
३ चैत, काठमाडौं । बिहीबार फागु पूर्णिमा मनाउने क्रममा उछृंखल गतिविधि गरेको आरोपमा काठमाडौंबाट १२९ जना पक्राउ परेका छन् ।
महाराजगञ्ज, बौद्ध, गौशाला, बानेश्वर, कालिमाटी, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा लगायतको क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।
उनकाअनुसार सबैभन्दा बढी वसन्तपुर क्षेत्र हेर्ने महानगरीय प्रहरी वृत्त, जनसेवाबाट ३१ र महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट २६ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांशले मादक पदार्थ सेवन गरेर उछृंखल गतिविधि गरेको एसपी मैनालीले बताए ।
उनले भने, ‘अन्य व्यक्तिलाई अनावश्यकरुपमा दुःख हैरानी दिने पनि पक्राउ परेका छन्, सबैलाई स्क्रीनिङ गरेर कसूर अनुसार छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्छ ।’
यसैबीच, महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंले बिहीबार बिहानदेखि साँझ ६ बजेसम्म १०६ जनालाई कारबाही गरिएको एसएसपी उमेशराज जोशीले बताए । यही अवधिमा ९०६ वटा सवारीसाधन कारबाहीमा परेको उनले बताए ।
‘बिना हेल्मेट हिँड्ने, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गरेको पाइएपछि उनीहरुलाई कारबाही गरिएको हो’ एसएसपी जोशीले भने ।
प्रतिक्रिया 4