+
+
होली विशेष :

होली : तारुण्यको एक पर्व

होली केवल रंगहरूको पर्व मात्रै होइन । यसले लैंगिकतालाई सीधा जोड्छ । परम्परागत समाजमा यौन शिक्षाको लागि पनि होलीको महत्व विशेष छ ।

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ चैत ३ गते ६:००

पृथ्वीमा छन् सुगा–रङ्गी पिपिराहरुले गरी

हरियो रेसमी सारी लाएकी प्रमदा सरी ।।

आफ्नू शिल्प सौन्दर्य महिमाको प्रदर्शिनी

खोलिन् प्रकृतिले लाखौं फूलमा मनमोहिनी ।।

प्रत्येक पुष्पको रुप, रेखा, रङ्ग अनेक छ

तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ।।

–(वसन्त विचार/२५,२७,२८)

प्रकृतिको यौवनावस्था अर्थात् वसन्त ऋतु । यो ऋतुको वास्तविक अर्थ कविहरुले जति सायदै अरुले बुझेका होलान् । बुझ्नुको अर्थ आस्वादन गर्नु हो । आस्वादनबाटै काव्य रचिन्छ । यही वसन्तले सिर्जना भर्छ, काव्य रचाउँछ ‘वसन्त विचार’मार्फत् पनि कविशिरोमणि लेखनाथ पौड्यालले वसन्तमा काव्य रचनाको शक्तिबारे प्रकाश पारेका छन् ।

होलीसँगै सुरु हुन्छ वसन्तको उत्कर्ष । यौन र मदको संकेतसँगै असीम आनन्दको अनुभूति मिल्छ । वसन्त आफैंमा एउटा नशा हो । यहाँ फूलेका फूल नशालु पदार्थ हुन् । नयाँ पालुवा, चराचुरुंगीको चिरबिर सबै प्रणय र तारुण्यका प्रतीक हुन् । अर्थात् होली जस्ता रंगीन पर्वहरु बोकेर आउने वसन्त आफैंमा यौवनावस्था र त्यसैलाई प्रश्रय दिने समय हो ।

होलीले वातावरणमा नयाँ बहार ल्याउँछ । सहरभरि फुल्ने आरुका राता फूलले जोस, माया र कामुकताको संकेत गर्छ । पहाडलाई नै लालित्य बनाउने गरी फूलेका गुराँसहरुले सौभाग्य र खुशी भर्छन् । सहरलाई निलाम्ये बनाउने जाकाराण्डाले स्वस्थ, यश तथा गौरवको संकेत गर्छ । अर्थात् होलीमा केवल मान्छे रगिंदैनन्, सिंगो प्रकृति सिंगारिने गर्छ । मान्छेले प्रकृतिको रुटिनमा ढालेको हो । त्यसैले हामीलेसँगै प्रकृतिले पनि होली मनाउने गर्छ ।

रंग र प्रणयको प्रतीक

वसन्त ऋतु, फागु पूर्णिमा र यौनिकताको विशेष सम्बन्ध छ । विज्ञान, कला वा कानुनको दर्शन जस्तै कामुकताको दर्शन भनेको यसको केन्द्रीय नायक वरपरको अवधारणा र प्रस्तावहरूको अध्ययन हो । कामुकता र यौनिकता आंशिक रूपमा नैतिक व्यक्तित्वको गठन हो । कामुकताको दर्शनले इन्द्रीय चेतना र निश्चित जोडीप्रति रुचि देखाउने क्षमता बढाउँछ । यसैलाई बढावा दिने पर्व होली हो ।

होलीमात्रै होइन यो रंगीन समयलाई संकेत गर्ने नेपालभित्रै र बाहिर पनि अनेक पर्वहरु छन् । विक्रमशील महाविहार (सिंहसार्थ बाहु) थबहिलको गजुरदेखि भुईसम्म तोरणपताकाद्वारा अभिषेक गरेपछि सुरु हुने चकंद्यो थँबहि जात्रा, कृष्ण–राधा बीचको रंग खेललाई आधार बनाएर हुने चाँगुनारायण वंश गोपाल खट जात्रा तान्त्रिक अनुष्ठान पूजापाठसहित राधाकृष्ण रुक्मिणीको सुन्दर मूर्ती नगरपरिक्रमा गर्दै मनाइने खट जात्रा, मिथिला क्षेत्रमा मनाइने होली आदि पर्व रंग र प्रणयको प्रतीक स्वरुप मनाउने गरिन्छ ।

त्यसो त थकालीको तोरन्ल्ह, बौद्ध धर्मावलम्बीहरुको ग्याल्बो ल्होसारहरु पनि यही समयमा मनाए पनि उनीहरुको प्रयोजन अलिक फरक हुन्छ ।

नेपालमात्रै नभएर रंगहरुको पर्व होली नेपाल बाहिर पनि धुमधामले मनाइन्छ । तर ठाउँ अनुसार मौसम फरक पर्ने भएकाले समय भने यकिन हुँदैन । भारतमा यही दिन नै धुमधामका साथ होली मनाइन्छ । अमेरिकामा प्रत्येक वर्ष ३१ अक्टोबरका दिन हेलोविन पर्व रंग र अविर छ्यापाछ्याप गरी मनाइन्छ । अफ्रिकामा अत्याचारी जंगली राजा प्रिन्स बोगामाथि विजय प्राप्त गरेको खुसीयालीमा रंग दलेर नाचगान गरी पर्व मनाइन्छ । त्यसैले रंगसँग उमंग साट्ने पर्व विश्वव्यापी साझा पर्व हो ।

होली केवल रंगहरूको पर्व मात्रै होइन । यसले लैंगिकतालाई सीधा जोड्छ । परम्परागत समाजमा यौन शिक्षाको लागि पनि होलीको महत्व विशेष छ ।

भक्तपुरको दत्तात्रेय मन्दिर अघि रहेको भीमसेन मन्दिरमा होलीको विशेष मेला लाग्छ । दत्तात्रेय अर्थात् अरुभन्दा व्यापक भिन्न । यो मन्दिरमा अन्य मन्दिरमा जस्तो यौन शिक्षा दिने टुँडालको प्रयोग गरिएको छैन । तर वर्षको एकदिन यहाँ सृष्टिका लागि अत्यावश्यक प्रकृति र पुरुषको समागमसम्बन्धी ज्ञान दिने होली पर्व मनाउने गरिन्छ ।

पुरुष जननेन्द्रीयको प्रतीक काठको लिंग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीको समागम गराएर यौन शिक्षाको परिचय दिने भक्तपुरको भीमसेन मन्दिरबाटै होलीको आरम्भ हुन्छ । उपत्यकामा परापूर्वदेखिको यही हो परम्परा । यसले केवल यौन शिक्षा दिंदैन, वसन्त ऋतु र समागमको महत्वलाई पनि प्रकाश पार्छ ।

भीमसेन मन्दिरको यो तस्वीर झट्ट हेर्दा अश्लील देखिन्छ । बन्द समाजमा यो अश्लील पनि हो । तर यो परम्परा आफैंमा कठोर परम्परावादी समयमा समेत सञ्चालनमा ल्याइएको पर्व हो । त्यसैले यसलाई अश्लील होइन, पर्वको रुपमा मनाउने गरिएको छ ।

भीमसेन र द्रोपदी हुन् या राधा–कृष्णका कुरा । कतै होलिका र प्रह्लादको कथा भेटिन्छ । ठाउँ अनुसारको मौलिक कथाहरु पनि थुप्रै छन् । तर ती सबैको एउटै संकेत हो वसन्त ऋतुमा मिल्ने ऊर्जा र श्रृंगार रसको प्रधानता ।

फागुन शुक्ल अष्टमीका दिन ‘चीर स्वायगु’ सँगै भक्तपुरमा होली सुरु हुन्छ । लिंगाकार काठको टुप्पोमा कपास झुन्ड्याइन्छ । कपासलाई वीर्यको प्रतीक मानिन्छ । लिंग र योनीको समागम गराउँदा कपास खस्नेगरी धकेल्नुपर्ने, कपास खसाल्न सके घरमा झगडा नहुने मान्यता रहेको स्थानीयहरु बताउँछन् । अहिले पारिवारिक कलहको एक प्रमुख कारण यौनलाई मान्ने गर्छन्, मनोविद्हरु । यो आजको मात्रै समस्या होइन रहेछ भन्ने तथ्य यसले पनि देखाउँछ । भीमसेन र द्रौपदीलाई पुज्ने परम्परा त्यसैले पारिवारिक सुख र दीर्घायुको द्योतक पनि हो ।

दत्तात्रय आसपासका मठका पुजारी अरुण शर्मा भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म स्थानीय भाषामा एउटा गीत गाइने बताउँछन् । ‘अबिरको होलीले रिसायौ कि युवती, अबिरले तिम्रो मुहार राम्रो बनाउनेछ’ भनेर स्थानीय भाकामा गीत गाइन्छ । मन परेकी प्रेमिकातिर इंगित गरेर प्रेमीले गीत गाउने चलन छ । त्यहाँ युवतीको गालामा अबिर दल्न प्रस्ताव गरिन्छ । अर्थात् त्यही नै प्रेम प्रस्तावको चलन हो । गालामा अबिर दल्न अनुमति दिएमा प्रेम प्रस्ताव स्वीकार भएको मानिन्थ्यो । यसरी नवप्रणयको सूत्र पनि यही होली सप्ताहबाटै जोडिन्थ्यो ।

चराहरुको समागमको मौसम

होलीले प्रकृति र मान्छेमा मात्रै सुन्दरता भर्दैन । यसले चराचुरुंगीमा पनि सुन्दरता र आनन्दको आभाष दिलाउँछ । वसन्तसँगै जोडीहरु सुन्दर देखिन थाल्छन् । के मान्छे, के पशुपंक्षी, के रुखविरुवा, सबैको जीवनमा काँचुली फेरिन्छ ।

होली आफैंमा एउटा पर्वमात्रै होइन, यो सिंगो वसन्त ऋतुलाई प्रतिनिधित्व गर्ने पर्व पनि हो । होली मान्छेको यौनिकता र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध जनाउने पर्व समेत रहेको सुनाउँछिन् मनोविद् करुणा कुँवर ।

वसन्त भित्रिएपछि सबैभन्दा रमाइलो स्वर धोबी चराको बोलीमा सुनिन्छ । कहिले रूखको टुप्पामा, कहिले छानामाथिको पानीट्यांकीमा बसेर बिहान सखारै बास्न थाल्छन्, धोबी चराहरू । वर्षभरि नसुनिने कोइलीको कुहुकुहु होलीको आसपासमा निकै सुनिन्छ । काफल पाकेको सूचना दिने कोइलीको सुरिलो धुन, आफ्नी प्रेमिकाको विरहको गीत गाउने न्याउली चरी सबैले यही मौसममा आफ्नो प्रतिभा देखाउने गर्छन् । होलीको आसपासमा कोइली मात्रै होइन, दक्षिण तर्फबाट चिबे जस्ता अनेक प्रजातिका चराहरु गर्मी छल्नको लागि भित्रिने गरेको चरा विशेषज्ञ कमल मादेन बताउँछन् ।

जाडो मौसममा एकातिर खानपानको समस्या र अर्काेतिर प्रतिकूल मौसमले निष्क्रिय भएका चराहरुमा समेत होलीको आसपाससम्म आइपुग्दा जोश र उत्साह पलाएर आउँछ । वसन्तसँगै चराहरु बच्चा कोरल्ने सुरसारतिर लाग्छन् । वर्षमा एकपटक बच्चा कोरल्ने चराहरुमध्ये अधिकांशले यही समयमा समागम गर्ने चरा विशेषज्ञ मादेन सुनाउँछन् ।

यो समय आफैंमा फूल र फलले ढकमक्क हुने समय हो । लामो समयको प्रतिकूल मौसमपछि बिस्तारै अनुकूल हुँदै जाँदा सम्भोग र बच्चा कोरल्नकै लागि पनि दक्षिणतिरबाट धेरै चराहरु आउन थाल्ने मादेन बताउँछन् । यसको लागि श्रीलंका, अफ्रिकाबाट समेत पाहुना चराहरु नेपाल आउने गर्छन् ।

मानव समागमको समय

फेब्रुअरी १४ को प्रेम दिवस होस् या वसन्त पञ्चमीमा मनाइने मदनोत्सव, फागु पूर्णिमाको रंगीन उत्सव तरुण हुन् या किशोर, वयोवृद्ध हुन् या बालकहरुमा उन्माद र उमंगको सञ्चार गराउने गर्छ । वातावरणले समेत घुम्टो फेरेर तरुण र तरुणीहरुलाई प्रतिकात्मक रुपमा प्रणयको संकेत गरेको हुन्छ ।

कामदेवको दोस्रो नाम मदन हो, त्यसैले मदनोत्सवको यो समय कामदेवको ऋतु हो । ब्रजभूमिमा राधा–कृष्णको रास उत्सवको ऋतु यही हो । चरकले लेखेको कानन र कामिनीको यौवन लीलाको समय पनि यही हो । यो आजको मात्रै होइन, सयौं वर्षको भोगाइ हो जसले मानव हुन् या पशु, चल प्राणी हुन् या वनस्पति । सबैमा माधुर्यको भाव सञ्चार गराउने पर्व हो होली भन्ने देखाउँछ ।

‘मनोवैज्ञानिक रुपमा ऊर्जाशील बनाउने पर्व’

होली आफैंमा एउटा पर्वमात्रै होइन, यो सिंगो वसन्त ऋतुलाई प्रतिनिधित्व गर्ने पर्व पनि हो । होली मान्छेको यौनिकता र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध जनाउने पर्व समेत रहेको सुनाउँछिन् मनोविद् करुणा कुँवर । ‘वसन्तले हाम्रो शरीरलाई ऊर्जाशील बनाउँछ । मनमा उत्पन्न हुने आनन्द र ऊर्जाले मान्छेको यौनिक व्यवहारमा पनि प्रभाव पार्छ,’ उनी भन्छिन् ।

कुँवरका अनुसार मनोविज्ञानमा स्पर्शले गहिरो सम्बन्ध देखाउँछ । आँखाले देख्ने नयाँ पालुवासँगै मनले शीतलताको महसुस गर्छ । यो आनन्द र सजिलो अनुभूति गराउने समय हो, यो प्रणयको समय हो ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?