
२९ फागुन, काठमाडौं। साउदी अरबमा एकैदिन हालसम्मकै धेरै अपराधीलाई मृत्यु दण्ड दिइएको छ ।
आतंकवादसम्बन्धी विभिन्न अपराधमा दोषी ठहर भएका ८१ जनालाई मृत्युदण्ड दिइएको हो ।
शनिबार मृत्युदण्ड दिइएकामध्ये इस्लामिक स्टेट, अल कायदा र हुथी विद्रोहीसँग आवद्ध व्यक्तिसहित अन्य आतंकवादी संगठनका सदस्य रहेका छन् ।
उनीहरू कैयौं जघन्य अपराध गरेको आरोपमा दोषी ठहर भएका व्यक्ति रहेको साउदी अरबको सरकारी समाचार माध्यम एसपीएले जनाएको छ ।
एसपीएका अनुसार मृत्युदण्ड पाउनेमा ७३ जना साउदी, ७ जना यमनी र एक जना सिरियाली नागरिक छन् । उनीहरूमध्ये केहीले ठूलो संख्यामा सर्वसाधारण एवं सुरक्षाकर्मीको हत्या गर्ने योजना बनाएका थिए ।
त्यस्तै, साउदी अरबमा अपहरण, यातना, बलात्कार, हतियार एवं बम तस्करीसम्बन्धी आरोपमा दोषी ठहर भएकालाई समेत मृत्युदण्ड दिइएको छ ।
साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको यो हालसम्मकै धेरै संख्या हो । त्यहाँ गत वर्ष समग्रमा यो भन्दा कम व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो ।
विश्वमै धेरै मृत्युदण्ड दिइने मुलुकमा साउदी अरब पनि पर्छ । त्यहाँ प्राय: अपराधीको टाउको काटेर मृत्युदण्ड दिइने गरिन्छ ।
प्रतिक्रिया 4