
३ चैत, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दाले खोलाको ढुंगा, गिट्टी बालुवासहितको गेग्रान हटाउन माग गरेका छन् । मेलम्ची खानेपानी विकास समितिलाई मागपत्र पेश गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दले आगथामी वर्षतामा बाढी आउँदा थप कटान रोक्ने गरी काम गर्न माग गरेका हुन् ।
गेग्रान हटाएर आवश्यक तटबन्धनको व्यवस्था माग गर्दै स्थानीयले आयोजनासँग छलफल गरेको समितिका कर्याकारी निर्देशक बासु पौडेलले अनलाइनखबरसँग बताए । आगामी वर्षायाममा हुनसक्ने जोखिम न्यूनीकरण गर्ने गरी खोला गहिर्याउन स्थानीयको माग छ ।
‘उहाँहरुको मागअनुसार काम गर्न आयोजनाले ठूलो खर्च गर्नुपर्छ, त्यसैले हामीले सरकारलाई नै यसबारे जानकारी गराउँछौं,’ उनले भने, ‘स्थानीयबासीले अहिलेसम्म आयोजनालाई सहयोग नै गरिरहनुभएको छ ।’
उनका अनुसार करिब २२ किलोमिटर खोला खोल्ने कााम आयोजना नै गर्न सक्ने अवस्था छैन । सरकारले आगामी चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम भइरहेको बताएको छ ।
बुधबार खानेपानीमन्त्री उमाकान्त चौधरी, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका थिए ।
मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्म जसरी पनि पानी काठमाडौं पुर्याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिएका थिए । मन्त्री चौधरीले स्थानीय प्रभावित, बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको उनले बताएका थिए ।
‘सबैका उचित माग पूरा हुन्छन्, यसतर्फ सरकार सजग छ, तर काम बन्द गर्ने काम कसैले पनि गर्नु हुँदैन, कुनै पनि हालतमा सरकारले तोकेको समय यही महिनाभित्रै काठमाडौं पानी पुर्याउनुपर्छ,’ उनले भनेका छन् ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन पाँच लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन पनि आग्रह गरे ।
काठमाडौं पानी ल्याइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको १ असारमा आएको बाढीले क्षति पुर्याएको थियो । त्यसपछि सो आयोजना हालसम्म ठप्प रहेको छ ।
प्रतिक्रिया 4