+
+

दोस्रो चरणको काम नसक्दै कमलपोखरीको उद्घाटन

बुधबार काठमाडौंको ऐतिहासिक कमलपोखरीको बुधबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे । तर, कमलपोखरी पुनर्निर्माणको गुरुयोजनाअनुसार दोस्रो चरणको काम सुरु भएकै छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते २०:१३

३ चैत, काठमाडौं । बुधबार काठमाडौंको ऐतिहासिक कमलपोखरीको बुधबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे । तर, कमलपोखरी पुनर्निर्माणको गुरुयोजनाअनुसार दोस्रो चरणको काम सुरु भएकै छैन ।

कमलपोखरीको गुरुयोजनाअनुसार पहिलो चरणको काम सकिएपछि महानगरपालिकाका मेयर शाक्यले उद्घाटन गरेका हुन् । महानगरको वडा नं. १ मा पर्ने कमलपोखरीको पुनर्निर्माण गर्न १९ असार २०७६ मा शिलान्यास भएको थियो । वडाध्यक्ष भरतलाल श्रेष्ठकाअनुसार उद्घाटन भएपनि पोखरी व्यवस्थापनको सबै काम सकिएको छैन ।

‘पहिलो चरणको काम सकाएर उद्घाटन गरेका छौं, दोस्रो चरणको निर्माणका लागि महानगरपालिकामा छलफल भइरहेको छ,’ उनले भने, ‘पोखरीको दक्षिणतर्फको भागमा हामी थप आवश्यक संरचना र पार्क बनाउँछौ ।’

उनले अब बन्ने संरचना पोखरी सुहाउँदो र पर्यटकमैत्री हुने बताए । के कस्ता संरचना बनाउने भन्ने विषय महानगरपालिका र शहरी योजना आयोगले टुंगो लगाउने र त्यसैअनुसार ठेक्का हुने उनको भनाइ छ ।

अब दोस्रो चरणमा दक्षिणतर्फ साविकमा प्रहरी बिट भएको ठाउँलगायत वरिपरि पार्क निर्माण र हरियाली विकास, खुल्ला शारीरिक व्यायाम स्थल, व्याटमिन्टन र बास्केटबल कोर्टलगायत संरचना बनाउने महानगरको योजना छ । यही काम गर्नका लागि प्रहरी बिट कमलपोखरी पुननिर्माणका क्रममा यहाँबाट स्थानान्तरण गरिएको थियो । वडाध्यक्ष श्रेष्ठ पोखरीमा घुम्न आउनेका लागि अस्थायी प्रकृतिको चमेनागृह पनि बनाउनुपर्ने अवस्था रहेको बताउँछन् ।

श्रेष्ठका अनुसार निर्वाचित भएर आएपछि पोखरीको मर्मतका लागि सानो योजना बनेको थियो । सो योजनालाई महानगरमा लगेपछि पुनर्निर्माणको गुरुयोजना नै बनेको हो । गुरुयोजनाका विषयमा गरिएका चरणवद्ध छलफलका क्रममा प्राप्त सुझाव समेटेर प्रस्तावलाई कार्यान्वयन योग्य योजनाका बनाइएको उनले बताए ।

पहिलो चरणको काम सकिंदा नै पोखरी सुन्दर भएको प्रतिक्रिया आएको भन्दै वडाध्यक्ष श्रेष्ठले थप काम अघि बढाउन महानगरपालिका आतुर रहेको जानकारी दिए ।

पोखरी पुननिर्माण गर्न र सौन्दर्य बढाउन महानगरले ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ लाग्ने अनुमान गरेको थियो । धनञ्जय कंडेल जेभीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पाएको थियो । तर, करिब ७ करोड खर्च भएर पोखरी हालको अवस्थामा आइपुगेको छ ।

१५ असार २०७७ भित्र पुनर्निर्माणको पूरा गर्ने लक्ष्य राखिएपनि समयमै काम हुन सकेन । पोखरीमा कंक्रिट प्रयोग भएपछि सम्पदा संरक्षण र नागरिक आन्दोलनका अभियान्ताहरुले विरोध जनाएका थिए । तर, महानगरपालिकाले विरोधका बीच नै पहिलो चरणको काम सकेर ‘वाटर फाउन्टेन’सहित पोखरी बनाएको छ । पोखरीमा पानीको सतह घट्न नदिन आकाशे पानी संकलन गरेर ल्याउने र बाहिरको पाइपबाट पोखरीका खसाल्न सकिने दुवैखालको विधि जडान गरिएको छ ।

‘हामीले स्थानीय र सरोकारवालासँग छलफल गरेपछि प्राप्त भएको सुझावलाई समेटेर पोखरी पुननिर्माण गरेको हौं, हामीले गरेको काम तपाईंका आँखा अगाडि छ,’ पोखरी उद्घाटन गर्दै मेयर शाक्यले भने, ‘पोखरीमा सबैले स्वामित्व बोध गर्न सक्नुहोस् भन्ने हाम्रो अपेक्षा थियो । यसमा सफल भएको मैले महसुस गरेको छु ।’

पार्कभित्र पोखरी वरिपरि ठूला—ठूला ढुंगा छापिएको छन् भने सिंढीहरु बनाइएका छन् । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ । पोखरीका चार कुनामा ४ वटा मण्डप बनाइएका छन् ।

४ कुनामा साना—साना क्रंक्रिटका पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौताराहरु बनाइएका छन् । पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य ३ कुनामा प्रवेशद्वार बनाइएको छ ।

विभिन्न ठाउँमा ९ वटा चैत्य राखिएका छन् भने पूर्वउत्तर कुनामा ५ ओटा मकरधारा बनाइएका छन् ।

पोखरीको सरसफाइ र सुरक्षा व्यवस्थापन मिलाउन बाँकी छ । पोखरीको पानीलाई सफा बनाइराख्ने, अतिक्रमण र दुरुपयोग रोक्ने तथा स्थानीय जनजीवन र पर्यटनसँग पोखरी व्यवस्थापन जोड्ने लगायतका पक्षबाट अझै कामहरु हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?