+
+

हामी टिकटक चलाउँदैछौं कि टिकटकले हामीलाई ?

मनोरञ्जनदेखि भूराजनीतिक स्टेटमेन्टसम्म टिकटक

विष्णु शर्मा विष्णु शर्मा
२०७८ चैत ४ गते २०:१५

४ चैत, काठमाडौं । गत पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक ‘ज्वाइन’ गरेको खबरले ‘टाइमलाइन’ तात्यो । डेब्युको केही दिनमै ओलीको पेजलाई टिकटकले भेरिफाइड गर्‍यो ।

चिनियाँ एपमा ओलीको डेब्युलाई लिएर इण्डिया टुडेले कूटनीतिक रङ दिने प्रयास गर्‍यो किनभने राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै भारतले टिकटकसहितका दर्जनौं चिनियाँ एपलाई प्रतिबन्ध लगाएको अवस्था छ । ओलीलाई टिकटकमा पछ्याउनेको संख्या एक लाख ८ हजारभन्दा बढी छ ।

तपाईंले यी पंक्ति पढिरहँदा कञ्चनपुरका अंश बर्मा सम्भवतः टिकटक लाइभमा हुनसक्छन् । नपत्याए, आफ्नो स्मार्टफोन स्क्रोल गर्नुस् त, यदि उनी लाइभमा छन् भने यो संयोग मात्र हुने छैन ।

टिकटकबाट तनहुँको मानुङकोट डाँडा, म्याग्दी रत्नेचौरको तोरीबारी, पर्वतको पाङ गाउँ जोड्ने बागलुङको पुलदेखि हलचोकको सिंगल ट्री जस्ता ‘अन्डरडग’ ठाउँहरू ओभरनाइट भाइरल बने । टिकटक बनाउनकै लागि गरिएका हर्कतको कारण कतिपयले ज्यान गुमाए । कतिपयको प्रेम सम्बन्धमा  पूर्णबिराम लाग्यो, कतिपयले सम्बन्ध थालनी गरे ।

२२ वर्षीय बर्मा नेपाली नेटिजनका यस्ता पछिल्ला उदाहरण हुन् जसको उद्देश्य ‘पैसा छाप्नु’ हो । कानुनका विद्यार्थी उनी दैनिक १० देखि १२ घण्टा टिकटक लाइभमा बस्छन् । एक वर्षमा मात्र लाइभबाट झन्डै डेढ करोड रुपैयाँ कमाइ गरेको हिसाब उनीसँग छ ।

अनलाइनखबरसँग उनी खुले, ‘म पैसा कमाउन टिकटक चलाउँछु । टिकटक सधैं रहन्छ भन्ने छैन । म यसको सदुपयोग गर्छु र अरूको लागि प्रेरणाको स्रोत बन्छु ।’

पोखराकी गिभिना मगर र काठमाडौंकी मन्दिरा ढुंगाना यो मामिलामा अग्रणी नाम हुन् । यो सूचीमा तपाईंले नाम चलेका राजनीतिज्ञ, सेलिब्रिटीदेखि कैयन् नेपाली प्रयोगकर्ता थप्न सक्नुहुन्छ । भलै, पैसालाई लिएर उनीहरूको व्याख्या अलग होला तर, टिकटक यस्तो प्लेटफर्म हो जहाँ तपाईं पैसालाई अस्वीकार गर्न सक्नुहुन्न ।

प्राप्त हुने गिफ्टलाई डलरमा कन्भर्ट स्वयं एपले गरिदिन्छ । मंसिरदेखि प्रयोगकर्ताको सिर्जनालाई ध्यानमा राख्दै टिकटकले ‘क्रिएटर नेक्स्ट’ फिचर लन्च गरिदिएको छ । यो फिचरको विशेषता भनेकै आफूलाई मनपर्ने क्रिएटरलाई गिफ्ट मार्फत अथवा सिधै पैसा पठाउन मिल्ने सुविधा उपलब्ध हुनु हो ।

सन् २०२१ को सेप्टेम्बरमा जब पहिलोपटक कञ्चनपुरका बर्माले टिकटकबाट एक करोडभन्दा बढी रकम कमाएको विवरण मिडियामा आयो, त्यही बेलादेखि उनलाई पछ्याउनेहरूको संख्या ह्वात्तै बढ्यो । यही विन्दुदेखि नेपालमा टिकटकबाट पैसा कमाउन मरिहत्ते गर्ने सेलिब्रिटी, अभियन्ता र सर्वसाधारणको संख्या उल्लेख्य बढ्यो ।

नाम चलेका कलाकार पनि दिउँसो र रातभर लाइभमा बस्न थाले । फलोअर्स बढाउनेदेखि भाइरल हुने र पैसा कमाउने लोभमा अनेक हर्कतहरू सतहमा आए । कतिपय सेलिब्रिटी कन्ट्रोभर्सीमा मात्र फसेनन्, सेलिब्रिटी भूमिकालाई लिएर प्रश्न समेत उठ्यो ।

तस्वीर : सरोज भट्टराईको फेसबुकबाट

तनहुँको मानुङकोट डाँडा, म्याग्दी रत्नेचौरको तोरीबारी, पर्वतको पाङ गाउँ जोड्ने बागलुङको पुलदेखि हलचोकको सिंगल ट्री जस्ता ‘अन्डरडग’ ठाउँहरू ओभरनाइट भाइरल बने । टिकटक बनाउनकै लागि गरिएका हर्कतको कारण कतिपयले ज्यान गुमाए । कतिपयको रिलेसनसिपमा पूर्णबिराम लाग्यो, कतिपयले सम्बन्ध थालनी गरे । कतिपयले प्लेटफर्मलाई व्यापार प्रवर्द्धन गर्ने थलो बनाए कतिपयले राजनीतिक अभीष्ट पूरा गर्ने माध्यम ।

गत असार २४ गते राति मोडल गरिमा शर्मा टिकटकमा लाइभ आएर रोइन् । मोडल तथा गायक दुर्गेश थापासँगको भिडियो संवादलाई बंग्याएर टिकटकमा भाइरल बनाइएको र केही मिडियाले चरित्रहत्या गरेको भन्दै उनले आरोप लगाइन् ।

दुर्गेशले आफू भर्खरै ब्रेकअप भएका प्रेमी-प्रेमिकाको रूपमा अभिनय गर्ने प्रस्ताव राखेपछि गरिमा र दुर्गेशबीच भएको संवादको अंशलाई भाइरल बनाइएको थियो । टिकटकबाटै उदाएकी गरिमाले उक्त संवाद टिकटकमा भाइरल हुनसक्छ भन्ने हेक्का पनि राखिनन् । रमाइलो गर्ने नाममा टिकटक लाइभमा भएको यो संवाद विवादमा तानियो ।

नाम चलेको र प्रतिष्ठित कलाकार नै टिकटक लाइभमा बसेर पैसा कमाउने कुरा पनि अब नयाँ रहेन । सेलिब्रिटीको यही शैलीलाई सर्वसाधारणले पनि पछ्याउन थालेका छन् । आदर्श मानिएका कलाकार नै टिकटक लाइभमा बसेर पैसा कमाउन थालेको भन्दै आलोचना पनि हुने गरेको छ । मिडियादेखि सर्वसाधारणले कलाकारकोे यस्तो हर्कतको विरोध पनि गरेका छन् तर टिकटक लाइभमा आउने कलाकारको तर्क भन्ने भिन्न हुने गर्छ । उनीहरू भन्छन्ः हामी दर्शकसँग अन्तरक्रिया गर्न बसेका हौं, पैसा माग्न हैन ।

टिकटकमा १० लाखभन्दा बढी फलोअर्स कमाएकी अभिनेत्री वर्षा राउतको यसलाई लिएर आफ्नै तर्क छ । वर्षाले टिकटकमा एउटा भिडिओमा युवकको स्वरमा लिप्सिङ गर्दै भनेकी छिन्, ‘कसले भन्यो सबै केटीहरूलाई पैसा चाहिन्छ । कोही कोहीलाई माया भए मात्र पुग्छ । तर, मलाई पैसा नै चाहिन्छ फेरि ।’ उक्त भिडियोमा उनले क्याप्सन लेखेकी छिन्, ‘म त टिकटकबाटै कमाउँछु नि !’ टिकटकमा बसेर कलाकारले भीख माग्न थालेको भन्दै व्यापक आलोचना हुन थालेपछि वर्षाले भिडियोमार्फत उक्त उत्तर दिएकी हुन् ।

वर्षा र गरिमा मात्र हैन, श्रेया सिटौला, प्रताप दास, पुण्य गौतम, उषा उप्रेती, जयकिसन बस्नेत, एलिना चौहान, रचना रिमाल लगायतका नाम चलेका अनुहार पनि टिकटक लाइभमा देखिन्छन् । एकातर्फ कलाकारले लाइभमा बसेर पैसाको अपेक्षा गर्ने र कतिपय युट्युबरले टिकटककै पैसाबाट गाडी र जग्गा किनें भन्दै अन्तर्वार्ता दिंदै हिंड्न थालेपछि सर्वसाधारण प्रयोगकर्तामाझ भ्रम समेत फैलिएको छ ।

टिकटकबाट कसरी हुन्छ कमाइ ?

टिकटक बारेको प्रतिवेदन बाहिरिएपछि अमेरिका र भारतले राष्ट्रिय सुरक्षामा असर पर्ने भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने निर्णय लिएका थिए । अमेरिका र भारतको उक्त निर्णयपछि टिकटक मनोरञ्जक एप मात्र रहेन, बरु यो ‘भूराजनीतिक स्टेटमेन्ट’ बन्यो ।

केही नियम पालना गर्न सकिए टिकटकबाट पैसा कमाउन कठिन हुँदैन । यसको लागि उल्लेख्य फलोअर्स हुनु जरुरी छ । कतिपय कलाकारले ब्रान्डको प्रचारबाट पनि टिकटकबाट पैसा कमाउने गरेका छन् । जति फलोअर्स बढ्यो उति नै बढी आम्दानी गर्ने सम्भावना हुन्छ ।

टिकटकमा मोनेटाइज गर्न १० हजार फलोअर्स हुनुपर्छ । खाता खोल्न प्रयोगकर्ताको उमेर १८ वर्षभन्दा माथि हुनुपर्ने र पोस्ट गरिएको भिडियो एक महिनामा एक लाखपटक हेरिएको हुनुपर्छ । यति पूरा भएपछि टिकटक खाता मोनेटाइजको लागि योग्य हुन्छ ।

फलोअर्स एक हजारभन्दा बढी भए मात्र टिकटकमा लाइभ आउन मिल्छ । लाइभ नै टिकटकबाट आम्दानी गर्न सकिने सजिलो उपाय हो । लाइभमा बस्दा प्रयोगकर्ताले दिने उपहार डलरमा रूपान्तरण हुन्छ र त्यसलाई झिक्न सकिन्छ । लाइभमा बस्नेले पाउने गिफ्ट नै पैसामा कन्भर्ट हुन्छ । नेपालमा अधिकांश प्रयोगकर्ताले पैसा कमाउने तरिका यही नै हो ।

गिफ्ट दिन क्वाइनको जरुरी हुन्छ । डलरकार्डको माध्यमबाट खाता रिचार्ज गरेपछि मात्र गिफ्ट दिन सकिन्छ । केही महिनादेखि नेपाल राष्ट्र बैंकले डलर खाताको थालनी गरेको छ । अहिले नेपालमा वार्षिक रूपमा ५०० डलर मात्र खर्च गर्न सकिन्छ । रिचार्जको लागि १.०९ डलरको ७० क्वाइन पर्छ भने १७ हजार ५०० क्वाइनको २४३ डलर पर्न आउँछ । गिफ्ट दिन यिनै क्वाइन जरुरी हुन्छ भने गिफ्ट दिन एकाउन्टको तल मेनुमा जानुपर्छ ।

होस्ट लाइभमा आएर बोल्न थालेपछि गिफ्ट दिन सकिन्छ । आफ्नो खातालाई माथि वा अगाडि ल्याएर आफ्नो फलोअर्स बढोस् भन्ने स्वार्थ गिफ्ट दिनेको हुन्छ । प्रस्तोताले गिफ्ट दिनेहरूको एकाउन्टलाई अगाडि ल्याएर बढीभन्दा बढी गिफ्ट पाउन जोड दिन्छन् ।

कतिपय प्रस्तोताले गिफ्ट दिएमा फलोअर्स बढाइदिने वचन दिन्छन् । फलोअर्स बढाउनको लागि गिफ्ट दिने गरिन्छ । नेपालमा लाइभमा बस्नेहरूलाई विदेशस्थित नेपालीले गिफ्ट दिने गरेका छन् । नेपालमा डलर खाता प्रयोगमा आए पनि त्यो अझै पनि सुलभ हुनसकेको छैन । नेपालमा लाइभमा आएर पैसा कमाइरहेका अंश बर्मा, गिभिना र मन्दिराले पछ्याइरहेको शैली यही नै हो ।

अंश बर्माले त १४ महिनामा करोडभन्दा बढी कमाइ गरेको दाबी गरेका छन् । उनले ७ वटा अलग मोबाइलबाट नियमित लाइभ गर्ने गरेका छन् ।

मनोविज्ञानमा टिकटक दबाब

तस्वीर : मदन खनालको फेसबुकबाट

मनोचिकित्सक टिकटकको अत्यधिक प्रयोगलाई लत भन्न रुचाउँछन् । यो एपको अत्यधिक प्रयोगले पारिवारिक, सामाजिक, शैक्षिक गतिविधिमा असर पुर्‍याउनुका साथै मनोवैज्ञानिक वृत्ति-विकासमा समेत अवरोध हुने ठम्याइ उनीहरूको छ । मनोचिकित्सक डा. सरोज ओझा लतकै रुपमा टिकटकको प्रयोग भए यसले असन्तुलन निम्त्याउने बताउँछन् ।

उनी भन्छन्, ‘टिकटकमा प्रयोगकर्ताहरू भाइरल चीजकै पछि लागेको देखिन्छ । यस्तो अवस्थामा मानिसहरू आफूले चाहेको र खोजे जस्तो भ्यूज र लाइक नआउने हो कि भन्ने चिन्ताले ग्रस्त देखिन्छन् । यो चिन्ता बढ्दै जाँदा डिप्र्रेसनको लेभल पनि बढ्दै जान्छ ।’ मनोरञ्जनको माध्यमलाई गम्भीर रुपमा नलिन उनको सुझाव छ ।

समाजशास्त्रका प्राध्यापक टीकाराम गौतम सामाजिक अभ्यास, चलन र व्यवहारबाट टिकटकमा देखिने गतिविधि प्रभावित हुने बताउँछन् । ‘टिकटकमा देखिने कुरालाई वास्तविक जीवनमा पनि पछ्याउन खोजिएको जस्तो देखिन्छ । बाहिरी मनोविज्ञानले मानिसलाई निर्देशित गरिरहेको छ’ उनी भन्छन्, ‘जे देखिन्छ र जे हुन्छ त्यसबीच तादात्म्यता नमिल्दा विरोधाभास सिर्जना हुन्छ र अस्वाभाविक मनोसामाजिक दुर्घटना हुनसक्छ ।’

मनोचिकित्सक ओझा चाहिं नकारात्मक सामग्री र कुराहरूले मानिसको ध्यान चाँडै आकर्षित गर्ने र यसले निद्रा बिगार्ने, चिन्ता बढ्ने र दैनिक गतिविधिमा ध्यान केन्द्रित हुन नसक्ने बताउँछन् । उनी टिकटकको कम प्रयोगलाई नै उचित ठान्छन् ।

मनोविद् सन्देश ढकाल टिकटक प्रयोगकर्ताले आफ्नो उद्देश्य, जिम्मेवारी र उद्देश्यअनुरुप गतिविधिमा बाधा पुग्न सक्ने कुरामा ध्यान दिनुपर्ने बताउँछन् । टिकटकको कारण कतिपयले अभिनय, संगीत र कलात्मक सिर्जना तिखार्ने अवसर पाउनु राम्रो पक्ष भएपनि अत्यधिक प्रयोगले समस्या सुरु हुने उनको तर्क छ । ‘मैले आवश्यकताभन्दा बढी समय बिताइरहेको छु भन्ने थाहा हुँदाहुँदै पनि कति जनाले अत्यधिक चलाउँदा समस्या सुरु भइसकेको छ,’ उनी भन्छन्, ‘सीमित प्रयोग नै समस्याको समाधान हो ।’

टिकटकका उजुरी बढ्दै

टिकटकजस्ता सामाजिक सञ्जालबाट चरित्र हत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी बढ्न थालेका छन् । केही समयअघिसम्म फेसबुकमार्फत चरित्रहत्याका घटना गरिएको भन्ने उजुरीको ओइरो लाग्ने प्रहरीसामु यतिबेला भने टिकटक उजुरीको चाङ छ । कोभिड लकडाउनपछि नेपालमा व्यापक रूपमा टिकटक प्रयोगकर्ता बढेका मात्र छैनन्, सोही विन्दुदेखि प्रहरीकहाँ उजुरीको ग्राफ पनि उकालो लाग्दैछ ।

सन् २०२१ मा विश्वभर सर्वाधिक डाउनलोड हुने एप हो टिकटक । यो चिनियाँ एपलाई ६५६ मिलियन जनाले डाउनलोड गरेको बिजनेस अफ एप्सले जनाएको छ । दोस्रो स्थानमा रहेको मेटा कम्पनीको इन्स्टाग्रामलाई सोही वर्ष ५४५ मिलियन जनाले डाउनलोड गरेका छन् । फेसबुक चाहिं ४१६ मिलियन डाउनलोडसहित तेस्रो स्थानमा छ । भारत र अमेरिकाले चाहिं टिकटक एपमा प्रतिबन्ध लगाइसकेका छन् ।

स्टार्ट डट आइओ पोर्टलका अनुसार नेपालमा टिकटकका सक्रिय प्रयोगकर्ता २२ लाख जना छन् । तर, जानकारहरू यो संख्या अझै बढी हुनसक्ने बताउँछन् । उक्त संख्यामा निष्क्रिय र नक्कली ठानिएका खाताहरूलाई समावेश गरिएको छैन जसले गर्दा नेपालमा टिकटक दर्शकको घनत्व अझै बढी हुनसक्छ ।

तस्वीर : एमआर क्षेत्रीको फेसबुकबाट

प्रहरीको साइबर ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा फेसबुकमार्फत चरित्रहत्या गरेको भन्दै ३ हजार ४५१ वटा उजुरी परेका थिए भने टिकटकबाट चरित्रहत्या गरिएको भन्दै ७० वटा उजुरी परेका थिए । गत साउनमा मात्रै फेसबुकका ३३८ वटा र टिकटकका १५ वटा उजुरी परेको ब्यूरोको तथ्यांक छ । पछिल्लो समय टिकटकलाई लिएर हुने उजुरीको संख्यामा वृद्धि भएको साइबर ब्युरो प्रवक्ता नवीन्द अर्यालले बताए ।

यद्यपि साइबर ब्युरोमा आउने ९० प्रतिशत उजुरी चाहिं फेसबुकसँग सम्बन्धित छन् भने बाँकी टिकटक र युट्युबसँग सम्बन्धित । तर, पछिल्ला महिनाहरूमा टिकटकसँगै युट्युबलाई लिएर पनि उजुरी परेको छ । टिकटकलाई लिएर साइबर ब्युरोलाई हैरानी पनि थपिएको छ ।

टिकटकको सम्पर्क कार्यालय नेपालमा नहुँदा ब्युरोले बेइजिङस्थित कार्यालयमै पत्र लेखेर सहयोग माग्ने गरेको छ । ‘सुरुमा हामीले हाम्रै संयन्त्रबाट पीडकलाई पत्ता लगाउँछौं र आवश्यक परेमा टिकटकलार्ई पनि पत्र पठाउँछौं’ उनले भने, ‘आवश्यक परे इन्टरपोलको पनि सहयोग लिन्छौं ।’ प्रहरीले ती एपबाट चरित्रहत्या गर्ने ८९ जनाविरुद्ध मुद्दा पनि दर्ता गरिसकेको छ ।

टिकटक भूराजनीतिक स्टेटमेन्ट पनि

तपाईं समाजवादमा रुचि राख्नुस् या कम्प्युटर विज्ञानमा, सेक्समा रुचि राख्नुस् या अनुदार राजनीतिमा, तपाईं सेलिब्रिटीमा रुचि राख्नुस् या घुमघाममा । टिकटक अल्गोरिमदले तपाईंलाई पछ्याइरहेको हुनसक्छ । सन् २०२१, डिसेम्बर ५ मा न्यूयोर्क टाइम्समा टिकटक अल्गोरिदमलाई लिएर एक गोप्य प्रतिवेदन सार्वजनिक भएको थियो, जहाँ टिकटक अल्गोरिदमले कसरी काम गर्छ र यसका लक्ष्य के-के छन् भन्ने उल्लेख थियो ।

उक्त प्रतिवेदनमा टिकटक अल्गोरिदमका मुख्य चार लक्ष्य उल्लेख छ । पहिलो- युजर भ्यालु, दोसो- प्रयोगकर्ताको दीर्घकालीन युजर भ्यालु, तेस्रो- क्रिएटर भ्यालु र चौथो- प्लेटफर्म भ्यालु । ‘टिकटक अल्गो १०१’ नाम दिइएको उक्त प्रतिवेदनलाई बेइजिङस्थित इन्जिनियरले तयार पारेका हुन् ।

टिकटक बारेको प्रतिवेदन बाहिरिएपछि अमेरिका र भारतले राष्ट्रिय सुरक्षामा असर पर्ने भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने निर्णय लिएका थिए । अमेरिका र भारतको उक्त निर्णयपछि टिकटक मनोरञ्जक एप मात्र रहेन, बरु यो ‘भूराजनीतिक स्टेटमेन्ट’ बन्यो । तत्कालीन डोनाल्ड ट्रम्प प्रशासनले टिकटकको माउ कम्पनी बाइटडान्स चिनियाँ रहेको र यसले अमेरिकी डेटालाई चोर्न सक्ने भन्दै टिकटकसहित हुवावेलाई पनि कालो सूचीमा राखेको थियो ।

टिकटकलाई लिएर अमेरिकी चिन्ता स्वाभाविक पनि किन मान्न सकिन्छ भने पछिल्ला एपहरूमा सबैभन्दा शक्तिशाली अल्गोरिदम टिकटकलाई मान्न सकिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गत अगस्टमा रिपेलर म्यागजिनको हेडलाइन थियो- ‘मेरो यौनिकताबारे मभन्दा टिकटक अल्गोरिदमलाई राम्रोसँग थाहा छ ।’ त्यति मात्र हैन, ब्याकग्राउन्ड संगीत, डान्स र मिमसँगै राम्रो भिडिओ सिर्जना गर्न पनि प्रयोगकर्तालाई सहज भएकाले पनि टिकटकप्रतिको आकर्षण बढेको बुझ्न कठिन छैन ।

२१ जुलाई, २०२१ मा वालस्ट्रिट जर्नलमा प्रकाशित एक शोधअनुसार टिकटकले युवा प्रयोगकर्तालाई कसरी ‘खरायो प्वाल’भित्र छिराउँछ र आत्महत्या र आफैंलाई हानि पुर्‍याउन कसरी दुरुत्साहन गर्छ भन्नेतर्फ संकेतहरू गरिएको छ । अमेरिकालगायतका कतिपय मुलुकले चिनियाँ एपको विरोध गरे पनि नेपाल जस्ता विकासोन्मुख मुलुकमा भने यसले दिनप्रतिदिन प्रभाव विस्तार गर्दै आइरहेको छ ।

नेपाली मिडिया, संगीत र मनोरञ्जनको ल्यान्डस्केपमा टिकटक प्रभावशाली बन्दै गरेको सत्य हो । प्लेटफर्म आफैंमा कहिल्यै नराम्रो हुँदैन, प्रयोगकर्ताको प्रयोगमा यो कुरा निर्भर हुन्छ ।

विज्ञहरूको सुझावको निष्कर्ष छ, लतकै रूपमा टिकटकको प्रयोग भए यसले असन्तुलन निम्त्याउन सक्छ । यसकारण काम, अध्ययन र मनोरञ्जनलाई सन्तुलन मिलाएर टिकटक चलाऔं । टिकटक चलाऔं तर टिकटकले हामीलाई नचलाओस् !

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?