनि हो। यसमा निलो तरङ्गको मात्रा अत्यधिक हुन्छ। हाम्रा पुर्खाले साँझको बेला प्रयोग गरेका बत्ती जस्तै, मैन बत्ती वा तेल, आगो इत्यादिमा प्रायःजसो रातो र पहेलो रंग बढी मात्रामा हुन्छ। बेलुका भएपछि सूर्यको प्रकाश पनि रातोतिर परिवर्तन हुँदै जान्छ। त्यसैअनुसार हाम्रो सार्केडियम रिदम बनेको हुन्छ तर, आधुनिकतासँगै हामीले प्रयोग गर्ने बिजुली बत्तीको उज्यालो र मोबाइल/कम्प्युटरबाट आँखामा छिर्ने प्रकाशले हाम्रो जैविक घडीको लय नराम्ररी बिगारिदिन्छन्। अनिद्रासहित महत्त्वपूर्ण समस्याहरू सिर्जना हुनुमा साँझ वा रातिको कृत्रिम उज्यालो प्रमुख कारणमध्येको एक हो।

डीएमटी के हो ?

वैज्ञानिक सम्मेलनको क्रममा सार्केडियम रिदमबारे आधा घण्टाको प्रस्तुतिमा ती वैज्ञानिकले एउटा अचम्मको तत्वको बारेमा कुरा गरे। मैले पहिला कतै यसको नाम  सुनेकै थिइनँ। त्यो हो- डीएमटी अर्थात् डाइमिथाइल त्रिप्टामाइन।

उनले भने- मेलाटोनिंनको सिन्थेसिस त्रिप्टोफानबाट हुन्छ तर केही विशेष परिस्थितिमा यही त्रिप्टोफानबाट शरीरमा डीएमटी पनि बन्न सक्छ। यस्तो अवस्थामा मानिसले आफूलाई एकदमै आनन्द महसुस गर्छ र उसले र आफूलाई पूर्ण ‘इन्लाइटमेन्ट’ भएको ठान्दछ। त्यसैले मानिसहरू यसलाई आध्यात्मिक अणु पनि भन्दछन् तर विज्ञानले यसलाई मेन्टल हयालुसिनेसन भन्छ। यसलाई यसरी बुझौं मेलाटोनिंन र डीएमटीको कच्चा पदार्थ एउटै हो- त्रिप्टोफान।

हाम्रा धर्मशास्त्रमा लेखिएका सबै कुरा झुटा हुन् म भन्दिनँ। हामीले वैज्ञानिक दृष्टिकोणबाट खोज्ने–बुझ्ने हो भने ती कुराहरूबाट भौतिक विज्ञानले जस्तो पानीबाट बिजुली निकाल्न नसके पनि जीवनलाई नै बिजुलीमय बनाउन भने पक्कै सकिन्छ

उपमन्यु ऋषिको रगत मेरो नसा-नसामा बगेको भएर पनि होला, मलाई यो कुरा सुन्नेबित्तिकै लाग्यो- हाम्रै पूर्वीय दर्शनमा भन्न खोजिएको इनलाइटमेन्ट कतै ध्यान र साधनाद्वारा मस्तिष्कमा प्राकृतिक रूपमा नै यही डीएमटी जम्मा भएर त होइन ?

गीताको अध्याय–२ श्लोक ६९ मा भनिएको छ- ‘या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी। यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने:। यो श्लोकको मानिसले आआफ्नै अर्थ निकाल्छन्। यसको शाब्दिक अर्थ हुन्छ- ‘सामान्य मानिसका लागि रात मुनिका लागि दिन हुन्छ।’

अझ ब्रह्मपुराणमा त यसो भनिएको छ- ‘ब्रह्ममुहूर्ते या निद्रा सा पुण्यक्षयकारिणी’ अर्थात् ब्रह्ममुहूर्तमा सुत्ने मानिसको पुण्य क्षय हुन्छ। हाम्रो धर्मशास्त्रमा ब्रह्ममुहुर्तमा उठ्नुपर्छ भनेर ठाउँ–ठाउँमा भनिएको छ।

अहिलेसम्म हामीले जानेको जो जति बुद्ध, ऋषिमुनिहरू थिए वा छन्, ती सबै कुनै पनि सुताहा थिएनन् र सबै प्राय: ब्रह्ममुहूर्तमा नै उठेको पाइन्छ उनीहरूको जीवनी पढ्दा।

यसको कारण यो हुनसक्छ कि बिहान सबेरै उठ्दा हाम्रो शरीरमा भएको त्रिप्टोफान सबै मेलाटोनिंनमा परिणत नभइसकेको हुन सक्छ। यदि यसो हो भने त्रिप्टोफानबाट डीएमटी बन्ने सम्भावना रहन्छ तर त्रिप्टोफानबाट सजिलै डीएमटी बन्दैन। त्यसो हुन्थ्यो त सबै बिहान ४ बजे उठ्ने सैनिक वा प्रहरी जवान वा अरू जो पनि सबै खुसी र बुद्ध भैसक्थे।

सायद यसका लागि अरु कुनै प्रक्रियाको आवश्यक पर्छ जसबारे आधुनिक विज्ञानले अहिले केही भन्न सकेको छैन। योग र ध्यान कतै त्रिप्टोफानबाट डीएमटी बन्नमा सहयोगी भएका त छैनन्। यसको खासै अनुसन्धान भएको जस्तो मलाई लाग्दैन तर गर्न सकेमा रोचक विषय हुनसक्छ।

डीएमटी पहिलोपटक जर्मन रसायनशास्त्री रिचर्ड मान्स्केले सन् १९३१ मा संश्लेषित गरेका थिए। ब्राजिलका रसायनशास्त्री ओस्वाल्डो गोन्काल्भ्स डे लिमाले यसलाई बोटबिरुवामा प्राकृतिक रूपमा हुने अल्कालोइडको रूपमा पत्ता लगाउन १५ वर्ष लगाए। हंगेरीका रसायनशास्त्री स्टिफन साजारा यसको साइकोट्रोपिक प्रभावहरूको वैज्ञानिक रूपमा अध्ययन गर्ने पहिलो वैज्ञानिक हुन्।

पेरुका अमेजन शामन्स र आयुवाश्का 

हरेक वर्ष हजारौं मानिस अमेरिका र युरोपबाट पेरुको अमेजन बस्तीमा अयाहुआस्का सेवन गर्न जान्छन्। किनकि ती देशहरूमा यसको प्रयोग प्रतिबन्धित गरिएको छ। धेरैजसो मानिसहरू आफ्नो मानसिक रोग ठिक हुन्छ भन्ने आशामा त कतिपय भने लहलहैमा लागेर।

पेरु र ब्राजिलतिर बसोबास गर्ने अमेजन जनजाति एकदमै प्राचीन सभ्यता बोकेका जनजातिहरू हुन्। उनीहरूले मानिस बिरामी हुँदा वा प्रकृतिबाट शक्ति प्राप्त गर्न भनेर एक विशेष प्रकारको पेय पदार्थ प्रयोग गर्छन्। यसलाई आयुवाश्का भन्ने गरिन्छ।

यो ब्यानिस्टेरियोप्सिस क्यापी भनेर चिनिने अमेजनको जंगलमा पाइने एक जडीबुटीबाट बनाइन्छ। यसमा अर्को एउटा जडीबुटी (पेरुमा प्रायः चाक्रुनामा भनिन्छ) को मिश्रणबाट बनेको हुन्छ। यो एक बिरुवाको औषधि हो जुन शताब्दीयौंदेखि अमेजनमा उपचार र आध्यात्मिक उद्देश्यका लागि प्रयोग हुँदै आएको छ। यो चिया खाए जस्तो वा रक्सी पिए जस्तो जतिखेर खान मन लाग्यो त्यतिखेर खान पाइने वा खाने वस्तु पनि होइन। यसका लागि एक विशेष पूजा गरिन्छ जुन स्थानीय जातिका शामन भनिने विशेष मान्छेले मात्र जान्दछन्। शामन भनेको हाम्रो भाषामा धामी जस्तै हो।

आयुवाश्काको मुख्य प्रभाव भनेको यसले मानिसको इगोलाई क्षणभरमै खरानी बनाइदिन्छ। यसले गर्दा उसको मन र शरीरबीचको पर्खाल टुट्छ र उसले ईश्वर, प्रकृति, ब्रह्माण्ड, सृष्टि अथवा जे नाम दिनुस्, त्यससँग एकाकार भएको अनुभूति गर्छ। आयुवाश्का सेवन गर्ने अधिकांश मानिस आफ्नो धेरै रोगहरू निको भएको र शब्दमा व्याख्या गर्न नसकिने एक अभूतपूर्व अनुभव हुने बताउँछन्। पछिल्ला वैज्ञानिक शोधहरूले पनि आयुवाश्काले ‘मेन्टल डिसअर्डर’हरूमा सहयोगी भूमिका खेल्ने देखाएका छन् र केही वैज्ञानिकहरुले यसको अनुसन्धान जारी राखेका छन्। पेरुका लागि यो देशकै एउटा आकर्षक आयस्रोत बन्दै गएको छ। यसका लागि मानिसहरूले लाखौं खर्च गर्छन्।

आयुवाश्काले कसरी काम गर्छ ?

अहिले युरोप र अमेरिकाका धेरैजसो मानसिक स्वास्थ्य केन्द्रमा बुद्धको विपस्यना ध्यानलाई तनाव र विशाद निरूपण गर्ने एक प्रमुख विधिको रूपमा लिइएको छ। यसलाई उनीहरूले माइन्डफुलनेसको लेपन लगाएर बुद्ध धर्मबाट पर राख्न खोजेका छन्। धेरैजसो अमेरिकी र यूरोपेली विश्वविद्यालयले मेडिकल र साइकोलोजिक कोर्समा यो बुध्दको ध्यान र अष्टाङ्ग मार्गलाई केही परिमार्जन गरी समावेश गरिसकेका छन्

म आफैं विज्ञानको विद्यार्थी हुँ। कुनै त्यस्तो व्यक्तिवादी ईश्वर वा शक्ति वा त्यस्तो कुनै अन्धविश्वासमा आस्था म आफू राख्दिनँ र म प्रिय पाठकहरूलाई पनि यही सल्लाह दिन्छु। माथि उल्लेख भएका सन्दर्भहरू यो विषयवस्तु तयार पार्नका लागि उल्लेख गरिएका हुन्।

तर, हाम्रा पुर्खा वा धर्मशास्त्रमा लेखिएका सबै कुरा झुटा हुन् पनि म भन्दिनँ। हामीले वैज्ञानिक दृष्टिकोणबाट खोज्ने–बुझ्ने हो भने ती कुराहरूबाट भौतिक विज्ञानले जस्तो पानीबाट बिजुली निकाल्न नसके पनि जीवनलाई नै बिजुलीमय बनाउन भने पक्कै सकिन्छ।

 अयाहुआस्का बि. क्यापी वनस्पतिबाट बनाइन्छ जसमा माथि उल्लेख गरिएको डीएमटी तत्व अत्यधिक धेरै पाइन्छ। तर हाम्रो शरीरमा निस्कने धेरै हर्मोन छिट्टै नै टुक्रिहाल्छन्। जस्तै, मैले यसअघि यो मस्तिष्क र गाँजा लेखमा पनि भनेको थिएँ- हाम्रो शरीरभित्र आफ्नै गाँजाको प्रणाली छ जसलाई इन्डोक्यानिबोइड भनिन्छ र हामी खुसी हुने भनेको हाम्रो शरीरभित्रकै गाँजाको अणु सीबीडी निस्केर हो तर यो पनि छिट्टै टुक्रिने हुनाले हामीले अनुभूति गर्ने प्रायः सबै खुसीहरू पनि उत्तिखेरै हराउँछन्।’

त्यस्तै, यो डीएमटी पनि शरीरमा छिट्टै टुक्रिन्छ। त्यही भएर ती पेरु र ब्राजिलका शामनहरूले अर्को एउटा वनस्पतिमा मिसाउँछन्। त्यो वनस्पतिमा मोनोमाइन अक्सिडेज अवरोधकहरू हुन्छन्। यसले डीएमटीलाई टुक्रिनबाट जोगाउँछ। त्यसैले आयुवाश्काको प्रभाव धेरै समय रहने गरी प्रभावकारी हुन्छ। त्यसैले यो परम्परामा धामी–झाँक्री जस्तै देखिए पनि यसमा गहिरो विज्ञान छ। यसलाई लिएर धेरै सिनेमा र डकुमेन्ट्री बनेका छन् भने पुस्तकहरू पनि छापिएका छन्।

सन् १९९०-९५ को बीचमा अमेरिकन मानसिक रोगका डाक्टर एवं क्लिनिकल साइकोलोजीका प्राध्यापक रिक स्ट्रासम्यानले डीएमटी बारे अनुसन्धान गरेका थिए, युनिभर्सिटी अफ न्यू मेक्सिको हस्पिटलमा जहाँ अहिलेसम्म कार्यरत छन्। डा. स्ट्रासम्यानले सुरुमा आफ्नो क्लिनिकल कामलाई डीएमटीको शारीरिक प्रभावहरू रेकर्ड गर्नमा सीमित राखे। जस्तै, हृदय गति र रक्तचाप किनकि उनले सकभर यसलाई धार्मिक वा आध्यात्मिक लेपन लगाउनबाट रोक्न खोजे तर सबै सहभागीले एउटै अनुभव बताएपछि आध्यात्मिक लक्षण अस्वीकार गर्न सकेनन्। उनले पछि यसैको बारेमा एउटा पुस्तक लेखे जुन सारै चर्चित पनि भयो। उनको लेखेको पुस्तक हो- डीएमटी: द स्पिरिट मोलिक्युल

यो पुस्तक सन् २००० मा प्रकाशनपछि यति धेरै चर्चित भयो कि यसका बारेमा सन् २०१० मा एउटा डकुमेन्ट्री सिनेमा नै बन्यो।

स्ट्रासम्यानले डीएमटीलाई ‘आत्मा अणु’ भनेका छन्। उनको पुस्तकमा उनले थप व्यख्या गर्दै भनेका छन्- ‘डीएमटी प्रकृतिमा सर्वव्यापी छ। परीक्षण गरिएको हरेक स्तनपायी (मानव सहित) ले यसलाई अन्तर्जात रूपमा उत्पादन गर्दछ। कम्तीमा ५० बिरुवाहरूमा पनि यो तत्व पाइन्छ। डीएमटीका साथै अन्य हर्मोनहरू जस्तै, सेरोटोनिन, मेलाटोनिन पाइनल ग्रन्थीद्वारा उत्पादन हुन्छ। त्यसैले पाइनल ग्रन्थी एक रहस्यमय कुञ्जी हो।’ आत्माको अस्तित्व स्वीकार नगर्नेहरुलाई स्ट्रासम्यानले भने जस्तो डीएमटीलाई आत्माको अणु भन्दा अपाच्य हुन सक्छ तर यसलाई आध्यात्मिकी अणु भन्न सकिने केही आधार भने छन्। जस्तो कि डीएमटी सबै मानिसको मस्तिष्कमा थोरै मात्रामा प्राकृतिक रूपमै पाइन्छ र केही बुद्दिष्ट भिक्षुहरुको ब्रेन अध्ययन गर्दा यो डीएमटीको मात्रा अरु साधारण मानिसको मस्तिष्कमा भन्दा धेरै पाइएको पनि छ |

वास्तवमा, सत्रौं शताब्दीका प्रख्यात दार्शनिक र गणितज्ञ रेने डेकार्टेसले गणितमा कार्टिसियन कोअर्डिनेटको सुरुवात गरे। उनले पनि पाइनल ग्रन्थीलाई ‘आत्माको कुर्ची’ को रूपमा व्याख्या गरेका छन्।

आयुवाश्काको सेवन गरेका मानिसहरूको र मृत्यु-नजिक पुगेर फर्केका मानिसहरूको अनुभव लगभग एउटै पाइएको छ। एक अमेरिकी मेडिकल डाक्टर ब्रूस ग्रेसनले भर्खरै प्रकाशित पुस्तक ‘आफ्टर’ मा उनले मृत्युको मुखमा पुगेका हजारौं आफ्ना बिरामीको कथा समेटेका छन्। सारांशमा ती सबैले प्रकाश जस्तो एक चम्किलो वस्तु आफूबाट बाहिर गएको र अन्तरिक्षमा समाहित भएको बताएका छन्।

उता डा. स्ट्रासम्यानले पनि आयुवाश्काको सेवन गर्नेहरूले यस्तै कुरा अनुभव गरेको डीएमटी: द स्पिरिट मोलिक्युल पुस्तकमा उल्लेख गरेका छन्। यो घटनालाई डा.स्ट्रासम्यानले बौद्ध धर्म खासगरी बज्रयानमा प्रचलित परम्परासँग पनि जोडेका छन्।

स्रोतः पिक्जा बे

उनका अनुसार यो पिनियल ग्रन्थी गर्भ रहेको ४९ दिनमा देखिन्छ। त्यसपछि मात्र आत्मा आएर बस्छ। तिब्बती परम्परा अनुसार आत्माले शरीर छाडेको ४९ दिनसम्म अर्को शरीरमा प्रवेश गर्दैन। यस कुराको सम्पूर्ण व्याख्या गुरु पद्मसम्भवले बार्डो थडोलमा उल्लेख गरेका छन्। बार्डो थडोल निंगमा स्कुल अन्तर्गतको सबैभन्दा प्रख्यात साहित्य मानिन्छ। यसलाई अमेरिकी मानवशास्त्री वाल्टर इभान्स-वेन्जले सन् १९२७ मा अंग्रेजी भाषामा उल्था गरेर द तिबेतन बुक अफ द डेड नाम राखी प्रकाशित गरे। यसको चर्चा संसारभरि हुन गयो। द तिबेतन बुक अफ द डेड पश्चिमी संसारमा बुद्ध दर्शनको सबैभन्दा धेरै पढिएको किताबमध्ये एक हो।

स्ट्रासम्यानले उल्लेख गरेका कतिपय कुरा अहिलेको विज्ञानसँग मेल खाँदैन किनकि धेरैजसो मानिसको पाइनल ग्रन्थी सर्जरी गरेर निकालिएको हुन्छ। उनीहरूले पनि चेतना गुमाएका हुँदैनन्। आधुनिक विज्ञानले आत्माको अस्तित्व स्वीकार गर्दैन तर चेतनाका बारेमा धेरै-थोरै अध्ययन भएको छ। चेतना सारै जटिल विषय हो। यो के हो भनेर जान्न त विज्ञानले सकेको छैन तर यो मस्तिष्कको कुनै एउटा विशेष भागसँग मात्रै सम्बन्धित छ भन्ने कुरा १९९० तिरको लोकप्रिय सोच थियो। उक्त सोचमा अहिले परिवर्तन आएको छ।  

नेपालमा आध्यात्मिक पर्यटन

आधुनिक शिक्षा मंगल ग्रहमा जीवन खोज्न सक्षम छ तर, आफ्नै जीवनमा मंगल खोज्न पूर्णरुपमा असफल छ। मलाई पहिला पहिला लाग्थ्यो कि मानिसले सुखका नाममा जे जति खोजिरहेको छ वा  संग्रह गरिरहेको छ त्यो कतै न कतै तत्काल वा भविष्यमा सुख प्राप्तिको उत्कट आकांक्षाले अभिप्रेरित भएर गरिएको छ। तर नेपालदेखि युरोपसम्मको यात्रामा मैले जे जति मानिससँग अन्तरंग संवाद गर्ने मौका पाएँ, त्यो मैले सोचेभन्दा नितान्त फरक पाएँ। मानिसको जीवनमा यति धेरै दुःख, पीडा र दिक्दारी रहेछ कि  ऊ एकै क्षणका लागि भए पनि यो पीडा  बिर्सन चाहन्छ। एकछिनकै लागि भए पनि पीडा बिर्सनुलाई मानिसले सुख भन्दो रहेछ र पश्चिमको दर्शन प्रकृतिका पदार्थकै परिपरि घुमेको हुनाले सुखको कारण पनि यिनीहरुले पदार्थमै खोजिरहेका छन। यसरी प्राप्त सुख दिगो हुँदो हो त न्यूयोर्कको गगनचुम्बी भवनमा बसेर बीएमडब्लु गाडीमा चढेर बिहान–बेलुका श्रीमानसित आईफोनमा कुरा गर्दै  रेस्टुरेन्टमा डिनर खान जाने माइकल कि श्रीमती भन्दा रुकुममा दुर्गम ठाउँमा बसेकी  “ए नरेका बाउ घाँसले डोको भरियो कि भरिएन, छिट्टै भात खान आउ, नत्र मेला जान ढिलो हुन्छ” भनेर आँगनमा निस्केर भात खान बोलाउने माइलाबा कि श्रीमती अरबौं गुणा दुखी हुनुपर्ने देखिन्छ। यथार्थ त्यस्तो छैन बरु उल्टो छ।

जीवन सन्तुलित रूपमा जिउनको लागि हाम्रो पूर्वीय दर्शन नै उत्तम देखिएको छ। यसको अर्थ आधुनिक शिक्षालाई पूरै निन्दा गर्ने भनेको पनि होइन। दुवैको सम्यक् मिश्रण आवश्यक छ भन्न खोजेको मात्र हो। सुन्दा सामान्य लाग्ने दया, माया, करुणा, प्रेम, भ्रातृत्व, सद्भाव, शान्ति, सुख र रिस, राग, वैमनस्य, चोरी, हिंसा जस्ता अभौतिक वस्तुहरूको हाम्रो भौतिक देहमा प्रभाव हुन्छ। तिनीहरूको अन्तरसम्बन्ध साँच्चै नै हामीले सोचेभन्दा जटिल छ। भौतिक शास्त्रको परमाणुको संरचनाभन्दा पनि जटिलसँग बुद्धले त्रिपिटक र ऋषिमुनिहरूले वेद-पुराणहरूमा घनीभूत व्याख्या गरेर पनि यसलाई अर्थ्याउन सकेका छैनन्।

अहिलेको विश्व आक्रान्त छ। रोग, महामारी र युद्ध त छँदैछ, बढदो प्रविधि र सामाजिक सञ्जालका रूपमा आएका फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता अवास्तविक समाजले मानिसलाई झन् भन्दा झन् एक्लो बनाएका छन्। मानिस जति एक्लो भयो, त्यति धेरै असुरक्षा र बेखुसी हुन्छ र  उसले त्यति नै धेरै सरसामान र वस्तु खरिद गर्छ सुरक्षित र  खुसी हुने आशामा। यसले अन्ततः पूँजीपतिहरूलाई त फाइदै गर्ला किनकि उनीहरूका धेरै सामान बिक्ने भए,  तर  आम मानिसको मानसिक स्वास्थ्यलाई भने ठूलो घाटा गरिरहेको छ। पछिल्ला अनुसन्धानले पनि यसको पुष्टि गरेका छन्। सामाजिक संजाल धेरै चलाउने मानिसहरु डिप्रेसनको सिकार हुने सम्भावना धेरै हुन्छ। विश्व स्वास्थ्य संगठनले समेत सोसियल मेडिया एडिक्सनलाई एक लतको रूपमा स्वीकार गरेको छ। यो लत लागेका मानिसहरुलाई अवसाद, एक्लोपन, आत्म-सम्मानमा कमि, खराब निद्रा र शैक्षिक क्षमतामा कमि हुन्छ भनेर  व्याख्या गरिएको छ।

अहिले युरोप र अमेरिकाका धेरैजसो मानसिक स्वास्थ्य केन्द्रमा बुद्धको विपस्यना ध्यानलाई तनाव र विशाद निरूपण गर्ने एक प्रमुख विधिको रूपमा लिइएको छ। यसलाई उनीहरूले माइन्डफुलनेसको लेपन लगाएर बुद्ध धर्मबाट पर राख्न खोजेका छन्। धेरैजसो अमेरिकी र यूरोपेली विश्वविद्यालयले मेडिकल र साइकोलोजिक कोर्समा यो बुध्दको ध्यान र अष्टाङ्ग मार्गलाई केही परिमार्जन गरी समावेश गरिसकेका छन्।

हाम्रै छिमेकी देश भारत र थाइल्याण्डको प्रमुख आयस्रोतमा धार्मिक पर्यटन पनि एक हो। वर्षेनि हजारौं मान्छे भारत र थाइल्याण्डमा योग र ध्यान सिक्न जान्छन्। नेपालमा पनि हाम्रा पूर्वीय शास्त्रमा भएका कुराहरूलाई वैज्ञानिक तरिकाले अध्ययन गरी त्यसको प्रचारप्रसार गर्ने हो भने नेपालले प्राकृतिक पर्यटन मात्र होइन, आध्यात्मिक पर्यटनबाट पनि उत्तिकै फाइदा लिन सकिन्छ।

लेखकको बारेमा
डा. कमल ढकाल

भौतिकशास्त्रमा विद्यावारिधि गरेका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् । उनी विज्ञान र दर्शनमा गहिरो रुचि राख्छन् । यहाँ व्यक्त विचारले उनी कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?